न स्वास्थ्य चौकी, न औषधि
नौमुले गाउँपालिका ७ मा गत वर्ष स्वास्थ्य इकाई स्थापना भयो । स्वास्थ्यचौकी नभए पनि इकाईबाट स्थानीय बासिन्दा धेरै आशावादी थिए । यहाँ भने सिटामोल र ब्रुफिनबाहेक केही पाइँदैन । बिरामीलाई ५ घण्टा टाढाको जिल्ला अस्पताल पुर्याउनै पर्छ । अलि गम्भीर खालका बिरामीको त ज्यानै जोखिममा पर्ने गर्छ ।
साविक नौमुले ६, ७, ८ र ९ वडा मिलाएर ७ नं. वडा बनाइएको छ । स्थानीयले ६ नम्बर वडाको सल्लेरी स्वास्थ्य चौकीमा गई उपचार गराउने गरेका थिए । त्यहाँ पनि औषधि र स्वास्थ्यकर्मी नभएपछि स्थानीयलाई जिल्ला अस्पतालमै पुग्नुपर्ने बाध्यता छ । नौमुले ७ डाँडागाउँकी नीरा चन्दले एक महिनाअघि सुत्केरी व्यथाले च्यापेपछि प्रसूतिका लागि पाँच घण्टा हिँडेर जिल्ला अस्पताल पुगेको बताइन् ।
भौगोलिक विकटताका कारण वडामा अहिलेसम्म सडक सुविधा छैन । गाउँपालिकाको केन्द्र नौमुले बजार नै पुग्न चेप्टेटिमुरे र भाडेका बासिन्दालाई सात घण्टा पैदल हिँड्नुपर्छ । १२ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत मानकुमारी चन्दले उपचार अभावमा स्थानीयले बर्सेनि ज्यान गुमाउँदै आइरहेको बताइन् ।
रातदिन नभनी महिलाको स्वास्थ्य समस्या समाधान गर्न प्रयास गरिरहेको उनले बताइन् । उनले लामो समयदेखि महिलालाई परम्परागत विधिबाटै सुत्केरी गराइरहेको बताइन् । ‘पुरानै तरिकाले सुत्केरी गराउँदा कतिपयले अस्पताल पुग्न नपाउँदै बाटैमा ज्यान गुमाउने गरेका छन्,’ उनले भनिन्, ‘आवश्यक सामग्री नहुँदा कति शिशुलाई हातले निकालियो ।’ उनका अनुसार वडामा मातृ र शिशु मृत्युदर उच्च छ ।
डाँडागाउँ पैती स्वास्थ्य इकाईकी इन्चार्ज सरिता विष्टले तीन प्रकारका औषधिबाहेक अरू नभएकाले उपचारमा समस्या भएको बताइन् । ‘आकस्मिक बिरामी आए अर्को वडामा पठाउन बाध्य छौं,’ उनले भनिन्, ‘इकाईमा एउटामात्र प्रसूति शय्या भए सुत्केरी सेवा दिन धेरै सजिलो हुन्थ्यो, हामीले अनुरोध गरे पनि गाउँपालिकाले बेवास्ता गरिरहेको छ ।’
वडा ६ स्थित सल्लेरी स्वास्थ्यचौकीमा माग फारामअनुसार औषधि नपठाइँदा स्थानीयले थप सास्ती भोग्दै आइरहेका छन् । ३९ प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी नीति भए पनि तीन प्रकारका औषधिमात्र भएकाले बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता भएको इन्चार्ज अञ्जु थापाले बताइन् ।
नौमुले गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्र शाहीले आपतकालीन सेवा दिने गरी ७ नम्बर वडामा स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार पूर्वाधार र भौतिक संरचना अभावमा स्वास्थ्य इकाईको सेवा प्रभावित भएको हो । उनले पैती, राइली, भाडेकागते, चेप्टे टिमुरेलगायत स्थानमा रहेका स्वास्थ्य इकाई दर्ता नहुँदा सरकारी सुविधा पाउनबाट वञ्चित भएको जनाए । गाउँपालिकामा १३ स्वास्थ्यचौकी छन् । जसमध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर छैनन् । गाउँपालिकाभरि ७९ स्वयंसेविका छन् ।
जिल्लाकै पुरानो इलाका स्वास्थ्यचौकी मध्येको एक हो, नौमुले स्वास्थ्यचौकी । चिकित्सक अभावमा स्वास्थ्यचौकी हेल्थ असिस्टेन्टको भरमा चलिरहेको छ । एक डाक्टरको दरबन्दी भए पनि चिकित्सक अध्ययन बिदा भन्दै अन्यत्र बस्ने गरेका छन् । स्वास्थ्यचौकीमा १४ स्वास्थ्यकर्मी कार्यरत भए पनि अधिकांश नियमित आउँदैनन् । कर्मचारीसमायोजनका कारण अधिकांश स्वास्थ्यकर्मी जिल्लाबाहिर रहेको हेल्थ असिस्टेन्ट एन्द यादवको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन
जाजरकोटको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविहीन छ । केन्द्रमा डाक्टर नहुँदा दुर्गम गाउँ बारेकोटका बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । केन्द्रमा एक मेडिकल अधिकृतको दरबन्दी छ ।
मेडिकल अधिकृत डा. सन्दीपकिरण प्रधान एक वर्षअघि एमडीको अध्ययन बिदामा बसेपछि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । स्वास्थ्य केन्द्रको दरबन्दी होल्ड गरेर डाक्टर अध्ययन बिदामा गएपछि उपचार सेवा प्रभावित भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
स्वास्थ्य सेवा विभागले डा. प्रधानलाई तीनवर्षे अध्ययन बिदामा पठाए पनि वैकल्पिक व्यवस्था नगर्दा स्थानीयवासी उपचार सेवाबाट वञ्चित भएको उनको भनाइ छ । उनका अनुसार दुई दशकअघि स्थापना भएको केन्द्रमा डाक्टर बसेर उपचार सेवा दिएको पाइएको छैन ।
डेढ वर्षअघि पोस्टिङ भएर आएका डा. प्रधान पनि ५/७ महिनामै अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह हुन नसकेको हो । दुर्गमका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल अधिकृतको दरबन्दी स्थापना गरे पनि बारेकोटवासीले कहिल्यै चिकित्सक सेवा नपाएको स्थानीय विष्णु पुनले बताए । ९ स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याब असिस्टेन्ट पद पनि रिक्त छ । ‘आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याब सेवा सञ्चालनमा नआएको वर्षौं भइसक्यो,’ उनले भने, ‘डाक्टर र ल्याब टेक्निसियन दुवै नभएपछि सेवा बन्द भएको हो ।’
बारेकोट जुम्ला र डोल्पासँग सिमाना जोडिएको विकट गाउँ हो । सडक यातायातको पहुँच नपुग्दा यहाँका बासिन्दा सामान्य रोग लाग्दा पनि उपचार पाउन नसक्ने अवस्था छ । स्वास्थ्य संस्थामा भरपर्दो उपचारको व्यवस्था नहुँदास्थानीय धामीझाँक्रीको भर पर्न बाध्य भएको पुनले जनाए ।
लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गरेर उपचार सेवा प्रभावकारी बनाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाका संयोजक वीरराज सिंहले बताए । डाक्टर र स्वास्थ्यकर्मीको दरबन्दी तत्काल पदपूर्ति गर्न बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको सिंहले गुनासो गरे । ‘एउटा शवको पोस्टमार्टम गर्न पनि जाजरकोट अस्पतालबाट डाक्टर बोलाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थानीयवासी उपचारका लागि दुई दिन पैदल हिँडेर खलंगा जान बाध्य छन् ।’