Logo
|
Sunday 19th May 2024
Logo

epaper

ग्यास्ट्रिक पहिलो, श्वासप्रश्वास दोस्रो



  ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौं। जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ। ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्यांक यही भन्छ– जिल्लामा सबैभन्दा बढी ग्यास्ट्रिकका बिरामी छन्। स्वास्थ्य कार्यालयले जिल्लामा बढी बिरामी हुने पाँच रोगको पहिचान गरेको थियो।

गत साउनदेखि चैतसम्म १४ हजार एक सय ३६ जना ग्यास्ट्रिकका बिरामी स्वास्थ्य संस्था पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलले बताए। दोस्रो ठूलो समस्या श्वासप्रश्वासको देखिएको छ। वायु प्रदूषण, जलवायु परिवर्तनलगायत समस्याका कारण श्वासप्रश्वासको समस्या बढेको हो। उनले भने, ‘१२ हजार ९ सय २५ जना श्वासप्रश्वासका बिरामी देखिए।’ कार्यालयका अनुसार तेस्रो नम्बरमा दाँत र टाउको दुख्ने समस्या छ। १० हजार तीन सय ८४ मानिसमा यो समस्या छ। चौथो नम्बरमा उच्च रक्तचाप र मुटुसँग सम्बन्धित समस्या छ। १० हजार दुई सय १७ जनाले यो समस्या लिएर आएका थिए। पाँचौं नम्बरमा दुर्घटना भएर, लडेर वा विभिन्न कारणले बिरामी परेका नौ हजार तीन सय ७७ जना बिरामी स्वास्थ्य संस्था पुगेका थिए।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार जिल्लामा ५० सरकारी र तीन सय जति निजी स्वास्थ्य संस्था छन्। ‘ग्यास्ट्रिकको समस्यालाई सामान्य सोच्नु हुँदैन’, गेलालले भने, ‘जीवनशैली, खानपान र तनावका कारण ग्यास्ट्रिकले सताउन सक्छ।’ धेरै समय भोको बस्दा पेटमा एक प्रकारको एसिड जम्मा हुन्छ। त्यस्तो एसिड लगातार जम्मा भएमा क्यान्सर समेत हुने गेलाले बताए।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्