Logo
|
Tuesday 7th May 2024
Logo

epaper

महामारी रोक्न म्याद गुज्रेको औषधि



जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी फैलन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै गुज्रेको छ । गर्मीयाम सुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरोजस्ता समस्या देखिन थालेका छन् । यस्तो अवस्थामा औषधि अभाव हुन नदिन जिल्लाका मुख्य स्वास्थ्य संस्थामा तयारी हालतमा राख्ने भन्दै ती औषधि पठाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले सातवटै स्थानीय तहमा पठाएको अधिकांश औषधिको म्याद हप्तादिन मात्र बाँकी छ । केही औषधिको भने म्याद गुज्रिसकेको छ । बढीजसो स्टासेफ नामक औषधि रहेको नलगाड नगरपालिका नगरस्वास्थ्य शाखाका प्रचण्ड कार्कीले जानकारी दिए । नलगाड नगरपालिकाको दल्ली, लहँ र चौखामा पठाएको औषधिको म्याद सकिइसकेको खबर आएको कार्कीले बताए । ‘बाटोमै म्याद गुज्रेको औषधि पठाइएको रहेछ,’ उनले भने, ‘त्यसमाथि अहिले नै प्रयोग नगर्न भनिएको छ ।’

दुर्गम गाउँमा पठाएको औषधि म्याद सकिएको परेमा तत्काल वितरण रोक्न पहल गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ‘औषधि सबै ठाउँमा पठाइएको छ,’ उनले भने, ‘म्याद गुज्रेको भए तत्काल रोक्ने काम हुन्छ ।’ ‘यो औषधि तीन महिनाअगाडि निर्देशनालयबाट जिल्ला स्वास्थ्य कार्यालयमा आएको थियो,’ ढकालले भने, ‘एक हप्ताअघि सबै स्थानीय तहमा पठाइयो । स्थानीय तहले स्वास्थ्यचौकीमा पठाए । स्वास्थ्यचौकीमा पुगेपछि मात्रै म्याद सकिएको थाहा भयो ।’ उनले स्थानीय तहको नाममै सिलबन्दी पोका आएकोले आफूलाई औषधिको म्यादबारे कुनै जानकारी नभएको बताए । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्