Logo
|
Tuesday 7th May 2024
Logo

epaper

चेपाङलाई निःशुल्क स्वास्थ्य बिमा



 

मकवानपुरका एक गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बसोबास गर्ने सिमान्तकृत चेपाङ समुदायको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

जिल्लाको पूर्व सदरमुकाम भीमफेदी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका चेपाङ समुदायको चालु आवदेखि नै निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको हो ।

चेपाङहरूको निःशुल्क स्वास्थ्य बिमा गर्न लागि गाउँपालिकाले बिमाकर्ता र सरोकारवाला स्वास्थ्य प्रमुखहरूबीच आइतबार अन्तरक्रिया गरिएको थियो । ‘गाउँपालिकाले बिमा गर्ने अभिकर्ताहरूलाई चेपाङ बसोबास गर्ने वडा र बस्तीमा सोमबारदेखि खटाएको’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । ‘९ जना अभिकर्ता खटाएका छौं । जेठ १५ गतेभित्र उनीहरूको स्वास्थ्य बिमा गरिसक्छौं, जेठमा गरेको स्वास्थ्य बिमाबाट उनीहरूलेभदौबाट उक्त सुविधा पाउनेछन्,’ लामाले भने ।

भीमफेदी गाउँपालिकाको १,२,३,४,६ र ७ नम्बर वडामा चेपाङ समुदायको बसोबास रहेको छ । गाउँपालिकाको अनुसार भीमफेदी गापामा १ सय ११ घरधुरीमा ४ सय ९५ जना चेपाङको जनसंख्या रहेको छ ।

निःशुल्क स्वास्थ्य विमामा ५ जनासम्म भएका परिवारको ३ हजार ५ सय रुपैयाँ थप प्रतिव्यक्ति सात रुपैयाँ स्वास्थ्य बिमा शुल्क लाग्ने भीमफेदी गापाका स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछानेले बताए । गाउँपालिकाले चेपाङ समुदायको स्वाथ्य बिमाको निम्ति करिब चार लाख रुपैयाँ लगानी गर्न लागेको हो । गरिबीको कारणले निःशुल्क स्वास्थ्य बिमाले चेपाङ समुदायलाई छुन सकेको छैन ।

‘गरिबीको कारणले चेपाङ जातिको एक परिवारले पनि निःशुल्क स्वास्थ्य बिमा गर्न नसकेकाले’ गाउँपालिकाले गरिदिन लागेको गापा अध्यक्ष लामाले जनाए । ‘गाउँपालिकाले यो समुदायका निम्ति बर्सेनि स्वास्थ्य बिमा गर्ने नीति नै बनाउनेछौं,’ उनले भने ।

निःशुल्क स्वास्थ्य बिमा गरेपछि एक लाख रुपैयाँसम्मको निःशुल्क रूपमा उपचार पाइने व्यवस्था छ । सामान्य औषधोपचार गर्न नसकेर अकालमा ज्यान गुमाउने गरेका चेपाङ समुदायलाई उक्त कार्यले राहत पुर्‍याउने गाउँपालिकाको ठम्याइ छ ।

उक्त गाउँपालिकामा बसोबास गर्ने अधिकांश चेपाङ समुदायको आफ्नो स्वामित्वमा जग्गाजमिन छैन । यस गापामा सबैभन्दा बढी वडा नं ६ को उर्लाघारीमा चेपाङको बसोबास छ । सदियौंदेखि उनीहरू त्यही बसोबास गर्दै आएका छन् ।

बसेको छाप्रो र रगतपसिनाले सिँचेको जमिन उनीहरूको स्वामित्वमा छैन । बिहान बेलुका हातमुख जोर्न धौधौ पर्ने यो समुदायले रोगको उपचार गर्न स्वास्थ्य चौकी र अस्पताल पुग्ने सम्भावना नै थिएन ।

‘गाउँपालिकाले यो समुदायको निम्ति निःशुल्क स्वास्थ्य बिमा गरिदिएकाले अब उनीहरू स्वास्थ्य चौकी र अस्पतालमा उपचारका निम्ति आउने आशा गर्न सकिन्छ,’ स्थानीय समाजसेवी सुरेन्द्र थिकेले भने । उनीहरूको उपचारको एक मात्र विधि धामीझाँक्री नै हो ।

धामीझाँक्रीको कारण यो समुदायका बासिन्दाको ज्यान अकालमा जाने गरेको छ । ‘बिमाले यस क्षेत्रका चेपाङ समुदायको धामीझाँक्रीप्रति रहेका अन्धविश्वास क्रमशः टुट्दै जाने र उपचारको निम्ति स्वास्थ्य संस्थामा आउने क्रम बढ्नेछ,’ गापा अध्यक्ष लामाले भने । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्