Logo
|
Tuesday 7th May 2024
Logo

epaper

सिन्धुलीमा नसर्ने रोगका बिरामी बढे



सिन्धुलीमा नसर्ने रोगका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शेरबहादुर कालीकोटेले खानपान र शारीरिक व्यायामको कमीले जिल्लामा नसर्ने रोगका बिरामी बढ्दै गएका बताए । ‘शारीरिक व्यायाम नगर्ने र सौखिन खानपानका कारण जिल्लामा पछिल्लो समय नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ,’ कालीकोटेले भने ।स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा जिल्लामा नसर्ने रोगका बिरामीको संख्या दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष ०७४/०७५ मा सिन्धुलीमा मुटुरोगका बिरामी ४६ थिए । चालू आर्थिक वर्षको हालसम्म यो संख्या ८५ पुगेको छ । गत वर्ष क्यान्सरपीडित ५३ जना थिए । यस वर्ष क्यान्सरपीडितको संख्या ७४ पुगिसकेको स्वास्थ्य कार्यालय सिन्धुलीका सूचना अधिकारी वीरेन्द्र मण्डलले जानकारी दिए ।मिर्गौलाका बिरामीको संख्या ३२ बाट बढेर ५२ पुगेको छ । स्पाइनल इन्जुरी रोगका बिरामी गत आर्थिक वर्षमा २४ जना थिए । हाल ३२ जना पुगेका छन् । हेड इन्जुरी रोगका बिरामी गत आर्थिक वर्षमा १३ जना थिए । यस वर्ष १८ जना पुगेको मण्डलले बताए । जनचेतनाको कमीका कारण पनि नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् ।

सिन्धुली अस्पतालमा आउने बिरामीमध्ये ८० प्रतिशत बिरामी नसर्ने रोगका छन् । उपचारका लागि आएका बिरामीमध्ये ८० प्रतिशत नसर्ने रोगबाट पीडित हुने गरेका सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ड डाक्टर सुमित्रा गौतमले बताइन् ।नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्