Logo
|
Friday 3rd May 2024
Logo

epaper

विस्फोटले छोटु गम्भीर



आइतबार दिउँसो ५६ वर्षीय छोटु ठाकुर सुकेधारास्थित आफ्नै कार्यस्थल सैलुनमा ग्राहक कुरिरहेका थिए । आफ्नै धुनमा व्यस्त उनीलाई अचानक कसैले ढुंगा हानेजस्तो लाग्यो । उनले भने, ‘कसले के हान्यो भनेर ढोकातिर हेरेँ आँखा मधुरो भएर गयो, केही ठम्याउन सकिनँ ।’ जीउभरि ज्वलन्त वस्तु सल्बलाएजस्तो भयो र उनी ढले ।’ यतिबाहेक उनलाई केही सम्झना छैन । उनी सुकेधारा बम विस्फोटमा परेर गम्भीर घाइते भएका हुन् ।

घटनास्थलबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर ल्याउँदासम्म उनको छटपटाहट रोकिएन । शरीरभरि बमका छिटाहरूले बनाएका घाउ छन् । नाकमुखबाट रगत बगिरहेको छ । दुखाइ सहन नसकेर उनी भन्दै थिए, ‘म त बरु मर्न पाए पनि हुन्थ्यो, के भएको हो । म कहाँ छु ।’

विगत ३० वर्षदेखि राजधानीमा कपाल काट्ने काम गर्दै आएका उनको स्थायी घर महोत्तरीको रामनगर– १ मा पर्छ । परिवारमा कोही नभएको उनले बताए । उनले भने, ‘परिवार यो संसारमा छैनन् ।’ अस्पतालमा उनलाई कुर्ने कोही छैन । अस्पतालका प्रमुख डा.प्रमोद यादवका अनुसार घाइते ठाकुरको अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन । उनले भने, ‘अहिले घाइतेको आकस्मिक उपचार मात्रै गरिरहेका छौं । रगत परीक्षण र एक्सरे रिपोर्टको नतिजा आएपछि मात्रै केही भन्न सकिन्छ ।’

बम विस्फोटमै परेका अर्का घाइते रविन केसीको भने अवस्था सुधार छ । उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ । उनको छाती र हातमा सामान्य चोट छ । नेक्रवित्रम चन्द समूहका कार्यकर्ता भएको आशंकामा प्रहरीले अस्पतालमै उनीमाथि छानबिन गरिरहेको छ ।

बम विस्फोटमा घाइते भएका ५ जनालाई भने चाबहिलस्थित ओम अस्पताल पुर्‍याएको छ । एक जनाको भने बाटो मृत्यु भएको र एक जनाको आईसीयूमा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । घाइतेका टाउको र खुट्टामा गहिरो चोट लागेको बताउँदै अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले भने, ‘घाइतेको नाम–ठेगानाबारे केही बुझ्न सकिएको छैन । हामी उपचार गरिरहेका छौं ।’ उपचाररत तीन जनाको अवस्था गम्भीर भएकाले शल्यक्रिया गर्ने तयारी भएको उनले जानकारी दिए ।

कांग्रेसद्वारा दुःख प्रकट

काठमाडौं– प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ ।

कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा आइतबार भएको बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति पार्टीको ध्यान गम्भीर ढंगले आकृष्ट भएको उल्लेख गर्दै त्यसप्रति दुःख प्रकट गरेको छ । ‘लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई कांग्रेसले अत्यन्तै दुःखद रूपमा लिएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बम विस्फोटमा परेर अमूल्य जीवन गुमेको छ । यसले शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आमनेपालीको चाहनालाई मर्माहत बनाएको छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको मुलुकमा पछिल्ला घटनाक्रमबाट कसैको विजय हुँदैन ।’

कांग्रेसले विज्ञप्तिमा ललितपुरमा केही महिनाअघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ र राजधानीमा आइतबार भएको घटनाले समग्रमा शान्तिपूर्ण संवादभन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रस्ट्याएको समेत उल्लेख गरेको छ ।  कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्