Logo
|
Friday 3rd May 2024
Logo

epaper

आठबीसकोटमा स्वास्थ्य बिमा अनिवार्य



आठबीसकोट नगरपालिकाले स्वास्थ्य बिमालाई अनिवार्य गरेको छ । नगरपालिकाले असार मसान्तभित्र सबै नगरवासीको स्वास्थ्य बिमा गर्ने निर्णयगरेको छ ।  यसका लागि नगरपालिकाले वडाध्यक्षको नेतृत्वमा विशेष अभियान सञ्चालन गरिने जनाएको छ ।

आठबीसकोट–३ खदीमा बसेको ३२औँ नगरकार्यपालिका बैठकले स्वास्थ्य बिमा कार्यक्रमलाई अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको मेयर गोरखबहादुर केसीले बताए । ‘कोही पनि आर्थिक अभावमा स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बिमालाई अनिवार्य गर्ने निर्णय गरिएको हो,’ मेयर केसीले भने ।

आगामी आर्थिक वर्षभित्र सबैको बिमा गरिसक्ने जनाइएको छ । बिमा नगर्नेलाई नगरपालिकाले दिने सेवाबाट वञ्चित गरिने उनले बताए । उनका अनुसार, नगरपालिकाबाट आर्थिक सहायता उपलब्ध गराउँदा, प्राकृतिक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदा एवं अन्य सहायता तथा अनुदान उपलब्ध गराउँदा स्वास्थ्य बिमा कार्ड पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विपन्नको निःशुल्क बिमा 

विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । नगरमा रहेका अतिविपन्न घरपरिवारको परिचान गरी उनीहरूलाई गरिब तथा विपन्नताको परिचयपत्र उपलब्ध गराई निःशुल्क स्वास्थ्य बिमा गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

बिमा गरेका स्थानीय बासिन्दाको नगरअस्पतालमै उपचारको व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य सेवा प्रदायक संस्था नहुँदा समस्या भएको थियो । अहिले पश्चिम रुकुममा ३८ हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्