Logo
|
Thursday 2nd May 2024
Logo

epaper

ट्रमा सेन्टर आफैं ऋणको ‘ट्रमा’मा



आकस्मिक उपचारको मुख्य केन्द्र राष्ट्रिय ट्रमा सेन्टर १४ करोड ऋणमा डुबेको छ । औषधि र उपकरण खरिदको भुक्तानी तिर्न नसक्दा अस्पताल ऋणमा डुबेको हो ।

अस्पतालका पूर्वपदाधिकारीले कोटेसन (५ लाखभन्दा कम पैसा) मा खरिद गरेका औषधि र उपचारजन्य सामग्रीको हिसाब छिनोफानो नगरी गएका कारण अस्पताल पुरानै ऋणमा अल्झिरहेको हो ।

अक्सिजन, प्रयोगशालामा प्रयोग हुने केमिकल, एक्सरे र उपकरण खरिदको पुरानो हिसाब चुक्ता गर्न बाँकी भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोद यादवले बताए । उनले भने, ‘पुरानो पैसा तिर्न नसकेकै कारण सप्लायर्स फर्म नयाँ सामान दिन मानेका छैनन् । कति फर्मले सामान दिन बन्द गरिसके ।’ अस्पतालको आम्दानी कम भएकाले स्वास्थ्य मन्त्रालयले नै अस्पतालको ऋण तिरिदिनुपर्ने उनले बताए ।

अस्पतालले गत वर्ष २१ करोड लगानीमा भित्र्याएको ‘इन्ट्रा अपरेटिभ न्युरो सिटीस्क्यान’ उपकरणको ३० प्रतिशत लगानी खर्च तिर्न सकेको छैन । बाँकी पैसा तिर्न नसकेको र अदालती झमेलाका कारण बहुउपयोगी उपकरण अस्पतालमै थन्किएको छ । डा. यादव भन्छन्, ‘यो उपकरणको झमेला छिनोफानो गर्न सकेमा बिरामीले विशिष्ट सेवा पाउँथे । एउटै समस्याको दोहर्‍याएर गर्नुपर्ने शल्यक्रियाको समस्या समाधान हुन्थ्यो ।’ पुरानो हिसाब चुक्ता गर्न नसक्दा सलायर्स फर्महरूले नयाँ कारोबर गर्न नमानिरहेको उनले बताए ।

दुर्घटना, हिंसा, चोटपटकका कारण घाइते भएका र जलेका बिरामीका लागि आकस्मिक सेवा दिने यो अस्पतालले विशेषगरी हाडजोर्नी तथा नसा, मुटु शल्यचिकित्सा, मेरुदण्ड र प्लास्टिक सर्जरी, नाक, कान, घाँटी र दन्त शल्यचिकित्साजस्ता सेवा दिइरहेको छ । नेपालमा सवारी दुर्घटना मृत्युको चौथो कारण बनेको अवस्थामा मृत्युदर घटाउन यस्तो विशेष अस्पतालकको आवश्यकता छ । ऋणकै कारण अस्पताल धराशायी बनाउन नहुने डा. यादवको भनाइ छ ।

२ सय शैयाको यो अस्पतालमा दिनहुँ घाइते बिरामीको चाप बढदो छ । बिरामीको चापअनुसार उपकरण र जनशक्ति बढ्न नसक्नुले पनि अस्पताललाई उत्तिकै धराशायी बनाइरहेको छ । अस्पताल सञ्चालनका सुरुवाती दिनमा दैनिक ३ सय बिरामी आउँथे भने चाप बढेर अहिले ७ सयसम्म पुगिसके । यो अस्पतालको स्थापना भएसँगै चोटपटक र दुर्घटनामा परेका बिरामीले निजी अस्पतालमा महँगो खर्च तिरेर उपचार गर्नुपर्ने बाध्यता कम भएर गएको छ ।

अस्पताललाई अझै विस्तारित गर्न आईसीयू कक्ष, शल्यकक्ष र जनशक्ति बढाउनुपर्ने देखिन्छ । विगत तीन वर्षको तथ्यांक हेर्दा अस्पतालमा शल्यचिकित्सा सेवा बढदै गइरहेको देखिन्छ । तीन वर्ष पहिले वार्षिक १ हजार ४ सय शल्यक्रिया हुन्थे भने गत वर्षको असारदेखि चैतसम्ममा झन्डै पाँच हजारको शल्यक्रिया भएको छ ।

अस्पतालमा दैनिक १२ शल्यक्रिया हुने गरेको छ । भौतिक संरचना, उपकरण र जनशक्ति बढाउन सकेमा उपचार सेवा थप्न सकिने डा. यादव बताउँछन् । डाक्टर, नर्स र पारामेडिक्स गरी एक सय प्राविधिक कर्मचारी थप्न आवश्यक रहेको उनले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्