दर्ताबिनै औषधि पसल
विभागका फार्मेसी अधिकृत विजय कार्की नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा एउटा मेडिकल र एउटा एग्रोभेट सिल गरिएको छ । झलारी बजारमा दर्ता नभई सञ्चालनमा रहेको अशोक क्लिनिक र कैलालीको अत्तरियामा दर्ता प्रमाणपत्र भई झलारीमा सञ्चालनमा रहेको शुभम बासुलिंग एग्रोभटलाई सिल गरिएको हो ।
‘मेडिकल र एग्रोभेटले दर्ता तथा ठाउँसारीको प्रमाणपत्रसहित विभागमा उपस्थित भई दर्ता हुन निर्देशन दिएका छौं,’ विभागका फार्मेसी अधिकृत कार्कीले भने, ‘२ वटा मेडिकल सञ्चालक भागेका छन्, अनुगमनलाई असहयोग गरेको छ ।’ उनीहरूलाई पनि विभाग र नगरपालिकामा उपस्थित हुन निर्देशन गरिएको छ । कार्कीका अनुसार झलारीमा रहेका वीर क्लिनिक र शिवशक्ति मेडिकल सञ्चालक भागेका हुन् ।
यसैगरी झलारी क्षेत्रका ३ मेडिकलले दर्ताबिनाको औषधि बिक्री गरिरहेको भेटिएको कार्कीले जानकारी दिए । उनीहरूलाई पनि विभाग र नगरपालिकाको कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको उनले बताए । अनुगमन टोलीमा शुक्लाफाँटा नगरपालिकाका प्रतिनिधिसँगै विभागका फार्मेसी सुपरभाइजर लोकेश गिरी र यादव ढकाल थिए ।