Logo
|
Sunday 19th May 2024
Logo

epaper

पालमुनि उपचार



दार्मा गाउँपालिकास्थित ढाकाडाम स्वास्थ्य चौकी र प्रसूति गृहको छाना हावाहुरीले उडाउँदा उपचार प्रभावित भएको छ । स्वास्थ्य चौकीको छाना आइतबार उडाएपछि स्वास्थ्यकर्मीले त्रिपालमुनि बसेर विरामीको उपचार गरिरहेका छन् ।

हावाहुरीले दार्मा गाउँपालिका २, ३ र ५ मा स्वास्थ्यचौकीसहित २ विद्यालय र ८ सर्वसाधारणको घरमा क्षति पुगेको छ । स्वास्थ्य चौकीको छाना उडाएपछि ३ दिनदेखि उपचार सेवा प्रभावित भएको हो । त्रिपालमुनि उपचार गर्दा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य चौकीको चौरमा टाँगिएको पाल हावाले उडाउने हो कि भन्ने चिन्तै–चिन्तामा उपचार गरिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य चौकीको छाना उडाउँदा कोठामा रहेको औषधिलगायत अन्य सामग्री भिजेकाले सेवा प्रवाहमा कठिनाइ भएको स्वास्थ्य चौकी इन्चार्ज यज्ञबहादुर बस्नेतले बताए । ‘बिरामी जाँच गर्न त खासै गाह्रो छैन,’ उनले भने, ‘सुत्केरी सेवा प्रवाहमा गाह्रो भएको छ ।’ उनका अनुसार हावाहुरीले छाना उडाउने क्रममा प्रसूति गृहको भवनको पर्खाल पनि भत्किएकाले जोखिम धेरै छ ।

आवश्यक औषधि गाउँपालिकाको स्वास्थ्य शाखाबाट माग गरी ल्याए पनि अहिले भण्डारणमा समस्या भएको बस्नेतले बताए । उनका अनुसार स्थानीयको घर भाडामा लिएर औषधि राखिएको छ । पानी परे सेवा ठप्प हुने सम्भावना रहेको बस्नेतको गुनासो छ । वर्षा सुरु हुन केही समय मात्र बाँकी रहेकाले तत्काल छाना नहाले भवन कामै नलाग्ने गरी भत्कने जोखिम बढेको उनी बताउँछन् । मर्मतका लागि विभिन्न निकायमा आग्रह गरिएको उनको भनाइ छ ।

हावाहुरीले छाना उडाएपछि पानीले भिजेका सामान लथालिंग भएको स्वास्थ्यकर्मी प्रेमा देवकोटाले बताइन् । उनका अनुसार तत्कालका लागि पालमा राखेर सेवा दिए पनि प्रभावकारी हुन सकेको छैन । उनले पालमा सुत्केरी गराउन कठिनाइ भएको जानकारी दिइन् । सुत्केरी सामग्री राख्ने ठाउँ अभाव भएपछि थप समस्या भएको उनको भनाइ छ ।

‘सुत्केरी भएका महिलालाई स्वास्थ्य संस्थामा २४ घण्टासम्म राख्नुपर्ने हुन्छ, तर भवन भत्कने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘कसरी स्याहार गर्नु ?, कसरी प्रसूति गराउनु ?’ दार्मा गाउँपालिका उपाध्यक्ष टीका ओलीले उपचारका लागि आएका बिरामीलाई सहज उपचार गर्न तत्कालका लागि पाल व्यवस्था गरिएको बताइन् ।

उनले यसबारे सबै जनप्रतिनिधिबीच छलफल भइरहेको जानकारी दिइन् । हावाहुरीले करिब १२लाख बढीको क्षति भएको उनले जानकारी दिइन् । तत्काल राहतका लागि पीडित परिवारलाई १/१ थान पाल उपलब्ध गराएको उनले बताइन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्