Logo
|
Friday 17th May 2024
Logo

epaper

एचआईभी संक्रमितलाई छाक टार्ने पीरलो



एचआईभी संक्रमितलाई छाक टार्ने पीरलो

 एचआईभी संक्रमणकै कारण नानीदेवीका पतिको मृत्यु भयो। अहिले उनी आफै एचआईभीसँग जुधिरहेकी छन्। १२ वर्षदेखि यो रोगसँग जुधिरहेकी राकम कर्णालीकी नानीदेवी शाहीको उपचारमा खेतबारी नै सकियो। कमाइ गर्ने घरमुलिको मृत्यु भइसकेको र आफ्नो उपचारमा खेतबारी नै सकिएपछि अचेल नानीदेवीलाई छाक टार्नै मुस्किल परेको छ।

‘श्रीमान् कालापहाड कमाउन जान्थे, उतैबाट एचआईभी बोकेर आएछन्’ नानीदेवीले भनिन्, ‘आफू पनि बाँचेनन्, मलाई पनि मर्नु न बाँच्नुको अवस्था बनाए।’ पतिको मृत्यु भएको पाँच वर्षपछि आफू पनि संक्रमित भएको थाहा पाएको नानीदेवी बताउँछिन्। उनले भनिन्, ‘कमाइ खाने जग्गा सबै उपचारकै लागि बेच्नुपर्‍यो, तलव आउने जागिर छैन। बिहान र बेलुकीको छाक टार्नै धौ–धौ छ, न राज्यबाट सहयोग नै पाएकी छु।’

राकमकर्णालीकै २१ वर्षीय नविन माझी गर्भमै हुँदा एचआईभीबाट संक्रमित भए। मजदुरीका लागि भारत पसको उनका बुवा संक्रमित बनेर घर फर्किए। त्यसपछि उनकी आमामा पनि संक्रमण देखियो। एचआईभी संक्रमणकै कारण बाबुआमा गुमाएका नविन अहिले एक्लै छन्। हाल एआरटी प्रयोग गरिरहेका उनी पनि एचआईभीसँग जुधिरहेका छन्। उनी भन्छन्,‘एक त रोगसँग लड्नु परेको छ। आफ्नो आम्दानीको केही स्रोत नै छैन। अरुसँग हात थापेर कहिलेसम्म बाँच्ने ? औषधि किन्ने पैसा पनि छैन।’ स्थानीय सरकारसँग आफूहरुले आयआर्जन र सहयोगको अपेक्षा गरे पनि त्यो सहयोग नपाएको नविनको दुःखेसो छ।
नानीदेवी र नविन मात्र होइनन्, राकमकर्णाली र आसपास अहिले ६८ जना एचआईभी संक्रमित छन्। त्यसमध्ये पनि दलित महिलामा यो समस्या बढी नै छ। आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई संक्रमित भएपछि छिमेकीले पनि पत्याउन छाडेका छन्। यसले पनि आफूहरुको जीविकोपार्जनमा समस्या भएको पीडितहरु बताउँछन्।

आर्थिक अवस्था कमजोर भएकै कारण भारतमा मजदुरी गर्न जाने र त्यहीँबाट संक्रमित भएर फिर्ता हुने पुरुषका कारण यहाँका महिलाहरु पनि संक्रमित हुने गरेका छन्। संक्रमणका कारण घुरमुली पुरुषको मृत्यु भएपछि महिलालाई घरखर्च जुटाउनै मुस्किल हुने गरेको हो। यहाँका संक्रमित महिलाहरुले आफूहरुलाई छाक टार्ने व्यवस्था मिलाइदिन स्थानीय सरकारसँग बारम्बार माग गर्दै आइरहेका छन्।
गर्भमै संक्रमित भएर जन्मिएका बालबालिकाको अवस्था झन् दर्दनाक छ। उनीहरुलाई आफ्नो बाँकी जीवनको जति चिन्ता छ, त्योभन्दा बढी स्थानीय तहले संक्रमितका लागि कार्यक्रम नल्याउँदा झनै पीडा थपिएको छ। आठबिस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले एआरटी प्रयोग गरिरहेका संक्रमितका लागि नगरपालिकाले पोषणभत्ता उपलब्ध गराउँदै आएको बताइन्।

हालसम्म संक्रमितका लागि ठोस आयआर्जन र रोजगारीका कार्यक्रम नल्याए पनि आगामी दिनमा बजेट नै छुट्याएर उनीहरुको जीविकोपार्जनमा सहयोग गर्र्नेे दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए। दैलेख प्लसका अनुसार हाल जिल्लामा एक सय ७२ जना संक्रमित छन्।

सबैभन्दा धेरै आठबिस नगरपालिकामा ६८ जना रहेको दैलेख प्लसका परियोजना अधिकृत जनकबहादुर शाहीले बताए। यस्तै दुल्लु नगरपालिकामा ३८ जना संक्रमित छन्। ‘हामीले जिल्लाका सबै स्थानीय तहसँग एचआईभी संक्रमितका लागि कार्यक्रम तथा बजेट विनियोजन गर्न आग्रह गरेका थियौं, उनीहरुले खासै महत्व दिएको पाइएन’ शाहीले भने।

सामाजिक रुपमा बहिस्कृत भइरहेका संक्रमितका लागि स्थानीय तहले सहयोग नगर्दा उनीहरुलाई छाक टार्न समस्या भइरहेको शाहीको भनाइ छ। एचआईभी भएको थाहा पाएपछि गाउँ समाजले बहिस्कार गरेको र स्थानीय सरकारले पनि संरक्षण नगर्दा दैनिक चलाउन मुस्किल भइरहेको पीडितको गुनासो छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्