Logo
|
Thursday 2nd May 2024
Logo

epaper

वर्षायामसँगै तराईका उपचार केन्द्रमा सर्पदंशका बिरामी बढे



वर्षायाम सुरु भएसँगै तराईका जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । वैशाखदेखि कात्तिकसम्म तराईमा सर्पको डर हुन्छ । गर्मी र वर्षायाममा सर्प सुरक्षित स्थलको खोजीमा सल्बलाउने गर्छ । वर्षायाममा वासस्थानमा पानी पसेपछि सर्प सुक्खा स्थानतर्फ जान्छ, जहाँ मान्छेको बसोवास हुन्छ । यसक्रममा सर्पले मानिसलाई डस्ने गरेको छ ।

राजमार्गकेन्द्रित उपचार केन्द्र
झापामा तीनवटा सर्पदंश उपचार केन्द्र छन् । तीनवटै पूर्वपश्चिम राजमार्गआसपास छन् । ग्रामीण भेगका सर्वसाधारणलाई सर्पले डस्दा घन्टौँ लगाएर उपचार केन्द्रसम्म पुग्नुपर्ने बाध्यता छ । कन्काई सहारा सर्पदंश उपचार केन्द्रमा जिल्लाको मध्यभागका बिरामी सेवा लिन आउँछन् । पूर्वका बिरामी चारआलीस्थित नेपाली सेनाको उपचार केन्द्रमा जान्छन् । पश्चिमतर्फका बिरामी दमकस्थित रेडक्रसको सर्पदंश उपचार केन्द्रमा जाने गरेका छन् ।

कन्काई नगरपालिका–४ कोटीहोममा रहेको कन्काई सहारा सर्पदंश उपचार केन्द्रमा आजभोलि दैनिक सातजनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । वर्षायाम सुरु भएपछि सर्पदंशका बिरामीको संख्या बढेको उपचार केन्द्रले जनाएको छ ।

गत वर्षको आँकडा हेर्दा वैशाखदेखि कात्तिकसम्म औसतमा दैनिक तीनजना सर्पदंशका बिरामी केन्द्रमा आउँछन् । ‘कन्काई नगरपालिका, शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका बिरामी बढी आउँछन्,’ उपचार केन्द्रका प्राविधिक इन्चार्ज अभिषेक पोखरेलले भने, ‘अर्जुनधारा नगरपालिका, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकाबाट पनि फाट्टफुट्ट आउने गरेका छन् ।’

विष नभएका सर्प धेरै
धेरैजसो डसाइ विष नभएका सर्पबाट हुने गरेको कन्काई सहारा सर्पदंश उपचार केन्द्रका प्राविधिक भूपेन्द्र अधिकारीले बताए । ‘ढोडे, धामन, हरहरे, चिचिन्डे, पानी सर्पजस्ता विषालु नभएका सर्पले डसेका बिरामी बढी आउँछन्,’ अधिकारीले भने, ‘त्यस्ता बिरामीलाई १२ घन्टा राखेर घर पठाइन्छ ।’ उपचार केन्द्रमा आउने बिरामीलाई गोमन, करेत, हरेउ, गुर्वेजस्ता विषालु सर्पले पनि डसेको पाइएको उनले बताए । हरेउ र गुर्वे झापा र इलामको सिमानामा पर्ने चुरे पहाडतिर बढी पाइन्छ ।

शंकाकै भरमा आउँछन् बिरामी
उपचार केन्द्रमा शंकाकै भरमा आउने बिरामीको पनि कमी छैन । पानीभित्र खेल्दा वा काम गर्दा, सुतेको वेला केहीले टोक्दा, दाँतजस्तै डाम देख्दा आत्तिएर सर्पदंश उपचार केन्द्रमा आउने गरेको पाइएको छ ।

सर्पदंशको समस्या लिएर बढीजसो महिला आउने पोखरेलले बताए । केन्द्रले चैतयता सर्पदंशका दुई सयजना बिरामीको उपचार गरिसकेको छ । केन्द्रमा सर्पदंशका बिरामीको उपचारका लागि भेन्टिलेटर सेवासमेत उपलब्ध छ । सर्पदंश उपचार केन्द्रलाई जनस्वास्थ्य कार्यालयले एन्टिस्नेक भेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ । केन्द्रमा ६ जना प्राविधिक र एक चिकित्सक कार्यरत छन् । यो टोलीले दिनमा सातजनासम्म सर्पदंशका बिरामी हेर्न सक्ने पोखरेलले बताए ।

रेडक्रस सोसाइटी, सहारा नेपाल, कन्काई उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ कन्काई र कन्काई घाट व्यवस्थापन समितिले उपचार केन्द्र सञ्चालन गरेको हो । उपचार केन्द्रले प्रतिबिरामी दुई हजार दुई सय रुपैयाँ शुल्क लिँदै आएको छ ।

सर्पले टोकेमा के गर्ने, के नगर्ने ?
सर्पले टोकेका बिरामीलाई जतिसक्दो चाँडो उपचार केन्द्र पुर्‍याउनुपर्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘बिरामीलाई हलचल नगराई, टोकेको ठाउँ नचलाई, बिरामीलाई खानेकुरा नदिई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ,’ कन्काई सहारा सर्पदंश उपचार केन्द्रका प्राविधिक भूपेन्द्र अधिकारी भन्छन्, ‘सर्पले डसेपछि रगत प्रवाह नै बन्द हुने गरी कसेर बाँध्नु पनि हुँदैन ।’

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, आगोले डाम्नेलगायतका काम गर्नु हुँदैन । ‘खोर्सानी खाएर पनि विषालु सर्पले डसेको थाहा हुँदैन, यसले त पेट पोलेर उपचारमा झन् बाधा पुर्‍याउँछ,’ पोखरेलले भने । सर्पको विषको असर कम गर्न भन्दै हातखुट्टा कसेर बाँध्दा रगतको प्रवाह बन्द भई हातखुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने भएकाले यसप्रति सचेत बन्न चिकित्सकको सुझाब छ । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्