Logo
|
Thursday 2nd May 2024
Logo

epaper

घरेलु प्याडको लोकप्रियता बढ्दै



pad

 मानव जीवनचक्रसँग सम्बन्धित महत्त्वपूर्ण पाटो महिनावारीलाई अझैसम्म पनि समाजमा लुकाउनुपर्ने विषयका रूपमा हेरिन्छ ।
महिनावारीका बेला पोसिलो खाना, घाम, तातोबाट वञ्चित हुँदा महिलाको प्रजनन स्वास्थ्यमै प्रतिकूल असर पर्छ । अझ सरसफाइका लागि सफा प्याड आवश्यक हुन्छ र त्यो न्यून आय भएकाका लागि सुलभ बनाउने प्रयास थालिएको छ । महिनावारीबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने क्रम पनि बढ्दो छ ।
एकैपटक परिवर्तन नआए पनि बिस्तारै शिक्षित पुस्तामार्फत महिनावारीबारे लिइने धारणामा सकारात्मक परिवर्तन आउन थालेको छ । हाल महिनावारीलाई उत्सवका रूपमा मनाउन पनि थालिएको छ ।
विगत २२ वर्षदेखि प्रजनन स्वास्थ्य सङ्क्रमण न्यूनीकरणका लागि काम गरिरहेको संस्था ‘नहुँदा स्वास्थ्य महिला’ले टुक्रा कपडाबाट घरेलु प्याड बनाउने तालिम प्रदान गर्दै आएको छ । ग्रामीण क्षेत्र तथा आर्थिक अवस्था कमजोर भएकाले पनि महिनावारीका बेला स्वस्थ रहन सकून् भन्ने उद्देश्यले प्याड बनाउने तालिम सुरु गरिएको हो ।
संस्थाका व्यवस्थापक राधा ज्ञवालीले भन्नुभयो, “दुई वर्षदेखि संस्थाले स्कुल, समुदायसम्म पुगेर त्यस्तो प्याड बनाउने र प्रयोग गर्न सिकाउने, प्रजनन स्वास्थ्यबारेमा सचेतनाको तालिम पनि सँगसँगै प्रदान गर्दै आएको छ । ”
औद्योगिक उत्पादनका प्याड बजारमा त किन्न पाइन्छ तर न्यून आय भएका महिलाको पहुँचभन्दा बाहिर छ । प्याड किनेर प्रयोग गर्न सक्ने महिलाको सङ्ख्या ज्यादै न्यून छ । महिनावारीका बेला स्वस्थ रहन सरसफाइमा ध्यान दिनुपर्छ भनेर त सिकाउँथ्यौँ तर घरमा तीन÷चारजना महिला भएका परिवारका लागि प्रतिमहिना एक हजार रुपियाँ त प्याडमै खर्च गर्नुपर्ने अवस्था छ । गाउँघरका किशोरी, महिलाले त्यो सुविधा उपभोग गर्न नसक्ने सङ्गीता खड्का बताउनुुहुन्छ ।
अस्टे«लियन रोटरी क्लबले कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन तालिम दिएपछि संस्थाले समुदायका महिलालाई पनि तालिम दिन थालेको संस्थाका इन्चार्ज अनु शाक्यले जानकारी दिनुभयो ।
सेन्चुरी बैङ्कको सहयोगमा ललितपुर जिल्लाको लुभु, सानागाउँमा महिला सहकारीमा आबद्ध महिला दिदीबहिनीबाट प्याड बनाउने तालिम दिन सुरु गरिएको शाक्य बताउनुहुन्छ । कीर्तिपुर, चन्द्रागिरि नगरपालिकाका महिला समूहलाई त्यस्तो तालिम संस्थाले प्रदान गरेको छ ।
तालिम प्राप्त गरेपछि केही महिलाले यसलाई बजारसम्म पु¥याउन व्यावसायिक रूपमै उत्पादन गरेर स्वरोजगार पनि बनेका छन् । सोही संस्थाबाटै तालिम प्राप्त गरेर कीर्तिपुरमा घरेलु कपडाबाट प्याड बनाइरहनुभएकी सङ्गीता महर्जनले यस्तो प्याडको माग दिनदिनै बढिरहेको जानकारी दिनुभयो ।
यस्तो प्याडबारेमा धेरैलाई जानकारी छैन । प्रयोग गर्ने तरिका र लाभबारे बुझाएपछि पहिले एक सेट (प्याड होल्डर र त्यसमा प्रयोग गर्ने रुमाल साइजका कपडा) किनेर लैजान्छन् र पछि फेरि किन्न आउनेको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो ।
प्याड होल्डर, रुमालको साइज र त्यसमा प्रयोग हुने कपडाको आधारमा यसको मूल्य निर्धारण गरिएको छ । किशोरीका लागि चार इन्च चौडाइ, १० इन्च लम्बाइको र महिलाका लागि चार इन्च चौडाइ र १३ इन्च लम्बाइसम्मको बनाउनुपर्छ । रङ्ग नजाने फलाटिन र सुतीका कपडा प्रयोग गनुपर्ने कारणले यसको मूल्यप्रति प्याड होल्डर, दुईवटा रुमालको १५० देखि २५० रुपियाँसम्म मूल्य निर्धारण गरिएका छन् ।
यस्तो प्याड उपहारका लागि समेत किन्न आउनेहरू बढिरहेका छन् । यसबारे जनचेतनाको कमी छ । बनाउनेहरू पनि कम भएकाले अहिलेसम्म सबैतिर पाउन सक्ने वातावरण बनेको छैन । यसबारे जानकारी दिएर तालिम दिनुपर्ने आवश्यकता भएको महर्जन बताउनुहुन्छ । संस्थाको कार्यक्षेत्रमै पाठेघर र ब्रेस्ट क्यान्सर हुन नदिनका लागि रोग नहुँदै जचाउने सेवा र शिविर पनि सञ्चालन गर्दै आएको छ ।
पाठेघरको मुखको क्यान्सर निम्तिन सक्ने मुख्य कारण नै महिनावारीको बेला सरसफाइको कमीले हो । धोएर घाममा सुकाउन मिल्ने र पुनःप्रयोग गर्न मिल्ने भएपछि प्याड किन्नकै लागि सधैँ पैसा खर्च गर्नु पर्दैन । तीन वा पाँच दिनको तालिम लिएपछि यस्ता प्याड आफैँ बनाएर प्रयोग गर्न सकिन्छ । प्रजनन स्वास्थ्य प्रवद्र्धनको दृष्टिकोणबाट निक्कै प्रभावकारी भएकाले रसफाइको माध्यम घरेलु प्याड बनाउन राज्यले नै प्रोत्साहन गर्नुपर्ने संस्थाका व्यवस्थापक राधा ज्ञवाली बताउनुहुन्छ । यसबाट महिला स्वास्थ्यको रक्षा हुन्छ । करिब छ महिनासम्म प्रयोग गरेपछि त्यस्तो प्याडको कपडा फेर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।  गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्