Logo
|
Thursday 2nd May 2024
Logo

epaper

९० प्रतिशत चिकित्सक निजीमा



९० प्रतिशत चिकित्सक निजीमा

  कोसी अञ्चल अस्पतालका चिकित्सक निजीमा केन्द्रित हुँदा बिरामी मर्कामा परेका छन्। अस्पतालको बहिरंग विभागमा आइतबार ९० प्रतिशत चिकित्सक नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादवले बताए।

मन्त्रालयले अस्पतालको आकस्मिक छड्के अनुगमन गरेको थियो। अनुगमनका बेला अस्पतालमा कार्यरत चिकित्सक भने निजी स्वास्थ्य संस्थामा बिरामीको जाँच्न र उपचारमा गर्न व्यस्त रहेको अस्पतालका एक कर्मचारीले बताए। अनुगमन सुरु हुँदा अधिकांश चिकित्सक अस्पतालबाट बाहिर गइसकेका थिए।

प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक निजी स्वास्थ्य संस्थामा केन्द्रित हुने गरेको गुनासोपछि मन्त्रालयले अनुगमन गरेको हो। अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत यादव बिरामी बनेर पुगेका थिए। त्यस क्रममा अस्पतालको बहिरंग विभागमा ९० प्रतिशत चिकित्सक नभेटिएको जानकारी उनले दिए।

यादवका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा देशैभरका सरकारी अस्पतालमा अनुगमनका लागि अलगअलग टिम खटाइएको छ। ‘अस्पतालमा आफैं बिरामी बनेर अनगुमनका लागि पुगेको थिएँ,’ यादवले भने, ‘तर कार्यालय समयमा ९० प्रतिशत चिकित्सक बहिरंग विभागमा भेटिएनन्।’ यादवका अनुसार दिउँसो १ः३० बजेतिर गरिएको अनुगमनका क्रममा अस्पतालका विभिन्न विभाग पूरै खाली थिए। ‘कुनै विभागमा एकदुई चिकित्सक भेटिए,’ उनले भने, ‘सबै जसो खाली हुँदा बिरामी पर्खाइमा बसिरहेका भेटिए।’

यादवले चिकित्सकले सरकारी सेवा लिएर निजी स्वास्थ्य संस्थामा बढी समय दिने गरेको उजुरी मन्त्रालयमा परेको बताए। कोसी अस्पतालमा छड्के गरिएका बेला प्राप्त नतिजाले पनि यसको पुष्टि गरेको उनले बताए। यादवले अस्पतालमा देखिएको बेथिति र भद्रगोल अवस्था तथा चिकित्सकको लापरबाहीका बारेमा प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउने बताए।

अस्पतालमा सरकार र अस्पताल विकास समितिबाट नियुक्ति पाएका विशेषज्ञसहित ६० जना चिकित्सक कार्यरत छन्। २५ जनालाई समितिले नियुक्ति दिएको छ। सरकारले १४ जनालाई कारारमा राखेको छ। उनीहरूको नियुक्ति नवीकरण भने असारदेखि भएको छैन। अस्पतालका अनुसार करारमा रहेका चिकित्सकको अवधि सकिएपछि थप गर्नका लागि असार २३ गते सम्बन्धित निकायमा पत्राचार गरिएको छ। तर अहिलेसम्म १४ जना चिकित्सकको करार अवधि थपिएको छैन।

चिकित्सकले बहिरंग विभागमा दैनिक बिहान ९ देखि दिउँसो २ बजेसम्म काम गर्नुपर्ने हुन्छ। तर ११ बजे आउने चिकित्सक १ नबज्दै निजी क्लिनिक पुगिसक्ने गरेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले बताए। ‘नियमको धज्जी उडाउँदै चिकित्सक निजी क्लिनिकमा जान्छन्। सरकारी तलब खाएर सेवा भने निजीमा दिन्छन्,’ उनले भने, ‘त्यस समयमा सरकारी अस्पतालमा आउने बिरामी उपचार नपाएर हैरान हुन्छन्। यसले टाढाबाट उपचारका लागि सरकारी स्वास्थ्य सेवा लिन आएका आर्थिक अवस्था कमजोर भएकाहरू मारमा छन्।’ अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्