Logo
|
Sunday 5th May 2024
Logo

epaper

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगूको संक्रमण

भक्तपुरमा समेत डेंगू संक्रमण देखिएपछि चिकित्सकहरुले दिउँसो टोक्ने लामखुट्टेबाट बच्न दिए सुझाव



भक्तपुर : भक्तपुरमा पनि डेंगू देखापरेको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगूको संक्रमण फेला परेको हो।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रविभूषण सुवालले अस्पतालका एक कर्मचारीसहित १० जनामा डेंगूको संक्रमण देखिएको जानकारी दिए। उनका अनुसार अस्पतालमा डेंगूको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकू अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगूको संक्रमण देखिएको थियो।

अस्पतालमा कीटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगू पुष्टी भएको उनको भनाइ थियो। ‘हामीकहाँ कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगू भएको पुष्टी भयो’, डा.सुवालले भने,‘हामीकहाँ परिक्षण गराएका १८ जनामध्ये हाम्रै एक कर्मचारीसहित चारजनामा डेंगू देखियो।’

डा.सुवालका अनुसार दुईजनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ भने बाँकीको टेकु अस्पतालमा उपचार भइरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा गत वर्षको तुलनामा यस वर्ष डेंगू संक्रमण बढेको छ।

कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर राजेन्द्रसिंह धामीले गत वर्ष तीन जनामा मात्रै डेंगू देखिएको जानकारी दिए। उनले यस वर्ष डेंगू संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर जनस्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगूबारे जनचेतना अभियान चलाइएको बताए।

साउनमा एकजनामा मात्रै देखिएको डेंगू संक्रमण भदौपछि बढीमा देखापरेको उनको भनाइ थियो। भक्तपुरमा समेत डेंगू संक्रमण देखिएपछि चिकित्सकहरुले दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव दिएका छन्। पानी जमेका खाल्डाखुल्डी पुर्ने, झ्याम्म भएका झाडीहरु फाडेर इन्सेक्टिसाइड छरेर डेंगू संक्रमण गर्ने लामखुट्टे नष्ट गर्न उनीहरुले सुझाव दिएका छन्। यो समाचार अन्नपूर्णपोष्टमा इश्वरकाजी खाइजुले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्