Logo
|
Saturday 18th May 2024
Logo

epaper

नेपाल डेन्टल ऐसोसिएसनले मर्करी मुक्त घोषणा गर्दै त्यस्ता रसायन प्रयोग नगर्न आह्वान

मर्करीमुक्त दन्त चिकित्सा सेवा र मर्करीमुक्त स्वास्थ्य सेवामा समस्या



सुनसरी — दाँतको उपचारमा मर्करी (पारो) युक्त डेन्टल अमल्गमको प्रयोग स्वास्थ्यका लागि घातक हुने भएको ठहर गर्दै नेपाल डेन्टल ऐसोसिएसनले मर्करी मुक्त घोषणा गर्दै त्यस्ता रसायन प्रयोग नगर्न आह्वान गरेको छ ।

दाँतको उपचारमा ५० प्रतिशत मर्करी मि श्रण गरिएको अमल्गम दन्तचिकित्सकहरूले प्रयोग गर्दै आएका छन् ।

दाँतको उपचार गर्दा विकल्पमा कम्पोजिट, ग्लास आइनुमर, कम्पोमरलगायत भए पनि ती सामग्री अत्यधिक महंगो हुने भएकाले सस्तोमा सजिलै पाइने मर्करीयुक्त अमल्गम प्रयोग हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मर्करी मानव स्वास्थ्य र वातावरणमा असर पुर्‍याउने विभिन्न मुख्य १० रसायनमध्ये एक भएको जनाएको छ ।

मानव शरीरमा प्रवेश गरेको मर्करी रसायनले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिलाहरू, शिशुको बृद्धी विकासमा अवरोध पुर्‍याउने पुष्टि भइसकेको छ । छाला समेतलाई पार गरेर शरीरको विभिन्न संवेदनशील र महत्त्वपूर्ण अङ्गहरू मस्तिष्क, फोक्सो, मृगौलासम्म बिना रोकावट सजिलै पुगी हानी पुर्‍याउने भएकाले डेन्टल एसोसिएसनले मर्करीयुक्त अमल्गम प्रयोग नगर्न सचेत गराएको एसोसिएसनका अध्यक्ष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा महाविद्यालयकी प्राडा ज्योत्सना रिमालले बताइन् ।

प्रदेश १ लाई मर्करीमुक्त दन्त चिकित्सा सेवा, शिक्षा एवं मर्करीमुक्त स्वास्थ्य सेवा दिन सकिनेबारे आयोजित कार्यशाला गोष्ठीमा उनले  पनि रहेको बताइन् ।

उनले भनिन्, ‘युरोपियन मुलुकका दन्तचिकित्सकले मर्करीयुक्त अमल्गम प्रयोगमा प्रतिबन्ध लगाए पनि अमेरिका र अस्ट्रेलियाजस्ता मुलुकले भने सहजै प्रयोग गरिरहेका छन् । बीपी प्रतिष्ठान लगायत नेपालका मेडिकल कलेजहरू ती मुलुकमा जाने हाम्रा दन्तचिकित्सकले अमल्गमको प्रयोगबारे अध्ययन नगरेमा सिधै फेल बनाउने गरेकाले पाठ्यक्रम भने परिवर्तन गर्न सकिएको छैन ।’

एसोसिएसन र केन्द्रले जारी गरेको मर्करी मुक्त घोषणापत्रमा गर्भवती वा स्तनपान गराउने महिलाहरू, १५ वर्ष मुनिका बालबालिकाहरूका दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतया प्रतिबन्ध गरिएको जनाएको छ । अन्य उमेर समूहको हकमा दातको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग बिरामीको खास आवश्यकताका आधारमा मात्र दन्त चिकित्सकको सल्लाहमा गर्नै पर्ने अवस्थाबाहेक पहिलो प्राथमिकतामा नराखिने जनाइएको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक वातावरण वैज्ञानिक रामचरित्र साहले दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा मर्करीमुक्त बैकल्पिक कम्पोजिट, ग्लासा आइनोमर, कम्पोमर आदिबारे समावेश गरी उचित सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘मर्करी मानव शरीरका लागि घातक हो भनेर प्रमाणित भइसकेको अवस्थामा दन्तचिकित्सकले प्रयोग गर्नु हुँदैन । वन तथा वातावरण मन्त्रालयले हालै सम्पन्न गरेको नेपालको मिनामाता प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा मर्करी डेन्टल अमल्गमको आयात, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने, मर्करीयुक्त थर्मामिटरको सट्टामा डिजिटल थर्मामिटर र बीपी सेटको सट्टामा डिजिटल वा ऐनोरोइड बीपीसेटको प्रयोग गर्नुपर्ने पनि सुझाव दिएकाले त्यसलाई पालना गर्नु उचित हुन्छ ।’ यो समाचार कान्तिपुरबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्