किन शल्यचिकित्सक अझै प्रयोग गर्छन् नाजी पुस्तक ?
नसा सम्बन्धी शल्यचिकित्सक डाक्टर सुसन म्याकिननलाई जब शल्यक्रिया सक्नका लागि मद्दत चाहिन्छ उनी धेरैजसो २० औँ शताब्दीको मध्यतिरको शरीर विज्ञानसम्बन्धी पुस्तकको सहायता लिन्छिन्। मानव शरीरको तहतह देखिने गरी हातले बनाइएको जटिल खालको चित्रणले अमेरिकाको सेन्ट लुइस्थित वासिङ्टन विश्वविद्यालयकी डाक्टर म्याकिनन शल्यचिकित्साको प्रक्रिया पूरा गर्न सक्छिन्। उनले प्रयोग गरेको ‘पर्नकोप्फ टोपोग्राफिक एनाटोमी अफ म्यान’लाई विश्वभरी नै शरीर विज्ञानबारेको सबैभन्दा उत्कृष्ट चित्रण गरिएको पुस्तक मानिन्छ। यसमा धेरै विवरणहरू छन् र कुनै अरु पुस्तकमा भन्दा धेरै स्पष्ट रङ्गहरूसहितका चित्रहरू छन्। छाला, मांसपेशी, स्नायु, नसा, अङ्ग र हड्डीलाई चित्रात्मक विवरणसहित खुलाइएको छ। कमजोर मुटु हुनेहरूका लागि यो पुस्तक होइन। तर धेरैजसो पर्नकोप्फको एटलास भनिने यो पुस्तक प्रिन्टमा र पुरानो किन्न पाइँदैन। यसका केही ठेलीहरू अनलाईनमा हजारौँ पाउण्डमा विक्री हुन्छन्। यो पुस्तकको मूल्य एकदमै महङ्गो भए पनि केहीले यसलाई आफ्नो क्लिनिक, घर वा पुस्तकालयमा देखाएर राख्नमा गर्व गर्छन्। त्यसो किन गर्छन् भने नाजीहरूद्वारा मारिएका सयौँको शवमाथि अनुसन्धान गरेर यो पुस्तक तयार गरिएको हो। शरीर काटेर र चिरेर हजारौँ पृष्ठमा देखाइएको यो तिनै नाजीद्वारा मारिएका मानिसहरूको शरीर हो। आलोचकहरूले यो पुस्तक यसको अँध्यारो विगतबाट बिटुलिएको बताएका छन् र यसको प्रयोगमा समावेश भएका नैतिक प्रश्नमा वैज्ञानिकहरू बाँधिएका छन्। डाक्टर म्याकिनन आफू यसको उत्पतिबारे असहज महसुस गर्ने बताउँछिन् र नीतिपरक शल्यचिकित्सक हुनका लागि यो पुस्तकको प्रयोग एउटा महत्त्वपूर्ण हिस्सा हुने बताउँछिन्। यो पुस्तक विना आफ्नो काम गर्नै नसक्ने पनि उनी बताउँछिन्। स्वास्थ्य कानुनका प्राध्यापक तथा एउटा प्रलयमा परि बाँच्न सफल भएका रब्बी जोसेफ पोलाक यो पुस्तक नैतिक रूपमा बुझ्न जटिल पहेली भएको ठान्छन्। वास्तविक कुकर्मबाट ल्याइएको यो पुस्तक असल सेवाका लागि प्रयोग गर्न सकिने पोलाक ठान्छन्।
एकजना नाजी अग्रणी डाक्टर एडुवार्ड पर्नकोप्फले यो पुस्तक तयार गर्न २० वर्ष लगाएका थिए। प्राज्ञिक रूपमा अस्ट्रीयामा उदाएका उनले एडोल्फ हिटलरको पार्टीलाई सघाएका थिए। उनका सहकर्मीहरूले उनलाई एकजना उत्सुक राष्ट्रिय समाजवादीको रूपमा व्याख्या गर्छन्। उनले सन् १९३८ देखि आफ्नो कामका क्रममा नाजीहरूको पोसाक लगाए। युनिभर्सिटी अफ भियनाको मेडिकल स्कुलको डिन बनाइएका बेला उनले तीनजना नोबल पुरस्कार विजेतासहित आफ्नो विभागमा रहेका सबै यहुदी सदस्यहरूलाई बर्खास्त गरेका थिए। सन् १९३९ मा एउटा नयाँ थर्ड रिच कानुनले फाँसी दिइएका कैदीका शवहरूलाई अनुसन्धान र पढाउने कामका लागि भन्दै नजिकैको शरीर विज्ञानसम्बन्धी विभागमा तत्काल पठाइने प्रत्याभूत गर्यो। त्यो ताका पर्नकोप्फले लासहरूको चिरफार गर्नका लागि दिनमा १८ घण्टा काम गर्थे भने कलाकारहरूको टोलीले उनको पुस्तकका लागि चित्र बनाउँथे। कतिपय समयमा उक्त शरीर विज्ञानसम्बन्धी विभाग यति भरिभराउ हुन्थ्यो कि फाँसी दिने काम नै पछि धकेल्नुपर्थ्यो। हार्भर्ड मेडिकल स्कुलकी डाक्टर सबाइन हिल्डेब्र्यान्डले उक्त एटलासमा प्रयोग भएका आठसय चित्रमध्ये कम्तीमा आधा त राजनीतिक बन्दीहरूकै भएको बताइन्। त्यस्ता राजनीतिक बन्दीमा समलिङ्गी पुरुष, महिला, राजनीतिक बागी र यहुदीहरू थिए। सन् १९३७ मा प्रकाशित एटलासको पहिलो संस्करणमा चित्र बनाउने कलाकारहरू एरिक लेपियर र कार्ल एन्डट्रेसरले आफ्नो हस्ताक्षरमा स्वस्तिक चिह्न समावेश गरेका छन्। सन् १९६४ को अङ्ग्रेजी भाषाको संस्करणमा पनि नाजीका चिह्नसहितका वास्तविक हस्ताक्षरहरू समावेश गरिएका छन्। त्यसपछिका संस्करणहरूमा चाहिँ नाजीहरूको चिह्न हटाइएको छ। एटलासका हजारौँ प्रति विश्वभरि विक्री भएका छन् र यो पाँचवटा भाषामा अनुवाद गरिएको छ। पुस्तकको प्राक्कथन र परिचयमा “चित्रात्मक रूपमा आकर्षक… र कलाको उत्कृष्ट टुक्रा” भनी व्याख्या गरिएको छ। पुस्तकमा उनीहरूको रक्तरञ्जित विगतको चाहिँ उल्लेख गरिएको छैन। सन् १९९० मा मात्रै हो विद्यार्थी र प्राज्ञहरूले एटलासमा भएका मानिसहरू को हुन् भनी प्रश्न गर्न थालेका। निर्मम इतिहासको खुलासा भएपछि मात्रै सन् १९९४ मा एटलासको प्रकाशन रोकियो। रोएल कलेज अफ सर्जन्सले यूकेमा उक्त एटलास प्रयोगमा नरहेको जनाएको छ। पुस्तकालयहरूले चाहिँ ऐतिहासिक प्रयोजनका लागि राखेका छन्। यद्यपि न्यूरोसर्जरीको एउटा सर्वेक्षणले अझै पनि ५९ प्रतिशत नसासम्बन्धी चिकित्सकले पर्नकोप्फको एटलासबारे जानकार रहेको बताए। त्यसमध्ये १३ प्रतिशत हाल उक्त पुस्तक प्रयोग गरिरहेका छन्। सर्वेक्षण गरिएका मध्ये ६९ प्रतिशतिले इतिहासबारे जागरुक बनाइएपछि आफूहरूलाई उक्त एटलास प्रयोग गर्न सहज भएको बताए। त्यस्तै १५ प्रतिशतलाई असहज भयो भने १७ प्रतिशत अनिर्णित देखिए। डाक्टर म्याकिननले उक्त पुस्तकको विवरण र यथार्थतासँग अरू केहीलाई दाँज्न नसकिने बताइन्। उनले कुनकुन मसिना नसाहरूले हाम्रो शरीरभरि कसरी सम्भावित पीडाहरू दिइरहेका छन् भन्ने हेर्नका लागि जटिल खालका शल्यक्रियामा यसले खास रूपमा मद्दत गर्ने बताइन्। तर उनले शल्यक्रियाका क्रममा उपस्थित सबैले उक्त पुस्तकको अँध्यारो उत्पत्तिबारे सचेत गराउने बताइन्। “यो एटलासको दाग र खराब उत्पत्तिबारे थाहा पाएपछि मैले यसलाई शल्यक्रिया गर्ने कोठाको लकरमा सुरक्षित रूपमा राख्न थालेँ,” उनले भनिन्। गत वर्ष रब्बी पोलाक र मनोचिकित्सक तथा चिकित्सा इतिहासकार प्राध्यापक माइकल ग्रोडिनलले डाक्टर म्याकिननको अनुभवमा आधारित भएर एटलास प्रयोग गर्न सही हुने कि नहुने भनेर यहुदीको चिकित्सा नीतिमा आधारित भएर सामाग्री तयार गरे। उनीहरूले धेरैजसो यहुदी अधिकारीहरूले मानव जीवन बचाउनका लागि ती तस्बिरहरूको प्रयोग गर्न दिने निष्कर्ष निकाले। तर एटलासको इतिहास के हो भन्ने थाहा दिनुपर्ने सर्तमा ताकि पीडितहरूलाई उनीहरूको त्यागका लागि सम्मान दिइयोस्। रब्बी पोलाकले बीबीसीलाई भने: “डाक्टर म्याकिननलाई नै हेरौँ न उनी यो क्षेत्रकी अब्बल हुन् र उनले नसा पत्ता लगाउन सकिनन्। बिरामीले उनलाई भने ‘तपाईँले पत्ता लगाउन सक्नुहुन्न भने म मेरो खुट्टा काट्न चाहन्छु’ – कुनै चिकित्सकले पनि त्यो होस् भन्ने चाहँदैनन्। “त्यसैले उनले पर्नकोप्फको एटलास ल्याउन भनिन्। यो चित्रहरूका कारण उनले नसा केही मिनेटमै भेटिन्। उनले मलाई एकजना नीति विचारकका रूपमा अवस्थाबारे सोधिन्। र मैले उनलाई भने, यदि यसले मानिसलाई ठीक गर्छ र उनलाई जीवन दिन्छ भने यो एटलास प्रयोग हुनसक्छ भन्नेबारे प्रश्नै उठ्दैन।”
युद्धपछि पर्नकोप्फ पक्राउमा परे र उनलाई विश्वविद्यालयबाट निकालियो। उनलाई युद्ध शिविरको जेलमा तीन वर्षसम्म राखियो तर उनीविरुद्ध कुनै अपराध भने लगाइएन। आफू रिहा भएपछि उनी फेरि विश्वविद्यालय फर्किए र एटलासको कामलाई निरन्तरता दिए। उनले एटलासको तेस्रो खण्ड सन् १९५२ मा प्रकाशित गरे। चौथो खण्ड प्रकाशित गरेको केहीपछि सन् १९५५ मा उनको निधन भयो। ६० वर्षभन्दा पछि पनि शरीर विज्ञान र शल्यक्रियाको कामका लागि उनले तयार गरेको एटलास एउटा मुख्य स्रोत सामाग्री हुने गरेको शरीर विज्ञानका शिक्षक डाक्टर हिल्डेब्र्यान्ड्ट बताउँछन्। “यो हेरेर सिकेका हामीले कुनै पनि प्रश्न उठ्दा यसलाई प्रयोग गर्छौं। गौण खालको नसाको शल्यक्रिया गर्दा केही शल्यचिकित्सकहरू यसलाई अनौठो खालको सूचनाको स्रोतका रूपमा पाउँछन् जसलाई केहीले विस्थापित गर्न सक्दैन,” उनले भनिन्। तर, उनले यो पनि थपिन्: “म व्यक्तिगत रूपमा शरीर विज्ञानसम्बन्धी मेरो कुनै पनि कक्षामा यदि मसँग त्यसको इतिहारबारे बोल्ने समय छैन भने पर्नकोप्फको तस्बिरहरू प्रयोग गर्दिन।”
युनिभर्सिटी अफ ब्रिस्टोलका बायोएथिसिस्ट डाक्टर जोनाथन इभिज एटलास अचम्म लाग्दो तरिकाले विस्तृत भएकोमा सहमत जनाउँछन् तर यो एउटा कहालीलाग्दो विगतबाट बिटुलिएको पनि बताउँछन्। “यदि हामी यो प्रयोग गर्छौं र यसका फाइदाहरूको चर्चा गर्दैनौँ भने हामी कुनै रूपमा मिलेमतो गरिरहेका छौँ,” उनले भने। “तर यसको प्रयोग नगर्ने विषयमा पनि तपाईँ तर्क गर्न सक्नुहन्छ कि एटलास हराउन सक्छ र विगतमा के भएको थियो भन्नेबारे खोतल्न सम्झाउने विषयका रूपमा यो प्रयोग हुनसक्दैन।” डाक्टर म्याकिननका लागि यसको विगत कहिल्यै बिर्सन नसकिए पनि यो एउटा महत्त्वपूर्ण साधन हो। “म एकजना शल्यचिकित्सकका नाताले मेरो कामले सफल नतिजा ल्याउँछ भने मैले जस्तोसुकै शैक्षिक स्रोत पनि प्रयोग गर्नुपर्छ,” उनले भनिन्, ” र म मेरा बिरामीबाट पनि त्यही चाहन्छु।” “मेरो अनुभवमा, यदि यी पुस्तकहरू हराए भने नसासम्बन्धी विस्तृत शल्यचिकित्साका लागि त्यसले एउटा ठूलो धक्का दिनेछ। बीबीसी