राजधानीका विभिन्न भागमा डेंगु संक्रमण, मनसुनपछि पनि फैलनसक्ने सम्भावना
काठमाडौं उपत्यकाका नयाँ बजार, खुसिबु, डल्लु, असन, टेकु, भोटेबहाल, पेप्सिकोला, त्रिपुरेश्वर, न्युरोड, क्षेत्रपाटी, स्वयम्भूलगायतका स्थानबाट बिरामी उपचारका लागि आएका छन्ः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
काठमाडौं – देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगीले पाँच जिल्लामा प्रकोपको रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रूप लिइसकेको छ। गत बिहीबारसम्ममा सुनसरीमा ३ सय ३१, झापामा २ सय ९४, मकवानपुरमा ५ सय ४६, चितवनमा ४ सय ३४ जनामा डेंगी प्रमाणित भइसकेको छ। काठमाडौंमा पनि डेंगी संक्रमण दिनहुँ बढेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्ष सुरु भएयता मंगलबारसम्ममा काठमाडौं उपत्यकामा ७६ जनामा डेंगी प्रमाणित भइसकेको छ। मंगलबारसम्ममा देशभरमा २ हजार ४ सय ७६ जनामा डेंगी प्रमाणित भइसकेको तथ्यांक इपिडिमियोलोजी महाशाखाले दिएको छ। सुनसरीमा गत आर्थिक वर्षमै ३ हजारभन्दा धेरैमा डेंगी प्रमाणित भइसकेको थियो।
काठमाडौं उपत्यकाका नयाँ बजार, खुसिबु, डल्लु, असन, टेकु, भोटेबहाल, पेप्सिकोला, त्रिपुरेश्वर, न्युरोड, क्षेत्रपाटी, स्वयम्भूलगायतका स्थानबाट बिरामी उपचारका लागि आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले बताए। उनका अनुसार दैनिक औसत सयजना उपचारमा पुगेका छन्। उपचारमा नपुगेका सहित समुदायमा थप बिरामी हुन सक्ने चिकित्सकहरूको दाबी छ। हाल काठमाडौंको डल्लुमा बढी मात्रामा डेंगीका रोगी फेला परेको डा. पुनले जानकारी दिए।
चार प्रकारका डेंगी भाइरसमध्येमा नेपालमा टाइप टु देखिएको छ। यसको असर कम देखिने भए पनि एकपटक संक्रमित व्यक्तिलाई अर्को प्रकारको डेंगी संक्रमण भएमा जटिल रूप लिने र मृत्युसमेत हुन सक्ने इपिडिमियोलोजी तथा रोग निन्यत्रण महाशाखाअन्तर्गत भेक्टर कन्ट्रोल डिजिज शाखाका प्रमुख डा. प्रकाश शाहले बताए। यसबाट बच्न हरेक घरपरिवारले आफ्नो घरवरपर लामखुट्टे बस्ने ठाउँ नष्ट गर्न महाशाखाले आग्रह गरेको छ।
डा. शाहका अनुसार प्रिमनसुनमै देखिएको यो रोग मनसुनपछि पनि फैलिने सम्भावना छ। ‘पहिला मनसुनपछि देखिन्थ्यो र छिटो नियन्त्रणमा पनि आउँथ्यो, यो वर्ष प्रिमनसुुनमै देखियो’, डा.शाहले भने। नयाँ ठाउँमा देखिनु, प्रिमनसुनमै देखिनु र तीन तहका सरकारको भूमिकाले डेंगी नियन्त्रण कार्यक्रमसमेत अन्योलमा परेको महाशाखाका ट्रपिकल कन्ट्रोल डिजिज अनुसन्धान तथा खोज शाखाका प्रमुख जनश्वास्थ्य अधिकृत घनश्याम पोखरेलको तर्क छ। ‘हामीले गत वर्ष रोग देखिएका जिल्लालाई लक्षित गरेर कार्यक्रम तयार ग¥यौं, नयाँ डेंगी नयाँ ठाउँमा देखियो’, पोखरेलले भने। उनका अनुसार विगतमा सरकारले प्रभावित क्षेत्रमा केन्द्र तथा जिल्ला जनस्वास्थ्यमार्फत कार्यक्रम लैजान्थ्यो तर यो वर्ष प्रदेश र स्थानीय सरकारको भूमिकाबीच अन्योल देखिएको छ। ‘उपचारको नियम तथा निर्देशन र बजेट विनियोजन गर्ने काम संघीय सरकारबाट भइसकेको छ, प्रदेश सरकारले निर्देशन दिएपछि मात्र जिल्ला जनस्वास्थ्यले गर्ने हो। स्थानीय सरकार आफैं परिचालित हुनुपर्छ’, उनले भने।
सरकारले यो वर्ष पनि डेंगीको लामखुट्टेको लार्भा नष्ट गर्न जनचेतना फैलाउने, वकालत, डेंगी परीक्षण किट वितरणजस्ता कार्यक्रम गर्दै आएको छ। यो वर्ष यस्ता रोग नियन्त्रणका लागि सबै प्रदेश सरकारलाई गरी ८ हजारभन्दा बढी किट र ६ करोड १७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।
लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्न आग्रह
यो वर्ष नयाँनयाँ ठाउँमा डेंगीको लामखुट्टे फैलिरहेकाले हरेक घरमा यस्ता लामखुट्टे हुन सक्ने चिकित्सकले जनाएका छन्। ‘डेंगी सार्ने एडिस एजिप्टाई लामखुट्टे सफा जमेको पानीमा बस्छ र त्यहीं फुल पार्छ। यस्तो ठाउँको पानी नष्ट गरौं’, भेक्टर डिजेज अनुसन्धान तथा खोज शाखाका प्रमुख पोखरेलले भने, ‘गमलाको थाली, कुलर, चाउचाउको कागज, सडकका खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्छ। यस्ता ठाउँमा पानी जम्न नदिऊँ।’
यो लामखुट्टे ३० देखि ४५ दिनसम्म बाँच्छ र आफ्नो जीवनकालमा नौपटक अन्डा पार्छ। एकपटकमा १ सय ५० भन्दा बढी अन्डा पार्छ। यो लामखुट्टे सातदेखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ। यस कारण यो लामखुट्टेले धेरैलाई डेंगी सार्ने सम्भावना हुन्छ।
यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई मात्र लक्षण देखिन्छ। पहिलो टोकाइमा लक्षण नदेखिए पनि दोस्रो पटक टोकेमा गम्भीर समस्या उत्पन्न हुन्छ। यो लामखुट्टेले सारेको भाइरस १० दिनपछि आफैं मर्छ। तर पटकपटक संक्रमितलाई टोकेमा डेंगी हेमरेज हुन सक्छ। यो लामखुट्टेले पाँच एमएल पानीमा पनि फुल पार्छ। यो लामखुट्टेले पानीको सतहभन्दा पाँच सेन्टिमिटरमाथि भित्ताको सतहमा फुल पार्छ।
लार्भा कसरी नष्ट गर्ने ?
लामखुट्टेका लार्भा पानीको सतहभन्दा केही माथि भित्तामा बस्छन्। अनुकूल ताप पाउनेबित्तिकै लार्भा हुर्किन्छन्। पानीमात्र फ्याँक्दा भित्तामा लार्भा रहिरहन्छ। त्यस कारण पानी निकालेपछि भाँडाको भित्ता मिचीमिची सफा गरेमा मात्र लार्भा नष्ट हुन्छ। बट्टा, बोतल, ड्रम, टायर, गमला, कुलरमा पानी जम्न दिनु हुँदैन। कुनै पनि भाँडामा पानी जम्मा गर्नुपरेमा त्यसको ढक्कन राम्रोसित लगाउनाले पनि लार्भा हुर्किन पाउँदैन। यो समाचार नागरिक दैनिकमा लेखिएको छ ।