Logo
|
Wednesday 22nd May 2024
Logo

epaper

बीर अस्पताल विस्तार गर्ने सरकारको निर्णय अन्यौलः अदुरदर्शी सरकारका निर्णय एक पछि अर्को फेल हुँदै

कुल ५० अर्ब रुपियाँ लगानीमा चीन सरकारले बनाइदिने उक्त अस्पताल चिनियाँ प्राविधिक समूहले विस्तृत परीक्षण गरेपछि दुवाकोट अस्पताल बनाउन माटो अनुपयुक्त रहेको निष्कर्ष



भक्तपुर, भदौ १८ गते । काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल विस्तार गरी एक हजार पाँच सय शøयाको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ ।
चार वर्षअघि सरकारले वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर एक हजार पाँच सय शøयाको अन्तर्राष्ट्रिय स्तरको ठूलो अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । कुल ५० अर्ब रुपियाँ लगानीमा चीन सरकारले बनाइदिने उक्त अस्पताल चिनियाँ प्राविधिक समूहले विस्तृत परीक्षण गरेपछि दुवाकोट अस्पताल बनाउन माटो अनुपयुक्त रहेको निष्कर्ष निकाल्यो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले तत्काललाई दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सरकारी योजना नरहेको बताउनुभयो । चिनियाँ प्राविधिक टोलीले त्यहाँको माटो ठूलो भवन बनाउन उपयुक्त नभएकाले वीर अस्पताल नबन्ने निश्चित भएको बताउनुभयो ।
दुवाकोटमा एक हजार पाँच सय शøयाको अस्पतालसहित विभिन्न प्राज्ञिक तथा प्रशासनिक संरचना बनाउने गरी बृहत् गुरुयोजना बनिसकेको थियो । “चिनियाँ टोलीले दुवाकोटको जग्गा नै अनुपयुक्त भएको प्रतिवेदन दिएपछि रोकियो”, राज्यमन्त्री यादवले थप्नुभयो, “सोही प्रतिवेदनले गर्दा गत वर्ष सरकारले छुट्ट्याएको बजेट फ्रिज भएर गयो । ”
उहाँले अन्यत्र ठाउँ खोजी वीर अस्पताल विस्तार गर्न सकिने बताउनुभयो । तर चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले समुद्रमाथि र तलसमेत मानिसको बस्ती बसिसकेको विश्वजगत्मा दुवाकोटमा अस्पताल बनाउन हुन्न भन्नु हास्यास्पद भएको बताउनुभयो । उहाँले चिनियाँ पक्षले भौतिक पूर्वाधार नभएकाले पूर्वाधार विकास गर्न भनेको बताउनुभयो । उहाँले सडक विस्तारका लागि नगरपालिकाले २५ करोड रुपियाँ छुट्ट्याएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले चिनियाँ प्राविधिकको टोलीले दुवाकोटमा अस्पताल बनाउन उपयुक्त नहुने प्रतिवेदन दिएपछि समस्या भएको जानकारी दिनुभयो । अघिल्लो वर्ष नै सरकारको आग्रहपछि अध्ययनका लागि आएको चिनियाँ टोलीले सो स्थानको माटो, सडक, बिजुलीलगायतका विषय ठूलो अस्पताल सञ्चालनका लागि अनुपयुक्त रहेको प्रतिवेदन दिएको बताउनुभयो ।
माटो तथा भौतिक पूर्वाधार मात्र होइन, जनसङ्ख्याका आधारमा पनि दुवाकोट पायक नहुने चिनियाँ प्राविधिक टोलीको निष्कर्ष छ । चिनियाँ पक्षले गत चैतमा परियोजना प्रस्तावित स्थल, वीर अस्पतालको सेवा, आवश्यक संरचना, गुरुयोजनाको समेत अध्ययन गरेको थियो ।
वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बाटो, माटोलगायतका समस्या भएको बताउनुभयो । चीनले अस्पताल बनाउन उपयुक्त नदेखे नेपाल सरकारले बनाउन सक्ने भन्दै उहाँले अन्यत्र ठाउँ खोज्ने वा त्यहीँ बनाउने भन्ने टुङ्गोमा पुग्न नसकिएको बताउनुभयो ।
गत वर्ष नै सरकारले वीर अस्पताल निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन बनाएर काम सुरु गर्न १५ करोड रुपियाँ छुट्ट्याएको थियो । सरकारले यो वर्ष पनि वीर अस्पताल निर्माणका लागि ४० करोड रुपियाँ विनियोजन गरेको छ । सरकारले चार वर्षअघि वीर अस्पताल विस्तारका लागि ५७० रोपनी जग्गा दिने निर्णय गरेको थियो । सो जग्गामा अस्पतालसहित, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भवन, विज्ञान भवन, आवास, नर्सिङ क्याम्पसलगायतका संरचना बनाउने तयारी गरिएको थियो ।

राजनीतिक दबाब छ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक अधिकारीले चिनियाँ प्राविधिक समूहले माटो परीक्षण गर्दा ठूलो भवन बनाउन नमिल्ने भन्दै पछि हटेको तर अस्पताल बनाउन राजनीतिक दबाब रहेको बताउनुभयो । ती अधिकारीले दबाब कसले दिएको त भन्नुभएन तर दबाबका भरमा ५० अर्ब रुपियाँ लागतको अस्पताल बन्न नसक्ने बताउनुभयो ।
दुवाकोटमा अस्पताल निर्माणका लागि छुट्ट्याइएको १५ करोड बजेट एक पैसा पनि खर्च नभएको भन्दै उहाँले यो वर्ष पनि रकम खर्च नहुने बताउनुभयो । सरकारले यो वर्ष वीर अस्पताल विस्तारका लागि ४० करोड रुपियाँ छुट्ट्याएको छ ।

‘वीर अस्पताल दुवाकोटमै बन्छ’

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने स्वास्थ्य मन्त्रालयका पदाधिकारीले भनेजस्तो चिनियाँ पक्षले उक्त ठाउँ अस्पताल बनाउन उपयुक्त हँुदैन भनेर प्रतिवेदन नदिएको दाबी गर्नुभयो । उहाँले चिनियाँ पक्षबाट त्यो ठाउँमा ठूलो अस्पताल बनाउन सडक नपुगेको, विद्युत् नभएको, पानीको व्यवस्था नभएकोलगायतका समस्या रहेकाले सरकारको योजना के हो भनेर प्रश्न गरेको बताउनुभयो ।
दुवाकोटमा वीर अस्पताल नबनाउन ठूलो शक्ति लागेको छ, त्यहाँ हँुदैन भनेर अन्यत्र सार्ने प्रपञ्च भइरहेको छ, भवन बनाउन बोलपत्र प्रक्रियामा रहेको भन्दै उहाँले यो वर्षबाट अस्पताल निर्माणका लागि काम सुरु हुने बताउनुभयो । पेप्सीकोलाबाट मनोहरा करिडोर हँुदै अस्पताल निर्माण क्षेत्रमा चार लेनको बाटो निर्माणका लागि चाँगुनारायण नगरपालिकाले २५ करोड बजेट छुट्ट्याएको छ ।

निर्णयमा पुग्न सकिएन : राज्यमन्त्री यादव

चिनियाँ प्राविधिक टोलीले ठूलो भवन बनाउने ठाउँ, त्यहाँको माटो, विद्युत्, सडकलगायतका कारणले हँुदैन भन्ने रिपोर्ट दिँदादिँदै अस्पताल बनाउन अघि बढ्न हुँदैन । चिनियाँ प्राविधिक टोलीको रिपोर्टका कारण गत वर्ष दुवाकोटमा विस्तार गर्न लागिएको बजेट एक पैसा पनि खर्च नभएर फ्रिज भएको हो ।
स्वास्थ्य मन्त्रालयले यो वर्ष पनि ४० करोड रकम छुट्ट्याएको छ । यो वर्षको बजेट पनि खर्च हुनेमा आशङ्का छ । अन्यत्र ठाउँ खोज्नेबारे पनि छलफल भइरहेको छ । दुवाकोटमा बन्न लागेको अस्पताल बनाउने स्थान अन्यत्र भेटियो भने त्यसतर्फ केन्द्रित हुनुपर्छ । गोरखापत्र

प्रतिक्रिया दिनुहोस्