ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण,राजधानी उपत्यका नै डेङ्गुको जोखिममा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकार सबै पक्ष मिलेर डेङ्गुविरुद्ध अभियान चलाउन आह्वान
काठमाडौँ, भदौ १९ गते । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।
पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडाँैं उपत्यकामा डेङ्गुका बिरामी बढ्न थालेका छन् भने चिकित्सक तथा नर्सहरूमा समेत डेङ्गु सङ्क्रमण देखिन थालेको छ । डेङ्गुको उच्च जोखिम बढेपछि नियन्त्रणका लागि सरोकार निकाय क्रियाशील भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकार सबै पक्ष मिलेर डेङ्गुविरुद्ध अभियान चलाउन आह्वान गरेको छ ।
नेपालको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेङ्गुको सङ्क्रमण भएको छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंँमा डेङ्गु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
दुई जना डाक्टरसहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेङ्गुको सङ्क्रमण भइरहेको जानकारी दिँदै उहाँले थप्नुभयो, “तीमध्ये एक जना डाक्टर काममा फर्कन थालिसक्नुभयो, अर्का एक जना भने उपचारपछि घरमै आराम गरेर बस्नुभएको छ ।” नर्स, पारामेडिक्स लगायतको टेकु अस्पतालमै उपचार भइरहेको छ ।
निर्देशक डा. पाण्डेले अस्पतालमा काम गर्ने चिकित्सक, नर्स र पारामेडिक्स लगायतलाई डेङ्गु भएकाले सर्वसाधारणको उपचारमा समेत बाधा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेदेखि नै टेकु अस्पतालमा जनशक्ति कम भइरहेको थियो, ११ जनालाई डेङ्गु भइसकेपछि उपचार गर्न समस्या परिरहेको छ ।” डेङ्गुको जोखिम देशभरि भइरहेको अवस्थामा टेकु अस्पतालमा दैनिक पाँच सयदेखि एक हजारसम्म बिरामी डेङ्गुको आशङ्कामा आउन थालेका छन् । मङ्गलबार डेङ्गु परीक्षण गरिएका अधिकांशमा डेङ्गु पोजेटिभ अर्थात् डेङ्गु देखिएको अस्पतालले जानकारी दिएको छ ।
सरुवा रोग अस्पतालका ल्याब प्रमुख परमानन्द भण्डारीले मङ्गलबार डेङ्गु परीक्षण गरिएका अधिकांश व्यक्तिमा डेङ्गु पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँले बुधबार पनि २४७ जनाको डेङ्गु परीक्षण गरिएको जानकारी दिँदै त्यसको रिपोर्ट बिहीबार मात्र आउने बताउनुभयो । डेङ्गु सङ्क्रमित अधिकांश काठमाडौँ उपत्यकावासी हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान कार्यान्वयनमा ल्याइएको छ । उक्त अभियान ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको छ तर पनि नियन्त्रण हुन सकेको छैन । उपप्रधानमन्त्रीसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गुविरुद्ध जुट्न सबैलाई आह्वान गर्नुभएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले डेङ्गुको प्रकोप बढिरहेको भन्दै यसलाई नियन्त्रण व्यक्तिको घर–घरबाट हुनुपर्नेमा बताउनुभयो । घरवरिपरि सफा राख्नुपर्ने, गमला, भाँडाकुँडामा पानी जम्मा गरेर राख्न नहुने, प्रयोगका लागि राखिएको पानी छोपेर वा फाल्नुपर्र्ने भन्दै उहाँले थोरै जमेको पानीमा पनि डेङ्गुको लार्भा हुने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।
डेङ्गु रोकथामका लागि सरकारले ध्यान दिइरहेको भन्दै उहाँले सरकारले मात्र डेङ्गु नियन्त्रण गर्न कठिन हुने भएकाले घरमा व्यक्ति आफँैंले सफा गर्नुपर्ने बताउनुभयो । गर्मी बढी हुने तराईका जिल्लामा देखिएको एडिस एजिपटाइप जातको पोथी लामखुट्टे अहिले काठमाडाँैं र अन्य पहाडी जिल्लाहरूमा प्रशस्त मात्रामा देखिएकाले डेङ्गुको समस्या बढी जटिल भएको हो ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले २० देखि ३० डिग्री तापक्रममा एडिस जातको लामखुट्टे रहने भएकाले बर्खायामभरि डेङ्गुको सन्त्रास फैलिरहने बताउनुभयो । सफा पानीमा बस्ने पोथी जातको लामखुट्टेले टोकेपछि अत्यधिक ज्वरो आउने, शरीरमा रगतको मात्रा कमी हुनेजस्ता लक्षण देखा पर्छन् ।
मानिसको घरमा रहेको सफा पानी, गमला, एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारणले यस्ता ठाउँमा लामखुट्टे आउँछ कि भनेर सचेत रहनुपर्ने डा. पुनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. लालले लामखुट्टेको बासस्थान खोज गरी लार्भा नष्ट गर्नका लागि खोज तथा नष्ट गर कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले डेङ्गु रोग नियन्त्रण र रोकथामका सम्बन्धमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालालाई अभिमुखीकरणसमेत दिइरहेको बताउनुभयो ।
डेङ्गु ज्वरोको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँच–सात दिनसम्म रहनसक्छ । यसबाहेक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने लगायतका लक्षण देखा पर्छन् । गोरखापत्र