प्यूठान जिल्ला अस्पताल: एउटै बेडमा २ बिरामी राखेर उपचार, स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो
जनस्वास्थ्य सरोकार, प्यूठान । साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बिजुवारमा दरबन्दीका चिकित्सक अभावमा पोस्टमार्टम, घाउ जाँच, ओसीएमसी (लैगिक हिंसासम्बन्धी एकद्वार व्यवस्थापन केन्द्र) लगायतका काम ठप्प छन् ।
‘असारदेखि तलब पाएका छैनौं,’ कर्मचारीको गुनासो थियो, ‘बिरामीलाई दिने औषधि पनि छैन ।’ निर्देशक गिरीले कार्यालय प्रमुखलाई अस्पताल छाड्नुको कारणबारे स्पष्टीकरण माग्ने र एक–दुई दिनमै काजमा प्रमुखको जिम्मेवारी तोकेर चिकित्सक पठाउने आश्वासन दिएर फर्किएका छन् ।
‘संघीयता कार्यान्वयन भएपछि देशभरि नै समस्या छ,’ उनले भने, ‘यहाँको अवस्था पनि नाजुकै रहेछ ।’
धेरैले संघअन्तर्गतका अस्पताल रोजेकाले प्रदेशअन्तर्गतका अस्पतालमा चिकित्सकको अभाव भएको उनले बताए । प्यूठान अस्पतालमा रहेका चिकित्सक र कर्मचारी मिलेर सेवा दिन सकिने हुँदाहुँदै निमित्त कार्यालय प्रमुख जिम्मेवार नहुँदा समस्या देखिएको उनले बताए । दरबन्दीमा रहेका चिकित्सकलाई बिनाजानकारी अस्पताल छाड्नुको कारण मागिने उनले बताए ।
मेडिकल अधिकृत घिमिरे र सरस्वती सुर्खेती खबरै नगरी हिँडेको पाइएको गिरीले बताए । चिकित्सक सुशीला थापा सुत्केरी बिदामा छन् । अस्पतालमा दरबन्दीका कुनै चिकित्सक छैनन् । निकसाइमन इन्स्टिच्युटअन्तर्गतका डा. सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन् । गर्मी बढेसँगै यहाँ रुघाखोकी, भाइरल ज्वरो र टाइफाइडका बिरामीले अस्पातल भरिभराउ छ ।
एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ । यस्तो बेला अस्पताल लथालिंग पारेर निमित्त प्रमुखले अस्पताल छाडेर गएकाले अस्पतालमा समस्या थपिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘बिरामीले औषधि खरिद गर्ने प्रक्रिया मिलेको छैन भन्ने कुरा जान्दैनन्,’ उनले भने, ‘बिरामी परेका बेला उनीहरूलाई सेवा चाहिएको हुन्छ ।’
अस्पतालमा सेवा नभएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिने गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । औषधि किन्ने अख्तियारी कसैलाई छैन ।