Logo
|
Monday 20th May 2024
Logo

epaper

रुकुममा पनि देखियो डेंगु र स्क्रब टाइफस



रुकुम (पश्चिम), असोज ९ गते । रुकुम पश्चिममा डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन् । सदरमुकाम मुसिकोट खलङ्गा स्थित साझा अस्पतालमा उपचार गराउन आएका बिरामीहरुमध्ये तीन जना बिरामीलाई डेंगु र दुई जना बिरामीलाई स्क्रब टाइफसको संक्रमण देखिएको हो ।

डेंगु संक्रमण भएका बिरामीहरुमा अत्यधिक ज्वरो आउनुका साथै शरीर दुख्ने समस्या देखिएको अस्पतालका डाक्टर दीपक पुनले जानकारी दिनुभयो । पछिल्लो एक साताको बीचमा उपचार गराउन आएका बिरामीमध्ये तीन जनालाई डेंगु देखिएकोमा एकजनालाई काठमाडौँ रिफर गरिएको र बाँकीको यहिँ उपचार भैरहेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालको तथ्याङ्कमा पनि दुईजनामा डेंगु भएको देखिएको अस्पतालका प्रमुख डा. महेश चौलागाईले बताउनुभयो । स्थानीय साझा अस्पतालबाट पठाएको एकजना र मनकामना अस्पतालबाट पठाएको एकजनामा डेंगु देखिएको उहाँले बताउनुभयो । त्यस्तै स्क्रबटाइफसको संक्रमण देखिएका दुवैजनालाई घरमै बसेर औषधी सेवन गर्न सुझाव दिएको साझा अस्पतालले जनाएको छ ।

डेंगु र स्क्रबटाइफसका बिरामीहरु थोरै भएपनि मौसमी ज्वरोका बिरामीहरुको भने जिल्लाका सबैजसो स्वास्थ्य संस्थामा निकै चाप रहेको छ । जिल्ला अस्पतालका साथै सदरमुकाम मुसिकोट खलंगामा रहेका नीजि अस्पताल र मेडिकलहरुमा मौसमी ज्वरोका बिरामीको भीड घट्न सकेको छैन । जिल्ला अस्पतालमा अहिले दैनिक दुईसय बिरामीहरु आउने गरेको बताइएको छ ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्