ओखलढुंगामा कालाजारपछि डेंगुको संक्रमण
ओखलढुंगा : कालाजारको संक्रमणपछि ओखलढुंगामा डेंगुका बिरामी भेटिएका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका २३ जनामा एकैपटक डेंगुको लक्षण देखिएको हो। सुनकोसी किनारका क्षेत्रमा डेंगु फेला परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्। यसअघि यो क्षेत्रमा कालाजार देखिएको थियो।
डेंगु भेटिएपछि चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्दा २३ जनामा लक्षण देखिएको सीडीओ गणेश आचार्यले बताए। उनले बिरामीको किट परीक्षण गरेर संक्रमणको स्टेज पत्ता लगाइरहेको जानकारी दिए। जिल्ला अस्पताल रुम्जाटार तथा मानेभञ्ज्याङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखसहितको टोलीलाई आचार्यले प्रभावितस्थलमै लगेर छलफल तथा उपचारमा सतर्कता अपनाउन निर्देशन दिए।
जिल्ला अस्पतालका अनुसार २ जनामा सामान्य तथा अन्यमा संक्रमण अघिल्लो स्टेजमा प्रवेश गर्ने अवस्थामा छ। उनीहरूको उपचार भइरहेको छ। निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खाना अरुचि हुने र पेटमा समस्या आउन थालेपछि उदयपुर घुर्मीस्थित निजी पोलिक्लिनिकमा जँचाउँदा उनीहरुमा डेंगु देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए। कालाजारबाट डराइरहेका स्थानीयमा डेंगु देखिनु स्वास्थ्य सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको मानेभञ्याङ गाउँपालिका–२ का अध्यक्ष उमेश कार्कीले बताए। उनले डेंगुको संक्रमण रोक्न सबै पक्ष सजग हुनुपर्नेमा जोड दिए।
स्वास्थ्य चौकी हर्कपुरका अनुसार टोक्सेलका १० जनामा पहिलो चरणको संक्रमण देखिएको थियो भने पछि १३ जनामा देखिएको छ। ती सबै स्वास्थ्य संस्थामा सामान्य उपचार गरेर घरमै आराम गरिरहेका थिए। स्वास्थ्य चौकी इन्चार्ज निर्मला दाहालका अनुसार केही उपचारका लागि अन्यत्र गइसकेका छन्। गर्मी हुने, राजमार्ग छेउ र कोसीको किनार क्षेत्रका बासिन्दामा संक्रमण देखिएको हो।
ओखलढुंगाको हर्कपुर नजिकैको उदयपुरको घुर्मी बजारमा पनि डेंगु फैलिएको छ। त्यहाँ ३ जनामा संक्रमण फेला परेको छ। संक्रमण फैलिन नदिन जनचेतना जगाउने काम भइरहेको बताइए पनि संक्रमण फैलिन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। मानेभञ्याङ र उदयपुरको घुर्मीलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रण अभियान चलाउन स्थानीयको माग छ।
डेंगुको संक्रमणपछि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी, मानेभञ्याङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालसहितको टोलीले अनुगमन गरेको थियो। सीमामा सर्तकता अपनाइएको, औषधि उपचार, लामखुट्टे नियन्त्रण तथा जनचेतना फैलाउने काम भइरहेको प्रमुख सुवेदीले बताए। टोक्सेल र घुर्मी सिद्धिचरण लोकमार्गमा पर्ने गर्मी हुने ठाउँ हुन्।