जंक फुड खुवाएर आफ्नो सन्तानलाई धोका दिँदै हुुनुहुन्छ कि ?
काठमाडौँ, असोज १७ गते । बालबालिकाले खाना खाँदैन भनेर जङ्क फुड अर्थात् पत्रु खाना खुवाउनु त भएको छैन ? छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि सहरसम्मको समस्या भएको पोषणविद् डा. अरुणा उप्रेतीको अनुभव छ ।
चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थकर र अखाद्य छन् भन्ने । पछिल्लो समय पाकेटको खानेकुरा अत्यधिक रूपमा खाइने र खुवाइने गरिन्छ । पोकेटको खाना स्वस्थकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छोराछोरीको स्वास्थ्यप्रति बेवास्ता गरेको डा. उप्रेतीको अनुभव छ ।
उहाँका अनुसार चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो, जसले सुस्तसुस्त शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसला पनि हानिकारक हुन्छन् । यसमा अजिनामोटो हुन्छ, जसले गर्दा हाडजोर्नी कमजोर हुनुका साथै कहीँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने सम्भावना रहन्छ । आयुर्वेदिक चिकित्सक तथा पोषणविद् डा. रुवि वज्राचार्यले पनि बालबालिकालाई पत्रु खानाको बानी आमाबुवाले गर्दा नै पर्ने जानकारी दिनुभयो । खाना खाएन भने चाउचाउ, लेज खाऊ भनेर माया गर्ने तर त्यही माया पछि उनीहरूको स्वास्थ्यमा कति असर पर्छ भन्ने हेक्कासमेत हँुदैन । उहाँ भन्नुहुन्छ, “बालबालिका धेरै रमाएर जन्मदिनमा केक काट्छन् तर त्यही केकले कति रोग निम्त्याउँछ भने थाहा हँुदैन । केकमा गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले खराब हो । ” डा. वज्राचार्य थप्नुहुन्छ, “मानव स्वास्थ्यका लागि चिनी एकदमै ठूलो शत्रु हो, चिनीले स्वास्थ्यमा ठूलो समस्या पारेको छ । चिनीले मधुमेहजस्ता दीर्घकालीन समस्या ल्याउँछ । पाकेटको खानाले बच्चाको मानसिक, शारीरिक, संवेगात्मक विकासमा रोक लगाउनका साथै विभिन्न रोग पनि निम्त्याउँछ । ”
बालबालिकालाई पत्रु खानाको बानी हटाउनु छ भने परिवारका सदस्य तथा अभिभावकले नै आफ्नो बानीमा सुधार गर्नुपर्ने उहाँको धारणा छ । डा. उप्रेती पनि भन्नुहुन्छ, “जबसम्म आमाबुवाले पत्रु खाना खान प्रेरित गर्छन्, त्यो बेलासम्म बालबालिकाले कहिल्यै घरको खाना रुचाउँदैन । ” “घरको खाना खाएन भने एक दिन खाँदैन, दुई दिन खाँदैन तर तेस्रो दिन खान्छ”, उहाँले प्रस्ट पार्दै थप्नुभयो, “स्वस्थकर खाना खानमा अभिभावकले नै प्रेरित गर्नुपर्छ । ” डा. उप्रेतीले आफ्नो अनुभव सुनाउँदै स्पष्ट पार्नुभयो, “तयारी खानामा निर्भर रहेर अति कुपोषणको शिकार भएकी अछाम जिल्ला चण्डिका गाविसकी एक बालिका हिँड्न सकेको थिइन् । के ख्वाउनु हुन्छ भन्ने प्रश्नमा तीन वर्षको उमेरमा दूध चुसाइरहनुपर्छ, चाउचाउ र बिस्कुटबाहेक अरू केही खान्न । ”
यो कुरा सुनेपछि पत्रु खानाले कतिसम्म जग गाडिसकेको छ भन्ने स्पष्ट हुन्छ । तीन वर्ष पुगे पनि राम्ररी बोल्न सक्दिनन्, हिँड्न सक्दिनन् । ‘पत्रु खाना’ भनेको मानिसलाई चाहिनेभन्दा बढी क्यालोरी भएका र अति आवश्यक पर्ने भिटामिनलगायतका तŒव प्रायः नभएका वस्तु हुन् । डा. उप्रेतीका अनुसार ती पत्रु खानामा फ्राइड चिकेन, केक, चिजबल, चाउचाउ आदि जङ्क फुड पर्छन् ।
पत्रु खानाले शरीरको तौल बढाइ सुन्दर शरीर पनि भद्दा हुन पुग्छ । आलस्यता बढ्ने, फुर्ति हराउने, खुट्टाहरू दुख्ने समस्या सुरु हुन्छ । “साथै तौल बढेपछि रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा पनि समस्या उत्पन्न हुने छ”, डा. उप्रेतीले स्पष्ट पार्नुभयो ।
यस्तै नुनको मात्रा पनि निकै बढी हुन्छ । दालमोट, चिप्सहरू, भुजिया, पापड आदिमा नुनको मात्रा हामीले दैनिक रूपमा घरमा खाने खानाको भन्दा निकै बढी हुन्छ । यसले उच्च रक्तचाप वृद्धि भई मुटुलाई असर गर्ने जानकारी पनि उहाँले दिनुभयो । पछिल्लो समय बालबालिकालाई कब्जियत र पाइल्सको समस्या देखिएको जानकारी दिँदै डा. वज्राचार्यले यसको कारण हो पत्रु खाना । बेलायती अखबार ‘गार्जियन’ले हाम्रा भान्छामै उपलब्ध भिटामिन, खनिज र अन्य पौष्टिक तŒवले भरिएका खानेकुरा छाडेर बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेयहरू बढी मात्रामा खुवाउँदा केटाकेटीको हुर्काइमै असर पर्ने अध्ययनले देखाएको छ ।
सामान्य सिटामोलसमेत नपाइने नेपालका अति दुर्गम गाउँबस्तीमा समेत यतिबेला यस्ता पत्रु खानेकुरा सजिलै भेटिने गरेका छन् । तीमध्ये केही नेपालमै बनेका हुन्छन् भने केही अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका पाकेट बन्द खानेकुराका रूपमा भेटिन्छन् ।गोरखापत्रबाट