Logo
|
Monday 28th October 2024
Logo

epaper

सेती अस्पतालका मेडिकल सुपरिडेन्ट डा. पाण्डेयविरुद्ध अख्तियारमा उजुरी



धनगढीको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डा. हेमराज पाण्डेयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
अस्पतालमा कानुनविपरित कर्मचारी राखेको, आवासमा मनोमानी गरेको र आर्थिक अनियमिता गरेको भन्दै आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा छानबिन गर्न मागसहित कारबाहीका लागि उजुरी परेको हो । धनगढी उपमहानगरपालिकाका जयराज अवस्थीले मेसु डा. पाण्डेय र लेखा अधिकृत मदनसिंह महराको विरुद्धमा अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीमा दुवैजनाको मिलेमतोमा अस्पतालको शाख घटाउने गरी गतिविधि सञ्चालन गरेकाले छानबिनसहित कारबाहीको माग गरिएको छ । धनगढीबाहिरका डाक्टर पर्याप्त आवास नहँुदा भाडामा बस्नु परेको अवस्थामा मेसु पाण्डेयले सरकारी आवासमा ताला लगाई आफू निजी निवासमा बस्ने गरेको, मनपरी ढंगले आवास वितरण गर्ने गरेको, अस्पताल हाताभित्र सञ्चालनमा रहेका निजी मेडिकललाई हटाउन पटकपटक ताकेता हुँदासमेत आर्थिक प्रलोभनमा परी नहटाएको, आर्थिक अनियमितता गरेको लगायतका आरोप लगाइएको छ ।
मेसु डा. पाण्डेयले अस्पलात सुदृढीकरण निर्देशिका २०७६ विपरीत एकलौटी रूपमा आफ्ना नातेदार तथा नजिकका मान्छेलाई चिकित्सक लगायतका कर्मचारी भर्ना गरेको समेत उल्लेख छ । निर्देशिकामा स्पष्ट रूपमा कर्मचारी नियुक्त गर्दा अस्पताल विकास समितिको निर्णयबमोजिम गर्नुपर्ने उल्लेख छ । उजुरीमा डा. पाण्डेयले आमा सुरक्षा कार्यक्रममा समेत खुला प्रतिस्पर्धा नगराई आफ्नी भाइबुहारी जानकी पाण्डेय र लेखा अधिकृत महराकी साली लक्ष्मी साहुलाई स्टाफ नर्समा नियुक्त गरेको आरोप छ ।
अस्पतालको महत्वपूर्ण जिम्मेवारीमा भ्रष्टाचारको आरोप लागि ७ वर्ष निलम्बलमा परेका तथा अपहरणको नाटक गरी आफन्तबाटै १५ लाख रमक फिरौती मागेका जगत सिंहलाई महत्वपूर्ण फाँट स्टोरको जिम्मा दिइएको आरोपसमेत उजुरीमा उल्लेख छ । डा. पाण्डेयले सूचीदर्ता विना नै छपाई, मसलन्द तथा अन्य सामान खरिद गर्ने गरेको, कपडा धुलाई गर्ने लाखांैका मेसिन थन्काएर धोवीसँगको मिलेमतोमा बाहिरबाट काम गराउने गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उनलाई रंगरोगन तथा मर्मतका नाममा करोडौं रकम हिनामिना गरेको समेत आरोप लागेको छ । ३० लाखको खानेपानीको योजनाका ठेकेदारलाई काम सम्पन्न नहँुदै भुक्तानी दिएको समेत मेसु डा. पाण्डेय र लेखापाल महरालाई आरोप लागेको छ । समायोजनमा गइसकेका कर्मचारीलाई समेत अस्पतालमै रोक्न सिफारिस गर्ने गरेका मेसु पाण्डेयले अस्पलातलाई भन्दा आफ्नो निजी मेडिकललाई बढी प्राथमिकता दिने गरेको आरोपसमेत उजुरीमा लगाइएको छ । मेसु पाण्डेयले रिटायर्ड डा. विसनसिंह बोहरा र सरुवा भएका डाक्टर पदम शर्मालाई आवास उलपब्ध गराइरहेकोले बहालपवाला स्वास्थ्यकर्मीहरूले भाडामा बस्नुपर्ने बाध्यता रहेको समेत उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्