Logo
|
Thursday 9th December 2021
E-paper Magazine

मुटुरोग विरुद्धको लडाईंमा एक्यवद्धता

प्रा.डा. दिवाकर शर्मा



कार्डियोभास्कुलर रोग नम्बर वन किलर हो । यसबाट विश्वमा एक तिहाइ मानिस मर्ने गरेका छन् । विश्वमा मस्तिष्कघातको भन्दा हृदयघातबाट मृत्यु हुनेहरुको संख्या बढी छ । नेपालमा हृदयघात र मुटुको नसाको रोग (कोरोनरी आर्टरी डिजिज) अत्यधिक रुपमा बढिरहेको छ । विगतमा उमेर पुगेकाहरुमा हृदयघात हुने गरेकोमा अहिले आफ्नो घर परिवारको जिम्मेवारी लिएका युवा उमेरका व्यक्तिलाई समेत यसले आक्रमण गरिरहेको छ । हृदयघातबाट हुने मृत्यु डरलाग्दो छ । एक तिहाई हृदयघात भएकाहरु अस्पताल पुग्न पाउँदैनन् । अस्पताल पुगेका १० प्रतिशतलाई बचाउन सकिदैन ।
के गर्ने ?
सयौं वर्षदेखि पृथ्वीको भित्री भागमा उर्जा जम्मा भएपछि एकदिन भुकम्प गएजस्तै हो हृदयघात । विभिन्न कारकतत्वले शरीरभित्र बिस्तारै हृदयघातको परिस्थिति तयार गर्दै जान्छ । बर्षौंदेखिको अस्वस्थ्यकर खानपान र जीवनशैलीले मुटुका रक्तनलीहरुमा बोसोजन्य पदार्थ बढाउँदै जान्छ । उमेर, लिंग, वंशाणुगत समस्यालाई रोक्न सकिदैन । जीवनशैली परिवर्तन गरेर हृदयघातलाई रोकथाम गर्न सकिन्छ । चुरोट सूर्तिको सेवन त्याग्ने, उच्चरक्तचाप, मधुमेह, कोलेस्टेरोल, शारीरिक तौल, तनाव, अत्यधिक चिल्लोको सेवन कम गर्नुपर्छ । त्यसैले मुटु रोग लाग्न नदिन व्यक्ति, परिवार, समाज र राष्ट्र नै सचेत हुनुपर्छ र मुटु रोगविरुद्धको लडाँईमा एक्यवद्धता जनाउनुपर्छ ।
कसले कस्तो भूमिका निर्वाह गर्ने ?
व्यक्ति
एउटा व्यक्तिले नियमित एक्सरसाइज गर्ने, सुर्ति चुरोट सेवन नगर्ने, पर्याप्त फलफूल र सागसब्जीको सेवनमा जोड दिने, चिल्लो र बोसोयुक्त खाना कम गर्ने, बेला बेलामा शारीरिक जाँच गराउने, उच्चरक्तचाप, मधुमेह, कोलेस्टेरोल नियन्त्रणमा राख्ने प्रण गर्नुपर्छ ।
परिवार
एउटा गृहिणीले भान्सामा स्वस्थ्य खाना उपलब्ध गराउने, नुन तेल, बोसोयुक्त खानेकुरा कम गर्ने, बालबालिकालाई जंक फूड नदिने, शारीरिक व्यायामको वातावरण मिलाउनुपर्छ ।
चिकित्सक
चिकित्सकले रोगको उपचार गर्ने भएपनि रोग लाग्न नदिने जोखिम कारकतत्वहरुबारे बिरामीलाई सचेत गराउनुपर्छ । यसले सम्भावित खतराबाट बिरामीलाई जोगाउन मद्धत पुग्छ ।
पत्रकार
हाम्रो समाजमा स्वास्थ्य सम्बन्धि धेरै जानकारी नभएकाले पत्रकारहरुले जनचेतना जागृत गर्न सक्रिय भूमिका निर्वाह गर्न सक्छन् ।
राज्य
स्थानीय निकायदेखि केन्द्रिय सरकारसम्म मुटु स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ । स्थानीय निकायले खेलकुदका लागि खुला मैदान, पेटीलगायत हरित वातावरण निर्माण गर्नुपर्छ । खाद्य पदार्थको गुणस्तरबारे अनुगमन गर्नुपर्छ । रेष्टुरेष्टहरुमा स्वस्थ्यवद्र्धक खानेकुरा उत्पादन भएनभएको अनुगमन गर्नुपर्छ । ठाउँ ठाउँमा उच्चरक्तचाप, मधुमेह, कोलेस्टेरोल सजिलै जँचाउनसक्ने सुविधाको व्यवस्था मिलाउनुपर्छ ।
यस प्रकारको अवस्था सृजना भएमा हृदयघात, कोरोनरी आर्टरीलगायत मुटुसम्बन्धि रोग न्युनिकरण गर्न मद्धत गर्छ । युरोप अमेरिकातिर १९६०—७० को दशकतिर मुटुको समस्या एकदमै धेरै थियो । जनचेतना अभिवृद्धिलगायतका रोकथामजन्य गतिविधि बढाउँदै लगेकाले यी देशहरुमा मुटुरोगको प्रकोप घटेको छ ।
सेकेन्ड टोवाको चिनी
चिनीलाई आजकल सेकेन्ड टोवाको भनिन्छ । त्यसैले स्वास्थ्यका लागि चिनी हानिकारक छ । चिनी शरीरमा चाँडै एब्जर्भ हुने भएकाले मोटोपना र ट्राइग्लिसेराइड बढाउँछ । तौल बढि भएपछि ग्लुकोज मेटाबोलिजममा परिवर्तन हुने भएकाले दीर्घकालमा मधुमेहलगायतका नसर्ने रोगहरु हुने अत्यधिक सम्भावना रहन्छ । भुँडी बढ्नुलाई विगतमा सम्पन्नताको प्रतिकका रुपमा लिने गरिन्थ्यो तर अहिले यो रोगको घर भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययनले ९८ प्रतिशत नेपालीले आवश्यक मात्रामा सागसब्जी र फलफूलको सेवन नगर्ने देखाएको छ । त्यसैले धेरै कार्बोहाइड्रेटको सेवन नगर्ने, प्रोटिनलाई बढावा दिने, फाइबरयुक्त खाना, सागसब्जी, फलफूलको सेवनमा जोड दिनुपर्छ । (प्रा.डा.शर्मा ह्याम्स हस्पिटलमा कार्डियोलोजी विभागको प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्