Logo
|
Monday 28th October 2024
Logo

epaper

एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालको पाँचौ वार्षिक सम्मेलन राजधानीमा

स्पाइन सर्जरीसम्बन्धि ५० वटा कार्यपत्र प्रस्तुत



जनस्वास्थ्य सरोकार, ललितपुर । ‘हेल्दी स्पाइन फर हेल्दी लाइफ’ भन्ने मुल नाराका साथ एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालको पाँचौ वार्षिक सम्मेलन राजधानीमा सम्पन्न भएको छ । नोभेम्बर २२ र २३ गते दुई दिनसम्म भएको सो सम्मेलनमा भाग लिन नेपाल भारत, अमेरिका, नर्वे, कोरिया, जापान, अष्ट्रेलिया र बंगलादेशबाट  बढी वरिष्ठ स्पाइन सर्जनहरु (फ्याकल्टी)  आएका थिए ।
सम्मेलनमा ट्रमा (चोटपटक लागेकोे), डिजेनेरेटिभ (हड्डी खिइने), ट्युमर, डिफर्मिटी (ढाड बाङ्गो हुने) र मेरुदण्डमा हुने संक्रमण लगायत स्पाइनसम्बन्धि विषयमा भएका नयाँ खोज र अनुभवहरुबारे ५० वटा कार्यपत्र प्रास्तुत गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा भइरहेका मेडिकल अभ्यास, स्पाइन सर्जरीमा नयाँ नयाँ प्रविधिको प्रयोग कसरी गर्ने र एकअर्काबीच अनुभव साटासाट गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको एसोसिएसनका अध्यक्ष प्रा. डा. रबिन्द्र लाल प्रधानले बताउनुभयो ।
सम्मेलन सुरु हुने अघिल्लो दिन एडल्ट स्पाइनल डिफर्मिटी सम्बन्धि प्री—कार्यशाला गोष्टी सञ्चालन गरिएको थियो । एडल्ट स्पाइनल डिफर्मिटी भन्नाले ५५ देखि ६० वर्ष उमेर नाघेका मानिसहरुलाई ढाड बाँङ्गो हुने देखि मेरुदण्डमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । वयस्क मानिसको भन्दा उमेर पुगेका बृद्धबृद्धाहरुको मेरुदण्डको बनावट, हड्डी र मांशपेसीको अवस्था फरक हुन्छ । त्यसकारण मेरुदण्डको उपचार विधि पनि फरक हुने प्रा. डा. प्रधान बताउनुहुन्छ ।
अहिले संसारभरी नै बृद्धबृद्धाहरुको संख्या दिनानुदिन बढिरहेको छ । नेपालको औसत आयु पनि बढ्दै गइरहेको छ । ‘हामीले अहिले देखिनै आफ्नो मेरुदण्डको राम्रोसँग ख्याल राखेनौँ भने उमेर बित्दै गइसकेपछि यसले धेरै समस्या दिनसक्छ ।’ प्रा. डा. प्रधान भन्नुहुन्छ– ‘नेपालमा अबको दश वर्षपछि सबैभन्दा बढी बृद्धबृद्धाहरुको मेरुदण्डको शल्यक्रिया गर्नुपर्ने अवस्था सृजना हुनेछ ।’ सोही अवस्थालाई मध्यनजर गर्र्दै एडल्ट स्पाइनल डिफर्मिटी कार्यशाला गरिएको उहाँको भनाइ छ । नेपालमा मेरुदण्डको शल्यक्रिया सुरु भएको धेरै भएको छैन । तर मेरुदण्डमा समस्या भएका बिरामीहरुको संख्या भने दिनानुदिन बढिरहेका छन् ।
मेरुदण्डको शल्यक्रिया अत्यन्तै जटिल हुने भइकाले मेरुदण्डको शल्यक्रिया गर्न विशेष किसिमको तालिमप्राप्त स्पाइन सर्जन आवश्यक पर्ने एसोसिएसनका सचिव डा. बिनोद विजुक्छेले जानकारी दिनुभयो । डा. बिजुक्छे भन्नुहुन्छ –‘मेरुदण्डको समस्या भएका बिरामीहरुलाई कसरी उत्कृष्ठ उपचार सेवा दिने भन्ने उदेश्यले सम्मेलन आयोजना गरेका हौँ ।’ संसारमा भएका नयाँ उपचार पद्धती र प्रविधिबारे चिकित्सकहरु सधै अपडेट भइरहनुपर्ने उहाँको भनाइ छ ।
प्रायजसो ढाड र कम्मर दुखेको समस्यालिएर बिरामीहरु उपचारका लागि आउने गर्छन् । यो समस्या उमेरसँग सम्बन्धित छ । डा. बिजुक्छेका अनुसार नशा च्यापिएका, संक्रमण भएका र मेरुदण्डमा क्षयरोग भएका बिरामीहरुको संख्या पनि उस्तै छ । क्षयरोगले ढाड बाँङ्गो हुने, नशा च्यापिने र खुट्टा नचल्ले जस्ता जटिल समस्या सृजना हुनसक्छ । यसका अलावा जन्मजात ढाड बाँङ्गो हुने समस्या जसलाई स्कोलियोसिस भनिन्छ । स्कोलियोसिसको समस्यासमयमै पहिचान गरी उपचार नभएमा मुटु र फोक्सोमा समस्या ल्याउन सक्छ । यसका अलावा चोटपटकले पनि मेरुदण्डमा समस्या ल्याउन सक्छ ।
डा. बिजुक्छे भन्नुहुन्छ – ‘मानिसको औसत आयु बढेसँगै उमेर पनि बढ्दै जान्छ । आयु बढे सँगै मेरुदण्डमा पनि समस्या देखिन थाल्छ ।’ डा. बिजुक्छे थप्नुहुन्छ – ‘मोबाइल र कम्युटरको प्रयोग बढेसँगै जीवनशैली पनि परिवर्तन भइरहेको छ जसले गर्दा शारीरिक अभ्यासमा कमी आएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्