Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मुटुको चाल कम र बढी हुँदा गरिने उपचार



 


जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. रोशन राउत मुटुको चाल गडबडी (कार्डियाक एरिदमिया) र मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्या (सडन कार्डियाक डेथ) को विशेषज्ञ हुनुहुन्छ । डा. रोशनले यस विषयमा क्यानाडाबाट साँढे २ वर्षको फेलोसिप लिनुभएको छ । उहाँ क्यानडाको नियमकारी संस्था रोयल कलेज अफ फिजिसियन एण्ड सर्जन्स अफ क्यानडाबाट बोर्ड मान्यता प्राप्त कार्डियाक एलेक्ट्रोफिजियोलोजीष्ट हुनुहुन्छ । उहाँले धेरैको जटील प्रकारको मुटुको चाल गडबडीसम्बन्धि रोगको सफलतापूर्वक उपचार गर्दै आउनुभएको छ । उहाँ विशेष किसिमको पेसमेकर, सि.आर.टी. जडान गर्नुहुन्छ । थ्री डी मार्फत जटिल प्रकारको रोगको उपचार गर्ने तथा सि.आर.टी जस्तो विशेष पेसमेकर राख्ने उहाँ नेपालको एक मात्र चिकित्सक हुनुहुन्छ ।

मुटुको चाल कम हुँदा गरिने उपचार
मुटुको चाल कम भएर बिरामीलाई रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, छाति दुख्ने, बेहोस हुने, बेहोस भएर ज्यान जानसक्ने खतरा भएमा पेशमेकर राखेर मुटुको कार्यक्षमतालाई सामान्य अवस्थामा ल्याइन्छ । यो छातिको छालामुनि राखिने ब्याट्रीबाट चल्ने एक प्रकारको स्वचालित यन्त्र हो । यसका तारहरु मुटुको कोठाभित्र पु¥याइएको हुन्छ र मुटुको चाल कम हुन थालेपछि यसले स्वचालित काम गरेर मुटुलाई सामान्य गतिमा राख्छ । मुटु आफैंले काम गरेको अवस्थामा चुप लागेर पेशमेकरले व्याकअपको काम गरिरहेको हुन्छ ।
पेशमेकर सिंगल र डुयल गरी २ प्रकारका हुन्छन् । मुटुको तल्लो कोठामा मात्र राख्ने पेश मेकरलाई सिंगल च्याम्बर भनिन्छ । यो एक कोठे पेशमेकर हो । मुटुको तल्लो र माथिल्लो कोठामा राखिने पेशमेकरलाई डुयल च्याम्बर भनिन्छ । यो दुई कोठे पेशमेकर हो । व्यक्तिको मुटुको अवस्था अनुसार एक कोठे वा दुई कोठे राख्ने भन्नेबारे समस्या पहिचान गरेर निक्र्योल गरिन्छ ।
बिरामीलाई के फाइदा हुन्छ ?
यसले सास फेर्न सजिलो, छाति दुख्ने र रिंगटा लाग्ने समस्या कम गर्छ । बेहोस भएर प्रत्यक्ष ज्यान जाने जोखिम बोकेका व्यक्तिहरुलाई बचाउँछ । मुटुको कार्यक्षमतामा सुधार ल्याउँछ ।
मुटुको कार्यक्षमतामा ह्रास ल्याउने कारक
यस प्रकारको समस्या जन्मजात हुनसक्छ । मुटुमा एक प्रकारको इन्फेक्सन (मायोकार्डियोप्याथी) का कारण पनि हुनसक्छ । हृदयघातपश्चात् मुटुको चाल कम हुनसक्छ । बुढ्यौलीपनाले पनि मुटुको चालमा कमी आउनसक्छ ।
पेशमेकरको आयु
पेशमेकरको व्याट्रिको आयु साधारणतया १० वर्षको हुन्छ । त्यसपछि ब्याट्रीमात्र फेर्दा हुन्छ । तार फेर्नुपर्दैन ।
सावधानी
पेशमेकर राखेको व्यक्तिले शुरुको २—३ महिना जति पेशमेकर राखेको भागतिरको हात धेरै चलाउन हुँदैन र १० केजी भन्दा बढीको भारी उठाउन हुँदैन । त्यसपछि सामान्य व्यक्तिले जस्तै सबै काम गर्न सकिन्छ । पेशमेकर राखेका व्यक्तिको सिटी, एमआरआई सबै गर्न मिल्छ । पेशमेकर राखेका व्यक्तिहरुले सबै कुरा खान हुन्छ । के खाने के नखाने भन्ने कुरा व्यक्तिको मुटुको विगतका समस्यामा मुख्य भर पर्छ । पेशमेकरको खानपानसँग सम्बन्ध हुँदैन । यसका साथै घरमा प्रयोग हुने सबै उपकरण चलाउन सकिन्छ । तर हाइपावर हाउसको ट्रान्समिसन लाइन भएको क्षेत्रमा जान हुँदैन किनभने यहाँ विभिन्न किसिमका सिंज्नल प्रवाह हुने भएकाले पेशमेकरलाई प्रभावित गर्नसक्छ । एयरपोर्टमा सुरक्षा जाँचमा प्रयोग गरिने मिटर डिटेक्टरको सम्पर्कमा जान हुँदैन ।
एक कोठे पेशमेकर ठीक कि दुई कोठे ?
दुई कोठे मेशमेकर भएमा मुटुको माथिल्लो कोठा र तल्लो कोठा बीच राम्रो समन्वय भई बिरामीलाई अझ सजिलो बनाउँछ । एक कोठे पेशमेकरमा माथिल्लो कोठा र तल्लो कोठाबीच समन्वय हुँदैन । तर सामान्य मुटु चलाउने काम दुवैले गर्छन् । दुई कोठे पेशमेकर एक कोठेको तुलनामा राम्रो भएपनि सबैलाई दुई कोठे पेशमेकर राख्न जरुरी हुँदैन । मुटुको आवश्यकता छनौट गरेर एक कोठे राख्ने वा दुई कोठे भन्ने निर्णय लिनुपर्छ ।
मुटुको चाल बढी हुँदा गरिने उपचार
मुटुको चाल अत्यधिक बढी भएर ज्यानको खतरा हुने अवस्थामा राखिने विशेष खालको व्याट्रीलाई आईसिडी (इन्ट्राकार्डियाक अटोमेटेड डिफ्युलेटर) भनिन्छ । आईसिडी प्रत्यक्ष व्यक्तिको ज्यान जोगाउने मेसिन हो । मुटुको चाल अत्यधिक भएमा आईसिडीले स्वचालित काम गरेर सम्भावित खतराबाट जोगाउँछ । यसले कि त मुटुलाई अत्यधिक चलाएर सामान्य गतिमा ल्याउँछ वा यसबाट नभएमा इलेक्ट्रिक सक दिएर ज्यान जानबाट बचाउँछ । यस प्रकारको मेसिन मुटुको चाल बढी भएका र हृदयघात भइसकेका तर जोखिममा रहेका व्यक्तिहरुमा राख्ने गरिन्छ । सबैलाई जरुरी पर्दैन ।
बिहानीपख किन मुटु बन्द हुन्छ ?
राति सुतेको बेला, बिहान हिँड्दाहिँड्दै कतिपय व्यक्तिको ज्यान गएको हामीले सुनेका हुन्छौं । यो हृदयघातले मात्र भएको हुँदैन । मुटुको चाल एक्कासी बढी भएर उनीहरुको ज्यान गएको हुन्छ । मुटु बन्द भएको २—४ मिनेटभित्र अस्पताल पुर्याउनुपर्छ । तर सम्भव हुँदैन । धेरै घटनाहरु राति सुतेको बेला बिहानीपख हुन्छ । बिहानीपख मुटुको चाल बढी गराउने हर्मोनहरुको उत्पादन धेरै हुने भएकाले हृदयघात र सडेन मृत्युको सम्भावना रहन्छ ।
कसलाई आईसिडीको जरुरत पर्छ ?
आईसिडी राखेको व्यक्तिको तुलनामा नराखेको व्यक्तिको ज्यान जाने सम्भावना लगभग शत्प्रतिशत हुन्छ । आईसिडी नराखेको व्यक्तिको मुटुको चाल गडबडी भएमा २० जनामध्ये १९ जनालाई संसारका कुनै ठाउँमा पनि बचाउन सकिदैन । तर सम्भावित जोखिम पत्ता लगाएर आईसिडी राखेका २० जनामा १९ जनाको ज्यान जोगिएको विभिन्न अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ । मुटुको तन्तुहरुमा लाग्ने रोग ( इनहेरिटेबल डिजिज) भएका बिरामीहरुको एक्कासी ज्यान जाने खतरा हुन्छ । यस्तो अवस्थाका व्यक्तिलाई आईसिडी राखिन्छ । मुटु सुन्निएर मुटुको काम गर्ने क्षमतामा कमी आउने (कार्डियोमायोप्याथी) लगायतका समस्या भएका व्यक्तिमा आईसिडी राख्नुपर्ने हुनसक्छ । यसरी आईसिडी राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई जनचेतनाको अभाव छ भने कतिपयले मुल्यको दृष्टिकोणले अफोर्ड गर्न सक्दैनन् । यसको मूल्य गंगालाल जस्तो अस्पतालमा पनि आईसिडीको मुल्य ५ लाख र पेशमेकरको १ लाख रुपियाँ पर्छ ।
सिआरटी
यन्त्रमार्फत मुटुको चाल गडबडीसम्बन्धि समस्यालाई उपचार गर्ने पद्धतिलाई सिआरटी (कार्डियाक रि—सिंक्रोनाइजेसन थेरापी) भनिन्छ । मुटुको पम्पिङ क्षमता कम भएको अवस्थामा सास फेर्न गारो हुने, हस्पिटल भर्ना हुनुपर्ने र ज्यान जाने जोखिम बोकेको व्यक्तिलाई सिआरटी राख्नुपर्छ । डिसिंक्रोनाइेसन भएर मुटुको काम गर्ने शक्ति २०—३० प्रतिशतमा झरेक व्यक्तिहरुले पनि सिआरटी राख्नुपर्छ । सिआरटी राख्दाको फाइदा धेरै छ । जस्तोः कुनै मुढा उठाउनुपरेमा दुई जनाले एकैपटक बल नलगाएमा उठाउन गारो हुन्छ । तर दुवैले एकैपटक बल लगाएमा उठाउन सजिलो भएजस्तै हो । त्यसैले २०—३० प्रतिशतको मुटुको काम गर्ने शक्ति कमजोर हुनमा मुटुको दुई वटा पर्खालले एकैपटक काम नगरेर हो । यस्तो समस्यामा तीन कोठे पेशमेकर प्रयोग गर्नुपर्छ । यसको एउटा तार माथिल्लो कोठामा हुन्छ र अर्को तार मुटुको तल्लो २ वटा कोठामा हुन्छ । यो राखेपछि मुटुको सम्पूर्ण भागले एकैपटक काम गर्छ । यो सुविधा गंगालालमा डा. रोशन रावतको टिमले मात्र गर्न सक्छ । ३ वर्षको अवधिमा ५० जनामा सिआरटी राखिसकिएको छ । यसको मुल्य ५ देखि १० लाख रुपियाँसम्म पर्छ । (डा. राउत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, ह्याम्स हस्पिटल र गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्