Logo
|
Friday 19th April 2024
Logo

epaper

मुटुको जटिल शल्यक्रिया




जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. विजय राजवंशी नेपाल मेडिसिटी हस्पिटलमा मुटु, फोक्सो र रगतको नली शल्यक्रिया गर्ने विभागको प्रमुख हुनुहुन्छ । डा. राजवंशीले अमेरिकाको मेयो क्लिनिकबाट कार्डियाक सर्जरीको फेलोसिप गर्नुभएको हो । त्यसपछि एल युनिभर्सिटी स्कुल अफ मेडिसिनबाट बाइपास भाल्भ र एओर्टीक सर्जरी (मुल रगतनलीको शल्यक्रिया) मा स्पेशलाइज गर्नुभएको थियो । एओर्टिक सर्जरीमा शरीरको तापक्रमलाई १८ डिग्रीमा घटाएर ब्लड सर्कुलेसन बन्द गरेर शल्यक्रिया गरिन्छ । ओपन हार्ट सर्जरीअन्तर्गत पर्ने यो जटिल शल्यक्रिया हो ।
घटना नं.१
हस्पिटल ल्याइएको २ हप्ताको बालकको मुटुभित्र ट्युमर थियो । त्यसले सामान्यत मुटुको मुल नशामा रगत सञ्चार हुन बाधा गरिरहेको थियो । त्यसलाई निकालेर जाँच गर्दा लाइपोमा अर्थात् बोसो ट्यूमर पहिचान भयो । शल्यक्रिया गरेर बालकको ज्यान जोगाइयो । यो रिपोर्ट संसारमा अहिलेसम्म कही भएको थिएन । यसबारे युरोपियन जर्नलले प्रकाशित गर्यो । हामीले समिट गरेको १ महिना भित्र यो प्रकाशित भएको थियो ।
घटना नं.२
३ वर्षअघि हस्पिटल ल्याइएको सुदुर पश्चिम डोटीको ६ वर्षका एक बालकको मुटुको मूल रगतको नली पूर्ण रुपमा सुकेको थियो । हाम्रो छातीभित्र हुनुपर्ने मुख्य रगतनली एब्नर्मल डेभलप्मेन्ट भएर घाँटीसम्म पुगेको थियो । यसले हिँड्दा खुट्टा गल्ने, उच्चरक्तचापको समस्या थियो । कम्पलेक्स सर्जरी गरेर उपचार भयो । अहिले उनी फलोअपमा छन् ।
घटना नं. ३
२ वटा मूल रगतको नली भएका ११ वर्षका बालकको शल्यक्रिया गरेर सामान्य अवस्थामा ल्याइएको थियो ।
घटना नं.४
हालसालै ७८ वर्षको बृद्धको २ वटा भल्भ फेरेको र सोही बिरामीको ३ वटा बाइपास सर्जरी गरियो ।
घटना नं.५
भर्खरै भक्तपुरका ६५ वर्षीय एक लोग्ने मानिसको मुटुको मुल रक्तनली च्यातिएर आन्द्राको नली र मिर्गौलामा जाने नलीहरुसमेत ब्लक भएको थियो । जटिल तर सफल शल्यक्रियापश्चात् उनलाई बचाउन सफल भयौं ।
घटना नं.६

भर्खर मात्र काठमाडौंका ७९ वर्षका मिर्गौला प्रत्यारोपण गरेका एक बृद्ध बिरामीमा एओर्टिक भल्वको बाईपास सर्जरी सफल भएको छ ।
प्राय सफल भएका भन्दा पनि असफल भएका घटनाको याद बढी हुने रहेछ । यसले आफ्नो दक्षतामा बढी निखार ल्याउने गर्छ ।
अस्पतालमा जटिल प्रकारका धेरै शल्यक्रिया भइरहेका छन् । हार्ट ट्रान्सप्लान्ट र हार्टफेल हुँदा मुटुलाई सपोर्ट गर्ने भेट्रिकुलर असिस्ट डिभाइस राख्ने शल्यक्रियाबाहेक नेपालमा प्राय सबै शल्यक्रिया सम्भव भइरहेको छ । तर दुर्भाग्यवश यी सबै काठमाडौं केन्द्रित छन् । धुलिखेल, धरान, विराटनगरमा अलिअलि शुरु गरिएको भएपनि यसले राम्रो गति लिन सकेको छैन । यसप्रकारका शल्यक्रिया गर्ने प्रविधि र उपकरण महँगो हुने भएकाले इन्भेस्टर र स्टेकहोल्डरले लगानी गर्ने इच्छा देखाउँदैनन् । यसको साथै यो जटिल शल्यक्रिया हो ।
राजधानीबाहिर यसले गति लिन सकेको छैन । जटिल शल्यक्रिया गर्दा जोखिम धेरै हुन्छ । अस्पतालमा राम्रो टिमवर्क भएकाले हामीलाई कुनै समस्या परेको छैन । जटिल शल्यक्रियाका लागि आवश्यक सबै विषयका स्पेशलिष्टको व्याकअप चाहिन्छ । जस्तोः कार्डियोलोजिष्ट, कार्डियाक एनेस्थेसिया, स्पेस्लाइज इन्टेन्सिभ केयरटिम, स्पेशलिस्ट इन्टेन्सिभ केयरटिम , नर्सिङ टिम आदिको भूमिका महत्वपूर्ण हुन्छ । नेपालमा मुटुको भल्भको समस्यामा धेरै ओपनहार्ट सर्जरी हुने गर्छ । बाथमुटु रोग र डि—जेनेरेटिभ (उमेर बढ्दै जाँदा भल्भ खिइने), जन्मजात मुटुको भल्भको समस्याका कारण हुनेगर्छ । कतिपय जन्मजात मुटुको समस्यामा पनि शल्यक्रियाबाहेक अर्को विकल्प हुँदैन । हृदयघातमा वाइपास सर्जरी पनि गरिन्छ । एओर्टिक सर्जरी, मुटुलाई छोप्ने झिल्ली सम्बन्धि रोग, मुटुको ट्युमर, आदिमा शल्यक्रियाको जरुरत पर्दछ । यस्ता शल्यक्रियापश्चात् समस्या दोहोरिने सम्भावना निकै कम हुन्छन् । तर स्वस्थ्य खानपान र जीवनशैली, उच्चरक्तचाप, मधुमेह, कोलेस्ट्रोल नियन्त्रण गर्न नसकेको अवस्थामा बाइपास सर्जरी गरेको रक्तनलीमा पुन ब्लक हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोहोर्याएर पुनः बाइपास गर्नुपर्ने हुनसक्छ । जन्मजात सम्बन्धि कतिपय मुटु रोगमा दोस्रो र तेस्रो अपरेशन पनि गर्नुपर्ने हुनसक्छ । मेरो अध्ययनको सिलसिलामा अमेरिकाको मेयो क्लिनिकमा दशौं पटक सम्म पनि मुटुको शल्यक्रिया भएको थियो । जन्मजात समस्यामा रिपिटेड भइरहन्छ । त्यसैले रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ । आफ्नो जीवनशैली र नियमित परीक्षण गर्नु एकदमै महत्वपूर्ण हुन्छ । जन्मजात रोगहरुमा पेडियाट्रिसियनलाई देखाएर बेलैमा उपचार शुरु गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्