Logo
|
Monday 28th October 2024
Logo

epaper

चितवनमा तरकारी र फलफूलमा विषादी परीक्षण प्रयोगशाला



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  जिल्लामा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मंगलबारदेखि शुरु गरिएको हो। प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ\दशवटा फरक–फरक ठाउँबाट नमुना लिएर परीक्षण गर्नेछ। एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्छ। परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ। यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्छ।  ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ।

प्रदेश सरकारले चितवनमा जस्तै हेटौँडा, ललितपुर, नुवाकोट र काभ्रेको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामग्री हस्तान्तरण गरेको छ। पाँच स्थानका लागि एक करोड ८० लाखको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायनलगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगन्द्रकुमार कार्कीले जानकारी दिए।

प्रयोगशालासँग प्रतिघण्टा तरकारी र फलफूलको ३० वटासम्म नमुना परीक्षण गर्ने क्षमता रहेको छ। पाँचवटै प्रयोगशालाका लागि तीन–तीन जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम दिइएको छ भने दुई–दुई जना स्वयंसेवकलाई खटाउने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्