Logo
|
Monday 28th October 2024
Logo

epaper

महानगरका मिर्गाैला बिरामीलाई सैनिक अस्पतालमा नि:शुल्क हेमोडाइलासिस



महानगरका मिर्गाैला बिरामीलाई सैनिक अस्पतालमा नि:शुल्क हेमोडाइलासिस

जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  काठमाडौं महानगरका मिर्गौलारोगीहरूले अब सैनिक अस्पतालबाट निशुल्क हेमोडायलाइसिस सेवा पाउने भएका छन्।महानगरपालिका र नेपाली सेनाले मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्न सहकार्य गरेका हुन्।

बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे। वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने सो सेवा लिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ।

नगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरेको बताए। ‘महानगरले अस्पताल खोल्ने योजना बनाएको छ, त्यो तत्काल सम्भव छैन, त्यसैले अहिले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौँ’, उनले भने।

प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए। उनले नेपाली सेना स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार रहेको जानकारी दिए।

पहिलो चरणमा एक करोड ५० लाख सहयोग

यसका लागि महानगरपालिकाले शुरुमा एक करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ। हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ। माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः  एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरपालिकाको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायत स्रोतसाधन थपेपछि सेवा विस्तार गर्दै लगिने कार्यक्रममा प्रधानसेनापति थापाले जानकारी गराउनुभयो। उक्त सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्