Logo
|
Monday 28th October 2024
Logo

epaper

अभावै अभावबीच भरतपुर अस्पताल



चितवन : केन्द्रीय अस्पतालको रूपमा स्तरोन्नति भए पनि  भरतपुर अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन ।

६०० शय्या रहेको अस्पतालमा पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी अभाव छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए।

हाल अस्पतालमा १७५ जनाको दरबन्दी छ। तर १४५ जना मात्र कार्यरत छन्। ४० जना चिकित्सकको दरबन्दी भए पनि हाल २६ जना मात्र छन्।

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन्। ४०८ जना समितिका कर्मचारी कार्यरत छन्। तीमध्ये ४९ जना चिकित्सक हुन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक, नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिए।

चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउँछन्। अस्पतालमा वार्षिक तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क छ। एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरंग सेवा लिन आएको तिवारीले जानकारी दिए।

अस्पतालमा १९ वटा विभाग छ। भरतपुर अस्पताल काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पताल मानिन्छ। अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए।

गत फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्