Logo
|
Monday 28th October 2024
Logo

epaper

औषधि व्यबस्था विभागमा सहायता कक्ष (हेल्प डेस्क) को स्थापना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले १ सय दिन पुगेको उपलक्ष्यमा बिजुलीबजार स्थित औषधि व्यबस्था विभागमा सहायता कक्ष (हेल्प डेस्क) को स्थापना गरी सञ्चालनमा ल्याएको छ । जिल्ला शाखा र विभागको समन्वयमा औषधि व्यवसायी नविकरण, नयाँ दर्ता, अनलाईन सेवा तथा भैपरी आउनसक्ने अफ्ट्याराहरुलाई सहजरीकरण गर्न हेल्प डेस्कको स्थापना गरिएको हो । हेल्प डेस्कमा हप्तामा ६ दिन कार्यालय समयसम्म नेपाल औषधि व्यवसायी संघको एक जना कर्मचारीको व्यवस्था गरिएको छ । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष के.सी.ले संघद्धारा आयोजित एक कार्यक्रमबीच सो सहायता कक्षको उद्घाटन गर्नुभयो । नेपाल औषधि व्यवसायी संघमा आवद्ध नेपालभरका औषधि व्यवसायी नविकरण, नयाँ दर्ता र भैपरीआउने समस्या समाधान गर्नका लागि औषधि व्यवस्था विभागसँग सहकार्य गरेर सहायता कक्ष सञ्चालन गरिएको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले बताउनुभयो । विगतका दिनमा व्यवसायीहरुलाई कम्पनी दर्ता र नविकरण गर्न बाहिर धाउनुपर्ने अवस्था थियो । सहायता कक्षको स्थापना भएपछि औषधी व्यवसायीहरुलाई सहज हुने अपेक्ष गरिएको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो –‘सहायता कक्षबाट नयाँदर्ता र नविकरणका लागि आवश्यक पर्ने फोटो स्क्यानिङ, टिकट, फोटोकपी र अनलाईन सेवा सहजै प्राप्त गर्न सकिनेछ ।’  काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले औषधि व्यवसायी र आम जनताको सेवा सुविधालाई मध्यननजर गर्दै वेवसाइट र मोबाइल एप्लिकेसन निर्माण गर्न लागिएको बताउनुभयो । उक्त वेवसाइट र एपमा व्यवसायीहरुले आफ्ना डाटा अपलोड गर्न सक्ने छन् भने सदस्यता नभएकाहरुले मेडिकल रिर्पोट एपमा फोल्डर बनाएर अपलोड गर्न सक्ने छन् । यस एप्सले १० वर्षपछि पनि आफुले कुन डाक्टरसँग औषधी, उपचार गरेको थियो, के भएको थियो भन्ने एप्सले जानकारी गराउने बताउनुभयो । वेवसाइट र एप्स निर्माणको काम सुरु भइसकेको र सञ्चालनमा आउन करिब ६ महिना जति लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं शाखाले व्यवसायी सदस्यहरुलाई शारीरिक समस्या आइपरेको खण्डमा आर्थिक सहुलियत उपलब्ध गराउन अक्षयकोषको समेत स्थापना गरेको छ । ५० हजारबाट सुरु गरिएको सो अक्षयकोष वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकालभित्र ठूलो धनराशी जम्मा हुने लक्ष्य रहेको श्रेष्ठले स्पष्ट पार्नुभयो । हाल काठमाडौँ जिल्लामा मात्र करिब दुइ हजारको हाराहारीमा औषधि पसलहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्