Logo
|
Monday 28th October 2024
Logo

epaper

चिकित्सकलाई ‘भूत विद्या’ पढाउँदै भारत



भारतको एउटा प्रतिष्ठित विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनमा कुनै ‘भूत देखेको वा भूतको वशमा’ परेको बताउने बिरामीहरूलाई उपचार पद्धति सिकाउने प्रमाणपत्र तहको पाठ्यक्रम तयार गरेको छ।

बनारस हिन्दू विश्वविद्यालय (बीएचयु) ले छ महिने भूत विद्या पाठ्यक्रमको पठनपाठन जनवरी देखि सुरु गर्दैछ। उक्त पठनपाठनको जिम्मा आयुर्वेद विभागलाई दिइएको छ। आयुर्वेद भनेको औषद्योपचारसम्बन्धी प्राचीन हिन्दू प्रणाली हो।

बीएचयुका एकजना अधिकारीले समाचार संस्था आइएएनएससँग कुरा गर्दै विश्वविद्यालयमा भूत विद्या नामक छुट्टै एकाइ गठन गरिएको बताए।

भूत विद्यामा के पढाइन्छ ?
अधिकारीहरूले त्यो पठनपाठन प्यारानर्मल वा असाधारण घटना भनिने साइकोसोमाटिक वा मनोशारीरिक रोगका विषयहरूमा केन्द्रीत हुने बताएका छन्।

‘भूत विद्याले खासगरि मनोशारीरिक अस्वस्थता, वा अज्ञात कारणले देखिएको रोग तथा मन र मस्तिस्कको अवस्थासँग जोडिएको बिमारीबारे चासो राख्नेछ,’ आयुर्वेद विभागका प्रमुख यामिनीभूषण त्रिपाठीले बताइन्।

उनका अनुसार यस्तो पाठ्यक्रम राख्ने बीएचयु देशकै पहिलो विश्वविद्यालय हो, जहाँ भूतप्रेतसम्बन्धी रोगव्यादीलाई आयुर्वेदको माध्यमबाट उपचार गराउन चिकित्सकहरूलाई सिकाइनेछ।

मानसिक स्वास्थ्य
सन् २०१६ मा मानसिक स्वास्थ्य एवम् न्युरो विज्ञानसम्बन्धी राष्ट्रिय प्रतिष्ठान निम्हान्सले गरेको अध्ययन अनुसार करिब १४ प्रतिशत भारतीयहरू मानसिक रूपमा अस्वस्थ्य छन।

सन् २०१७ मा विश्व स्वास्थ्य सङ्गठनले २० प्रतिशत भारतीय जीवनको कुनै खण्डमा डिप्रेसनको सिकार हुने गरेको अनुमान गरेको थियो।

तर एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा केवल ४,००० जनामात्र मानसिक स्वास्थ्य सेवा प्रदायकहरू छन्। साथै यस विषयमा भारतमा निकै कम जनचेतना छ।

मानसिक स्वास्थ्यसँग जोडिएको व्यापक सामाजिक हेय भावका कारण थोरै मानिसमात्र अघि सरेर यसको उपचार खोज्दछन्। विशेषगरि ग्रामीण तथा विपन्न भारतीयहरूले यस्तो बखत स्थानीय धामीझाँक्रीकै शरण पर्छन्।

त्यसैले सरकारी विश्वविद्यालय बीएचयुले भूत विद्या सिकाउन लागेको समाचारबारे सामाजिक सञ्जालमा कतिपयले प्रश्न उठाएका छन्। उनीहरूले मानसिक स्वास्थ्यको विषयमा औषधि तथा पुनर्स्थापना केन्द्र बढ्ता महत्त्वपूर्ण भएको औँल्याएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्