Logo
|
Monday 28th October 2024
Logo

epaper

जन्मिएको भोलिपल्टै पाठेघरको शल्यक्रिया



काठमाडौँ, १४ पुस । थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन् । शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन् । बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए । कसैले शिशुको पेटमा ठूलो ट्युमर रहेको अनुमान गरे ।

प्रसूति गृहमा उपचार नहुने भएपछि शिशुलाई धापासीस्थित ग्रान्डी अस्पताल पुर्‍याइयो । एक्सरे र एमआरआई गर्दा पाठेघरको बाटो थुनिएको देखियो । शल्यक्रिया गरेर पाठेघरबाट दुई सय एमएल पानी निकालियो । चिकित्सा विज्ञानमा शिशुको उक्त समस्यालाई ‘भजाइनल अट्रेसिया’ भनिन्छ । उपचारमा संलग्न बाल शल्यचिकित्सक डा। आशिषलाल श्रेष्ठका अनुसार १० हजार जीवित जन्मेका शिशुमध्ये एक जनामा यस्तो जटिल समस्या देखिन्छ । यसलाई ‘बर्थ डिफेक्ट’ अर्थात् जन्मदोष पनि भनिन्छ ।

डा. श्रेष्ठका अनुसार ग्रान्डी पुर्‍याइँदा शिशुको पाठेघरभित्र जमेको पानीको थैलोले च्यापिएर मिर्गौला फेल हुने अवस्थामा थियो । ‘नली थुनिएर निकास नभएपछि शिशुको पाठेघर फुलेको रहेछ,’ उनले भने ।एक महिनाअघि जन्मेको भोलिपल्टै शल्यक्रिया गरिएकी शिशुको अवस्था अहिले सामान्य छ । ‘अरू बच्चाजस्तै हाँस्ने, खेल्ने गर्छे,’ शिशुका बुबाले कान्तिपुरसित भने । जटिल जन्मदोषकै कारण २० महिनाअघि ललितपुर, इमाडोलकी एक शिशुको जन्मिएको दोस्रो दिन शल्यक्रिया गरिएको थियो । जन्मँदा उनको मलद्वार बन्द थियो । प्रसूति गृहमा जन्मिएकी उनलाई उपचारका लागि ग्रान्डी अस्पताल पुर्‍याइयो । ‘शिशुको पाठेघर र दिसापिसाब निस्कने बाटो एउटै भएको भेटियो,’ उपचारमा संलग्न डा। श्रेष्ठले भने । चिकित्सा विज्ञानमा यसलाई ‘क्लोएका’ भनिन्छ । उनका अनुसार यस्तो समस्या २० हजार जीवित जन्मेका मध्ये एक शिशुमा देखिन्छ ।

ती शिशुको मलद्वार खुलाउन नमिलेपछि शल्यक्रिया गरी आन्द्रा फर्काएर पेटबाटै दिसा निस्कन मिल्ने बनाइएको छ । ‘नवजात शिशु भएकाले मलद्वार खुलाउन जोखिम भयो,’ डा। श्रेष्ठले भने, ‘पछि अर्को शल्यक्रिया गरेर मलद्वारबाटै दिसा निस्कने बनाइदिन मिल्छ । पाठेघरको बाटो पनि छुट्टै बनाउन मिल्छ ।’ डा। श्रेष्ठका अनुसार नवजात शिशुको शल्यक्रिया जटिल हुन्छ । ‘भर्खरै जन्मिएको बच्चाको शरीरमा रगत कम हुन्छ । शरीर चिर्दा रगत बगेर ज्यानै जाने सम्भावना हुन्छ,’ उनले भने, ‘शरीर चिर्दा अन्य अंगमा घाउ लागेर संक्रमण हुने जोखिम पनि उत्तिकै हुन्छ ।’ नवजात शिशुमा रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुने भएकाले शल्यक्रिया सफल हुने सम्भावना कम हुने उनले बताए ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्