Logo
|
Monday 28th October 2024
Logo

epaper

डोटीको सरकारी तथा निजी अस्पतालमा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढे



जनस्वास्थ्य सरोकार, धनगढी ।  हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । डोटीका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. ज्योति पाण्डेले बताए । उनले भने, ‘चिसोले बालबालिका र ज्येष्ठ नागरिकमा बढी समस्या देखिएको छ, बिरामीको चाप बढेको छ ।’ जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा दैनिक ३० देखि ४० बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोका कारण बिरामीको चाप बढेपछि उपचारमा समस्या भइरहेको अस्पतालका निर्देशक तथा चिकित्सक आइजंग कुँवरले बताए । उनले भने, ‘अस्पतालमा चिसोका कारण बिरामीको संख्या बढेको छ, उपचारमा समस्या भइरहेको छ ।’ यस्तै यहाँका ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको जोरायल गाउँपालिका स्वास्थ्य एकाई प्रमुख गोविन्द विष्टले बताए । उनका अनुसार अहिले यहाँका स्वास्थ्य चौकीमा दैनिक १० देखि २० जनासम्म उपचारका लागि बिरामी आउने गरेका छन्। स्वास्थ्य चौकीमा निमोनिया, रुघाखोकीका बिरामीले भरिएको केआइसिंह गाउँपालिका–५ रानागाउँ स्वास्थ्यचौकीका अहेव रमेश जोशीले बताए । ‘चिसोका कारण बिरामी थपिने क्रम बढेको छ,’ उनले भने । जिल्ला आयुर्वेद अस्पताल दिपायलमा चिसो बढेसँगै बाथरोगका बिरामीको संख्या बढ्न थालेको छ । अहिले दैनिक ४० देखि ५० जनाको संख्यामा बाथरोगी उपचारका लागि आउने गरेको अस्पतालका वैद्य खड्क बमले बताए । चिसो मौसम भएकाले तातो झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्