Logo
|
Monday 28th October 2024
Logo

epaper

यमनमा डेंगुबाट ७८ बालबालिकाको मृत्यु



दुबई : यमनमा डेंगु संक्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको ‘सेभ द चिल्ड्रेन’ले मंगलबार बताएको छ। सेभ द चिल्ड्रेनले यमनमा डेंगुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न यमन सरकार त्यहाँका जनता र अधिकारवादी समूहको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ‘ ‘यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले डेंगुुको महामारीका कारण ज्यान गुमाएका छन् भने कम्तीमा ५२ हजार व्यक्ति डेंगुको संक्रमण भएको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन्।’ यमनमा डेंगुका महामारी शुरु भएको मान्न सकिन्छ।

सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ मा यमनमा डेंगुसम्बन्धी संक्रमणका कारण १९२ जनाको मृत्यु भएको थियो। यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह शहर होडैडा र एडेनका थिए।

सेभ द चिल्ड्रेनका यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, ‘सन् २०१९ मा यमनको होडैडामा डेंगुका कारण मृत्यु हुनेको मृत्युदर दोस्रो धेरै अर्थात् ६२ व्यक्तिले ज्यान गुमाएका थिए। यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन।’

अल्दोगानी आफैं पनि सन् २०१९ मा डेंगुको संक्रमणपछि निको भएका थिए। उनले भने, ‘मसहित हाम्रो संस्थाका करिब ४० भन्दा बढी कर्मचारी र उनीहरूका परिवारका सदस्य डेंगुको कारण विरामी परेका थिए तर ती सबै उपचारपछि निको भएका छन्।’

रेडक्रसका अनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र सम्बन्धित रोगको माहामारीबाट यमन ग्रसित भएको छ।

साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान पक्षधर मानिने यमनी सिया विद्रोहीविरुद्ध सन् २०१५ मा शुरु गरेको सैन्य हस्तक्षेपका कारण दशौँ हजार व्यक्तिको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन्। संयुक्त राष्ट्रसंघले यमन द्वन्द्वका कारण विश्वमा सर्वाधिक नराम्रो मानवीय संकट रहेको जनाएको छ। –रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्