Logo
|
Sunday 5th May 2024
Logo

epaper

आयोगमा दर्ता भयो बी एण्ड सी सम्बन्धनको निवेदन, तत्काल प्रक्रिया अघि बढाउन प्रसाईको माग [ निवेदन सहित ]

सम्बन्धनमा आलटाल गरे न्यायका लागि सर्बोच्च जाने तयारी



जनस्वास्थ्य सरोकार, भक्तपुर । झापाको बी एण्ड सी मेडिकल कलेजले सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगमा निवेदन दर्ता गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले फागुन १ गते बी एण्ड सी मेडिकल कलेज काठमाडौं सम्पर्क कार्यालयले दिएको आफ्नो सम्पूर्ण मापदण्ड पूरा गरेको काजजातसहितको निवेदनमा तोकआदेश लगाएका थिए । तोक आदेशपछि दर्ताका लागि आयोगका सदस्यसचिव डा. हरि लम्सालको कार्यकक्षमा पुगेको निवेदनसहितको फाइल उहाँको अनुपस्थितिका कारण फागुन २ गते मात्र दर्ता भयो । बी एण्ड सी को फाइल दर्ता नम्बर ३७० रहेको छ । फाइल दर्तापछि आवश्यक अध्ययन गरी बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाइने छ ।

यस अघि बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं आफैं उपस्थित भएर गत मंसिर १५ गते मेडिकल कलेज सम्बन्धनका लागि दिएको निवेदन दर्ता गर्न मान्नुभएको थिएन । त्यो बेला उहाँले चिकित्सा शिक्षा ऐन बमोजिम कागजात समावेश नभएको भन्दै निवेदन फिर्ता गरिदिनुभएको थियो । तर त्यो बेलामा पनि अहिलेको जस्तै सम्पूर्ण प्रक्रिया पुगेको कागजात दर्ता गरिएको दावी बी एण्ड सी का सञ्चालक प्रसाईंको छ । त्यसपछि २० करोड रुपियाँ घुस मागेका कारण मलाई दुःख दिएको हुनसक्छ भन्दै प्रसाईले पत्रकार सम्मेलन नै गरेर आफ्नो पीडा ओकल्नुभयो । तर गिरीले आफ्नो मानहानी भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दर्ता गराउनुभयो । अचम्मको कुरा त के छ भने भक्तपुर जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई साधारण तारेखमा छोडेकै दिन फागुन १ गते कलेज सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले तोक आदेश गर्नुभयो । विगतमा आफैं आयोग उपस्थित भएर निवेदन लगेका प्रसाईंले यो पटक भने आफ्ना सहयोगी निरज सुवेदीलाई कलेज सम्बन्धनको निवेदन पठाउनुभएको थियो ।

बी एण्ड सीको सम्बन्धनका लागि दर्ता भएको निवेदनमा बी एण्ड सीले काठमाडौं विश्वविद्यालयअन्तर्गत कलेज सञ्चालन गर्ने भएकाले सो विश्वविद्यालयलाई सिफारिस गरिदिन निवेदनमा आग्रह गरेको छ । आयोगले बी एण्ड सी मेडिकल कलेज सम्बन्धनमा यदि कुनै किसिमको आलटाल गरेमा प्रसाईं न्यायका लागि सर्बोच्च अदालत जाने तयारी गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्