Logo
|
Friday 22nd November 2024
Logo

epaper

प्याथोलोजिकल उपकरण आपूर्तिमा जमेका रामईन्द्र




रामईन्द्र न्यौपाने विगत २ दशकदेखि नेपालको प्याथोलोजी डायग्नोष्टिकको क्षेत्रमा विश्वस्तरीय प्रविधिका उत्पादन तथा प्रविधिको अवधारणा (कन्सेप्ट) बाँड्दै आउनुभएको छ । यस्ता प्रविधिहरुको विक्रीवितरण एवं प्रवद्र्धनमा क्रियाशील रामईन्द्र वेभ ट्रेडिङ कन्सर्न प्रा.लि.का सञ्चालक हुनुहुन्छ । काभ्रे जिल्लाको बल्थली बाहुनडाँडामा जन्मेका रामईन्द्र उच्च शिक्षा हाँसिल गर्ने शिलशिलामा राजधानी काठमाडौं छिर्नुभएको हो । अहिले उहाँ मेडिकल उपकरणको क्षेत्रमा जम्नुभएको छ । यसैसँग सम्बन्धित रहेर जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेप ।
अत्याधुनिक प्रविधिको भूमिका कस्तो पाउनुभएको छ ?
मेडिकल उपचारमा प्याथोलोजी र रेडियोलोजी विधालाई चिकित्सकका दुईवटा आँखाको रुपमा लिने गरिन्छ । प्याथोलोजी र रेडियोलोजी रिपोर्टको आधारमा समस्याको पहिचान हुने र सही उपचार प्राप्त गर्न सकिन्छ । मेडिकल उपचारका ती दुई आँखामध्ये नेपाली स्वास्थ्य बजारमा प्याथोलोजी विधाका विश्वस्तरीय प्रविधि एवं अवधारणा (कन्सेप्ट) प्रवद्र्धन गर्न विगत २ दशकदेखि दत्तचित्त भएर अगाडि लम्किरहेका छौं । रगत, खकार, दिसा, पिसाब, बायोप्सी लगायतका नमुना परीक्षणबाट आएको रिपोर्टको आधारमा ‘कुन औषधि सिफारिस गर्ने ?’ ‘कुन उपचार पद्धति अपनाउने ?’ जस्ता प्रश्नहरुको उत्तर खोजिने र हरेक नयाँ रोगको अनुसन्धान, मेडिकल उपचार, मोलिक्युलर तयार गर्ने लगायतका अत्यधिक डायग्नोष्टिक विधामा प्याथोलोजीकल उपकरण र प्रविधिको भूमिका महत्वपूर्ण सावित हुँदै आएको छ । यो विधा रोग निदानमा मात्र नभई वातावरणीय पहिचान, कृषि, भेटेनरीलगायतका प्रयोगशालाहरुमासमेत प्रयोगमा आइरहेको छ । अतः हामीहरुले यससँग सम्बन्धित उपकरण डायग्नोष्टिक किट, रिएजेन्ट्स उपलब्ध गराउँदै आएका छौं ।
अटोमेसन सिस्टमको प्रभावकारीता कस्तो छ ?
विश्व बजारको अवलोकन र हाम्रो अनुभवलाई दृष्टिगत गर्दा नेपालका प्याथोलोजिकल ल्यावहरु विश्वस्तरीय छन् । अमेरिका, युरोपलगायतका विकसित मुलुकमा हुने जत्तिकै नेपालमा पनि उपकरण, पूर्वाधार र मानवसंसाधनहरु उपलब्ध छन् ।
विगत ५—७ वर्षदेखि अटोमेसनमा धेरै अघि बढिसकेका छौं । एकदमै न्युन केही परीक्षणहरु मात्रै देश बाहिर पठाइन्छ । त्यो पनि उपकरण र जनशक्तिको अभावले नभई नमुना र रोग पहिचान गर्न प्रयोग गर्नुपर्ने किटको भोलुम कम हुने अवस्थामा मात्र हो । किटको भोलुमका लागि न्युनतम पनि ९६ देखि १०० वटासम्म टेष्ट हुनुपर्छ ।
प्रविधि छनौट गर्ने आधार के के छन् ?
बाहिरी मुलुकबाट अत्याधुनिक प्रविधिका सामाग्रीहरु मुलुकमा भित्र्याउँदा सरकारी स्तरबाट प्रोडक्ट रजिष्ट्रेसन र अनुगमनको कुनै व्यवस्था छैन । जस्तोः मुटुमा राख्ने स्टेन्ट समेत भित्र्याउन पनि राज्यको कुनै मापदण्ड नै छैन । यद्यपी राज्यले कुनै मापदण्ड नतोके पनि सरकारी र निजी क्षेत्रमा खरीद गर्ने सामाग्रीहरु सिई सर्टिफाइड, युएसएफडिए लगायत अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेका कम्पनिहरुको उत्पादनहरु मात्र मुलुकमा आयात गर्दछौं । अर्कोकुरा हाम्रा ग्राहक धेरै क्षमतावान र अनुसन्धान गरिसकेका दक्ष विशेषज्ञ हुने भएकाले उनीहरुको मागको आधारमा मेडिकल उपकरण र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउँदछौं । यसरी सामान उपलब्ध गराउन अघि उत्पादनका नमुनाहरु डेमो, प्रोडक्ट क्यालिब्रेसन गरी देशको हावापानी सुहाउँदो परीक्षण गर्न योग्य भएनभएको प्रमाणित गर्न क्रस चेक गर्दछौं ।
बिक्रीवितरण त सेकेन्डरी कुरा हो । त्यो भन्दा पहिला हाम्रा कतिपय दक्ष चिकित्सक र प्राविधिकहरुलाई सम्बन्धित कम्पनि देखाउन लैजाने र सम्बन्धित प्रविधिबारे सिमएई एवं विभिन्न सभा सम्मेलनहरुमा भाग लिने र सल्लाह लिन्छौं । यसरी विश्व समुदायका बैज्ञानिकहरुसँग अन्तरक्रिया गरेर विश्व मानचित्रमा प्रयोग गर्न योग्य भएको निक्र्यौल भएपछि मात्र नेपालमा ल्याएर बिक्रीवितरण गर्दछौं ।
कुनै पनि मेडिकल उपकरणको शुद्धता आउन मेडिकल उपकरण मात्र राम्रो भएर हुँदैन, बिजुलीको शुद्धतादेखि पानीको गुणस्तर समेत कायम गर्न आवश्यक हुन्छ । हाम्रो कम्पनिमा १२ जना बायोमेडिकल इन्जिनियरहरु दिनरात दत्तचित्त भएर काम गरिरहेका हुन्छन् । यसरी आफ्नो ल्यावको रिपोर्ट सम्बन्धित ल्याबहरुले थर्ड पार्टी क्वालिटी कन्ट्रोलबाट योग्य ठहराएपछि मात्र सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने भएकाले नेपालमा भित्रिएका उपकरणबाट प्राप्त नतिजा विश्व मान चित्रमा बराबर छन् ।
उत्पादनहरु कुन आधारमा प्रवद्र्धन भइरहेका छन् ?
सामान्यत त बाहिरबाट हेर्दा मुनाफाका लागि व्यापार गरेको देखिएला । तर यसमा मुनाफा भन्दा पनि विरामीको समस्या पहिचान ठूलो कुरा हो । सम्बन्धित कम्पनिका वैज्ञानिक, चिकित्सक, प्रध्यापकहरुसँग संवाद गरी प्रोडक्ट बारे आईडिया आदानप्रदान गरेपछि मात्र नेपाली स्वास्थ्य बजारमा उपकरणहरुको प्रवद्र्धन शुरु हुन्छ । ‘हामीले बेचेको उत्पादन मेरो र मेरो परिवारको लागि प्रयोग हुन्छ’ भन्ने सम्झेर काम गर्नुपर्छ । अतः सामानको क्वालिटीप्रति विश्वस्त भएपछि मात्र सामान उपलब्ध गराउदै आएका छौं ।
कस्तो अवस्थामा सुःख र दुःखको अनुभूति हुन्छ ?
नेपालमा लामो समयसम्म सामान्य टेष्ट जस्तैः थायराइडलगायतका विभिन्न रिपोर्ट लिन एक हप्ता कुर्नुपर्ने अवस्थाबाट एक तह माथि उठेर २०—२५ मिनेटमा पाउने प्रविधिहरु ल्याउन सकेको अवस्थामा सुखको अनुभूति हुन्छ ।
जीवन मरणको सवाल जोडिएको अत्याधुनिक मेडिकल उपकरणलगायतका स्वास्थ्य सामाग्री आयात गर्दा लाग्ने कतिपय चर्को र असामान्य भन्सार शुल्कबारे सरकारी निकाय निरिह बन्दा दुःख लाग्छ । जस्तोः मेडिकल उपकरणमा प्रयोग हुने सामाग्री प्लाष्टिकजन्य भएमा ३० प्रतिशत र अन्य नामाकरण भएमा ५ प्रतिशत भन्सार शुल्क लाग्ने असमान भन्सार दर रहेको छ । राज्यले स्वास्थ्य क्षेत्रमा कर मिनाहा गरिरहेको र स्वास्थ्य बीमालाई प्रवद्र्धन गरिरहेको वर्तमान अवस्थामा अस्पताल, क्लिनिक आदिलाई मुल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने । तर त्यही व्यवसायमा आवद्ध भएका मेडिकल र सर्जिकल व्यवसायीहरुलाई भ्याट लाग्ने परिपाटीले स्वास्थ्य क्षेत्रमा बिरामीलाई मूल्य अभिवृद्धि कर (भ्याट) माफ छैन । यसका साथै उपकरणको ग्यारेन्टी अवधिमा बिग्रिएका निःशुल्क दिने स्पेयर पार्टस्हरु विदेशबाट मगाउँदा पनि सरकारलाई पुनः ट्याक्स तिरेर ल्याउनुपर्ने व्यवस्थाले निकै दुःखी तुल्याउँछ ।
यद्यपी स्वास्थ्य उपकरण, डायग्नोष्टिक किट, रिएजेन्टस् किट केमिकल लगायत स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नेपाल सरकारको आफ्नो मापदण्ड हुनुपर्छ ।
अन्त्यमा वेभ ट्रेडिङका विशेषताहरु के के छन् ?
विगत एक दशकको अवधिमा मुलुकको डायग्नोष्टिक क्षेत्रमा अटोमेसनले निकै ठूलो कायापलट ल्याएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामासमेत पहिलो पटक १ सय २० जनाको एकैपटक नमुना टेष्ट गर्न मिल्ने बायोकेमिष्ट्री फुली अटोमेसन एनालाइजर हामीले जडान गरेका थियौं । अहिले मुलुकमा रहेका सबै रेफरेन्स ल्याब, अस्पताल, मेडिकल कलेजहरुमा हाम्रो हातेमालो छ । हामी प्रोडक्ट भन्दा पनि प्रविधि बेच्छौं । प्रोडक्ट ल्याउनुभन्दा पहिला सम्बन्धित संस्थाका जनशक्तिहरुलाई तालिम उपलब्ध गराउँदछौं । बिक्रीपछि हुने सेवाप्रति हामी धेरै सचेत र कटिवद्ध छौं । नेपालले अफोर्ड गर्ने विश्वबजारमा आएका अत्याधुनिक प्रविधि भित्र्याउने, बजारीकरण गर्ने र बिक्रीपछिको सेवा प्रदान गर्ने अभियानमा हामी सक्रिय रुपमा लागिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्