दक्ष जनशक्ति उत्पादनको आवश्यकता
भनिन्छ नि ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वेस ।’ तर यो जान्दा जान्दै पनि कतिपय व्यक्ति विभिन्न रोगको शिकार हुने गर्छन् । यसरी रोग लागेपछि उपचारका लागि अस्पताल जानु स्वभाविक हो । अस्पतालमा बिरामीको प्याथोलोजी परीक्षणबाट रोग पहिचान शुरु हुन्छ । उपचारको पहिलो खुट्किलो प्याथोलोजिष्टबाट नै सुरु हुन्छ । यस्ता प्याथोलोजिष्टको संख्या नेपालमा २४० जति छन् । प्याथालोलोजी रिपोर्ट राम्रो नआएमा ‘तथ्यमा आधारित उपचार’ हुन सक्दैन र बिरामीहरुले थप समस्या व्यहोर्नुपर्ने हुनसक्छ । के छ त बिरामीको उपचारमा प्याथोलोजिष्टको भूमिका, समस्या, अनि यसलाई अझ प्रभावकारी बनाउने उपाय ?
प्याथोलोजी सेवाको अवस्था
कुनै पनि व्यक्ति केही नभई अस्पताल आउँदैन । अनि बिरामी हेरेर रोग पत्ता लाग्दैन । यसका लागि ल्याब परीक्षणको जरुरत पर्छ । यद्यपी उपचारको पहिला खुड्किलो प्याथोलोजी सेवा नै हो । विगतको तुलनामा अहिले प्याथोलोजी र प्याथालोजिष्टको स्तर निकै राम्रो भएको छ । पहिले भन्दा धेरै अघि बढेका छौं । अहिले क्यान्सरको उपचारपछि पनि फलोअप गरेर विभिन्न अनुसन्धान भइरहेका छन् । नयाँ प्रविधि, नयाँ उपकरणको विकास र विस्तारले रोग पहिचानमा धेरै सहज हुनुका साथै सुधार पनि सोही गतिमा भएको छ ।
दक्ष जनशक्ति उत्पादनका आधार
‘तथ्यमा आधारित उपचार सेवा’ का लागि प्याथोलोजी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुपर्छ । यसका लागि स्वयं चिकित्सकको प्रतिबद्धता, ज्ञान र भरपर्दो काउन्सिलिङ गर्ने क्षमता आवश्यक पर्छ । यसमा अनुशासनको पनि त्यतिकै जरुरत हुन्छ । यी सबै कुरा मिलेमा रोग पहिचानमा कुनै समस्या आउँदैन । ‘मेडिकल कलेजहरुमा सिकारु चिकित्सक (इन्टर्न) बाट रोग पहिचान र उपचार गर्न लगाइन्छ’ भन्ने धेरैको भ्रम पाइन्छ । बिरामीको उपचारका लागि इन्टर्नलाई एक्लै छाडिएको हुँदैन । उनीहरुलाई सम्बन्धित विधाका लेक्चरर, प्राध्यापकहरुको निगरानीमा काम लगाइन्छ । त्यसैले यो कुरामा कुनै सत्यता छैन । इन्टर्नहरुलाई विरामीसँग सामना गर्न नदिएमा कसरी उसले भविष्यमा प्रभावकारी उपचार सेवा प्रदान गर्न सक्छ त । उनीहरुले बिरामीहरुसँग गरेको व्यवहार, उपचारलगायतका धेरै कुरामा ख्याल गरेर मात्र काम गर्न लगाइन्छ । यसका लागि सामुहिक छलफलबाट निचोडमा पुगिएको हुन्छ ।
प्याथोलोजी सेवाका समस्या
प्याथोलोजी सेवामा व्यक्तिको खानपान र जीवनशैलीले रोग पहिचानमा इरर आउनसक्ने भएकाले सम्बन्धित व्यक्तिले सम्पूर्ण कुरा खुलस्त बताउनुपर्छ । ‘बिरामी कस्तो अवस्थामा अस्पताल आएको छ त ?’ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उदाहरणका लागि ‘बिरामी रिसाएर आएको, उपबासमा भएको अथवा उसले गुलियो धेरै खाएर आएको पो छ कि’ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यस्तो बेलामा परीक्षण गरिएको रिपोर्टमा मानवीय त्रुटी नभएपनि रिपोर्ट फरक आउन सक्छ । त्यसैले नमुना संकलन गर्न अघि बिरामीले आफ्ना सबै कुरा बताउनुपर्छ ।
अर्कोकुरा विकसित देशहरुमा विरामीको रिपोर्टमा कुनै समस्या नआएमा ‘आफू स्वस्थ्य छु’ भनेर खुसी हुने गर्छन् । हाम्रो जस्तो विकासोन्मुख र अल्पविकसित देशमा बिरामीलाई कुनै समस्या नभएको ल्याव रिपोर्ट आएमा ‘खर्च गरायो’ भन्ने आरोप लगाउने प्रचलन छ । यो गलत हो । त्यसैले हामीले मानसिकता परिवर्तन गर्नुपर्छ ।
चुनौति
पछिल्लो समय निजी क्षेत्रबाट धेरै क्लिनिकल प्रयोगशाला खुलेका छन् । यस्ता क्लिनिकल प्रयोगशालाहरुलाई ‘राष्ट्रिय प्रयोगशाला नीति’ अन्तर्गत सरकारले गुणस्तरका आधारमा बर्गीकरण गरिरहेको छ । नीति कार्यान्वयन गर्ने क्रममा कडाई गर्न हुँदैन । उनीहरुलाई सुधार गर्ने अवसर दिनुपर्छ । समय दिँदा पनि सुधार नगरेमा कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।
आर्थिक अभावमा सबैको उपचारमा पहुँच हुन सक्दैन । ‘डाक्टरले कमिशनमा नमुना पठाउँछन्’ भन्ने भनाइ छ । यदि कसैबाट भएमा त्यो एकदमै गलत हो । एउटा व्यापारीले लगानी गरेपछि प्रतिफल खोज्नु स्वभाविक हो किनकि त्यसमा करोडौंका अत्याधुनिक प्रविधि जडित मेसिनहरुमा लगानी भएको हुन्छ । उदाहरणका लागि क्यान्सरको परीक्षण गर्न करोडौंका उपकरण प्रयोग गरिन्छ । महँगो भएर नेपालमा सबैले उपचार गराउन पनि सक्दैनन् । अनि विरामी उपचारका लागि बाहिर जान्छन् । महँगो भएर विरामी नआएपछि त उसले सेवा बन्द गर्नुको विकल्प हुँदैन । बिरामी देश बाहिर जाँदा पनि पैसा त बाहिरिन्छ । त्यसैले हामीहरुको मानसिकता परिवर्तन हुन जरुरी छ ।
स्वास्थ्य बीमा नहुनु नै समस्या
प्रायजसो देशहरुमा उपचारका लागि स्वास्थ्य बीमाको व्यवस्था हुन्छ । यस्तो अवस्थामा रोग पहिचान र उपचारमा कुनै समस्या हुँदैन । नेपालमा पनि वर्षमा ३५०० तिरेपछि पाँच जना परिवारको उपचारका लागि सरकारले एक लाख रुपियाँसम्मको बीमा सुविधा ल्याएको छ । तर यो पर्याप्त छैन । स्वास्थ्य बीमा भएमा परीक्षणका लागि हुने खर्चमा डराउनुपर्ने अवस्था आउँदैन थियो । त्यसैले राज्यले हरेक नागरिकको स्वास्थ्य बीमा सुविधाको भरपर्दो व्यवस्था गर्नुपर्छ ।
भ्रम चिर्न आवश्यक
हाम्रो देशमा उपचारका क्रममा कुनै समस्या आएमा तथ्यमा पुग्नुभन्दा भन्दा नकारात्मक हल्ला फैलाउने परिपाटी बढ्दो छ । चिकित्सकलाई दोष थोपर्ने प्रचलन हावी छ । आफू वा आफ्नो बिरामी कुन अवस्थामा अस्पताल गएको छ भन्ने कुरा ख्याल नै गरिँदैन । आफूमात्र सही अनि चिकित्सक गलत भन्ने हुँदैन । उदाहरणका लागि कहिलेकाँही टाउकाको दुखाई सामान्य हुनसक्छ । तर माइग्रेन, ब्लड प्रेसर, ब्रेन ट्यूमर भएर पनि टाउको दुख्नसक्छ । यस्तो अवस्थामा शंका गरेर चिकित्सकले परीक्षण गराउन सक्छन् । यस्तो अवस्थामा सामान्य रिपोर्ट आएमा खर्च गराइदिएको आरोप लगाउने प्रचलन छ । त्यसैले सबभन्दा पहिले यस प्रकारको भ्रम चिर्न आवश्यक छ । चिकित्सक भगवान नभई सहयोगी मात्र हुन् ।
समाधानका उपाय
स्वास्थ्य शिक्षालाई बिद्यालयको तल्लो तहदेखि कै पाठ्यक्रममा समावेश गर्न जरुरी छ । यसले व्यक्तिहरुको मानसिकता परिवर्तनमा निकै ठूलो सहयोग गर्छ । चिकित्सकको पक्षबाट पर्याप्त काउसिन्सलिङ सेवा दिन नसक्नु कमजोरी हो । यसलाई बढावा दिनुपर्छ । काउन्सिलिङले बिरामी र चिकित्सकबीचको सम्बन्धलाई नजिक बनाउँछ र विभिन्न भ्रम चिर्न सहयोग गर्छ ।
(प्रा.डा. प्रधान एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) को अध्यक्ष हुनुहुनछ । )