नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष भन्छन्—‘स्वास्थ्य सामाग्री आपूर्तिकर्ताहरुलाई लज्जित नबनाऊ’
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड—१९) को पहिचान तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको आपूर्तिमा निजी क्षेत्रलाई लज्जित नबनाउन अनुरोध गरेको छ ।
‘सार्वजनिक खरीद ऐनको दफा ६६ र नियमावलीको दफा १४५ बमोजिम बिशेष परिस्थितिमा राज्य स्वयंले अत्यावश्यक सामान खरीद गर्न अनुभवी तथा विज्ञको सल्लाह लिएर जनताको अभिभावकको भूमिका निर्वाह गर्न संघले सल्लाह दिएको छ । संघका अध्यक्ष नवराज बस्नेतले भन्नुभयो—‘राष्ट्रिय संकटको महामारीको युद्धमा तमाम नेपाली जनता र नेपाललाई बिना क्षति यथाशिघ्र विजय गराउन नेपाल सरकारको सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी समक्ष विनम्र अनुरोध गर्दछौं ।’
छिमेकी मुलुक भारतमा २१ दिनको लामो कफ्र्यु, चीनमा पनि असहज परिस्थिति र नेपाल सरकारले ३ हप्तादेखि लकडाउन गरी घरमै सुरक्षित रहन अनुरोध गरेको कठिन समयमा ३ दिन देखि ७ दिनभित्र सामान दिनुपर्ने सर्त राखी विभिन्न स्वास्थ्य संस्थाले देशैभरि बोलपत्र आव्हान गरिरहेका छन् ।
यद्यपी महामारी नियन्त्रणका लागि गर्नुपर्ने आवश्यक पूर्व तयारी पर्याप्त समय हुँदाहुँदै, विपद् विज्ञहरुको सुझाव सल्लाह र दवाबका बावजुद पनि बेवास्था गरी सरकारको जिम्मेवार स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको सुझबुझको कमीका कारण महामाहरीको आक्रमणले शिकार हुन सक्ने जनता र तिनको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि त्रासको वातावरण सृजना हुन पुगेको अध्यक्ष बस्नेतको भनाइ छ ।
‘झण्डै १ सय दिन भन्दा बढी समयदेखि निजी क्षेत्रले अत्यावश्यक सामान जसोतसो धानिरहेका थिए । जब माघ १० गते एक नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि स्वास्थ्य सेवा विभागले माघ २५ गते बोलपत्र प्रकाशित गरेको थियो र पछि चैत्र १३ गते स्वास्थ्य मन्त्रालयमा खरीद सम्झौता गरियो ।’—अध्यक्ष बस्नेतले भन्नुभयो— ‘त्यसपछि के के भयो आम जनतालाई थाहा भएकै कुरा हो ।’ अब फेरि भोलि चैत्र ३० गते पेश गर्ने गरी सोही बोलपत्र स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाद्धारा आव्हान गरिएको छ ।
यस्तो विपद्का घडीमा बोलपत्र निकाल्नु झारा टार्न मात्र नभई निजी क्षेत्रका व्यवसायीलाई लज्जित बनाई कारवाहीको दायरामा ल्याई चर्को मूल्यका लागि सिन्डिकेट खडा गर्ने, कालो बजारी क्रित्रिम अभाव तथा भ्रष्टाचारलाई उत्साहित गर्ने नियत भएको संघको ठम्याई छ ।
चीनको वुहानबाट शुरु भएको कोभिड १९ महामारीले विश्व मानव जगतमा अपूरणीय क्षति व्यहोर्नु परिरहेको बर्तमान त्रासदी पूर्ण परिस्थितिमा नेपाल पनि सो महामारीको जोखिम मै रहेको र यसको नियन्त्रणका लागि सरकारले सबै प्रकारका आवश्यक कदम कठोरताका साथ अवलम्बन गरिरहेकै छ र जनताले पनि त्यसको पूर्णपालना गरिरहेकै छन् ।