Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय नाघ्यो

२१६ जना निको भएर घर फर्के



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ८,२७४ पुगेको छ । जसमा महिला ७०७ र पुरुष ७,५६७ रहेका छन । बिहिबार ६७१ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी शुक्रबार २१६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा  २०७ जना पुरुष  र ९ जना महिला  रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,४०२ पुगेको छ । जसमा पुरुष १२७९ जना र महिला १२३ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा १ लाख ९ हजार ४६१ जना बसेका छन भने ६ हजार ८५० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जना र आरडीटी विधिबाट २ लाख ४७ हजार ८७४ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,२३१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्