Logo
|
Tuesday 24th December 2024
Logo

epaper

मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै भेरी अस्पताल



नेपाल हेल्थ न्युज, नेपालगञ्ज (बाँके)। भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।

सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा मन्त्री पौडेलले सबै सङ्घीय अस्पतालमा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । “अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्नेगरी सम्झौता भएको छ । सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ, सहज र पहुँचयोग्य बनाइनेछ”, उहाँले भन्नुभयो ।

अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिकलगायत सहयोग गर्ने बताउनुभयो । आगामी एक महिनाभित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ ।

“मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्”, ती कानुनी प्रक्रिया अस्पतालले पूरापछि सेवा विस्तार, जनशक्ति व्यवस्थापनलगायत काम गर्न एक महिना लाग्न सक्छ”, श्रेष्ठले भन्नुभयो । उहाँले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको बताउनुभयो । उहाँले अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यकपर्ने कानुनी जटिलता यथाशीघ्र समाधान भएर सेवा सञ्चालन गरिने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्