जनस्वास्थ्य सरोकार, कास्की  । गण्डकी प्रदेशमा आज १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङमा समेत सङ्क्रमण देखिएको थियो । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार सङ्क्रमित बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ तथा बागलुङ नगरपालिकाका २१ वर्षका पुरुष छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र नौ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् । तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सङ्क्रमितहरु सबै जनालाई अहिले जिल्लास्थित आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा ११२, पर्वतमा ४५, गोरखामा ४१, तनहुँमा ७१, कास्कीमा १५, म्याग्दीमा आठ तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एक जना सङ्क्रमित छन् । हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रदेशमा अहिलेसम्म पिसीआर विधिबाट कोभिड–१९ परीक्षणका लागि आठ हजार ७५१ जनाको नमूना सङ्कलन गरिएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । जसमा एक हजार ३२८ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । प्रयोगशालामा नमूना ‘पेन्डिङ’ हुन थालेपछि पछिल्लोपटक प्रयोगशालामा मेसिन र जनशक्ति बढाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्रबाट नमूना परीक्षण गर्ने गरिएको छ । रासस