भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण दर, एकैदिन सर्वाधिक १५ हजार जना भन्दा बढिमा पुष्टि
भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ। अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको देखाउँछ। अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ। प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ। भारतमा सङ्क्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको बताइन्छ।
सर्वाधिक सङ्ख्या
विगत २४ घण्टामा भारतमा १५,४१३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो एकै दिन वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। सो अवधिमा ३०६ जनाको मृत्यु भएको सरकारले बताएको छ। यससँगै मृतकको कुल सङ्ख्या १३,२५४ पुगेको छ। अहिले भारतमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,१०,४६१ छ भने तीमध्ये दुई लाखभन्दा बढी व्यक्ति निको भएका छन्। भारतको महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन्। बीबीसीबाट साभार