Logo
|
Tuesday 16th April 2024
Logo

epaper

विगत २४ घण्टामा विश्वभरि एक लाख ८३ हजार सङ्क्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ। डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन्। संयुक्त राज्य अमेरिका सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको देशको रूपमा कायम छ जहाँ २० लाख जति सङ्क्रमण पुष्टि भएको छ। कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड-१९ बाट ज्यान गुमाएका छन्।

दोस्रो बढी

सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो। तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन्। यसअघि आइतवार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएको जनाएको थियो।

त्यो सङ्ख्या थपिएसँगै देशमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५०,६१७ पुगेको छ। विगत २४ घण्टामा १७ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

मृत्यु हुने र सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन्। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ। यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन्। सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन्। ब्राजिलियास्थित संसद्‌ र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन्। संसद्‌ र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उनका समर्थकहरूको आरोप छ। बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन्।बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्