Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, शनिबार थप ५५४ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शनिबार मात्रै थप ५ सय ५४ जना नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या १२ हजार नाघेको हो । नयाँ संक्रमितमा १ सय २० महिला र ४ सय ३४ जना पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । कूल संक्रमितमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।

त्यस्तै अहिलेसम्म देशभर २ लाख १० हजार ८ सय ७६ पीसीआर परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ पीसीआर र ३ हजार ६ सय ८५ आरडीटी परीक्षण गरिएको छ ।

त्यस्तैगरी अहिलेसम्म देशभर क्वारेन्टाइनमा हुनेको संख्या ६५ हजार ७ सय १२ रहेको छ भने ९ हजार ४ सय ४७ जना आइसोलेसनमा रहेका छन् । शनिबार १ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । अहिलेसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुकोे संख्या २८ पुगेको छ ।

मन्त्रालयले शनिबार थप एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टि गरेको छ । शनिबार ज्यान गुमाउनेमा कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षिय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

फोक्सोको क्यान्सरका समेत बिरामी रहेका उनले भारतमा उपचार गराउँदै आएका थिए । भारतबाट फर्किएर चितवन मेडिकल कलेजमा उपचार गराउन आएका उनको आइसोलेसनमा उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको थियो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ । आजदेखि कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्