Logo
|
Saturday 20th April 2024
Logo

epaper

भत्ता नपाएपछि भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित

'भत्ता काटेको छैन, अहिले स्थगितमात्रै'- अस्पताल प्रशासन



जनस्वास्थ्य सरोकार, भक्तपुर ।अस्पतालले दिँदै आएको नियमित भत्ता कटौती गरेपछि भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्सलगायतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्सलगायत कर्मचारीहरुको तलब कटौती गरिनु निन्दनीय भएको बताएका छन् ।

अस्पताल प्रशासनले गएको असार ५ गते सूचना जारी गर्दै अस्पतालको आम्दानी अत्यन्त न्यून भएकोले कर्मचारीहरुलाई नियमित भत्ताबाहेक आधारभूत तलबसहित अन्य सुविधामात्रै दिन सकिने जनाएको थियो ।

प्रशासनले उक्त सूचना निकालेपछि चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले प्रशासनको उक्त कदमको विरोध गरेका छन् । ‘अहिलेको विषम अवस्थामा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले नियमित पाउँदै आएको भत्ता कटौती गर्नु अन्याय हो, एक चित्किसले भने, ‘किन नदिएको भन्दा उल्टै जागिर खाइदिने धम्की दिनु र अरु डरत्रास देखाउनु निन्दनीय छ ।’

नियमित भत्ता कटौती गर्नुअघि स्वास्थ्यकर्मी तथा कर्मचारीसँग बसेर यस महामारीको बेला केकसरी व्यवस्थापन गर्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ थियो । तर अस्पताल प्रशासनले एकतर्फी निर्णय लाद्नु अन्याय भएको उनको भनाइ थियो ।

कोरोना भाइरस महामारीकै बीच काम गर्दा पनि र प्रशासनसमक्ष नियमित भत्ता कटौती नगर्न ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्रसमेत दिएका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण तथा व्यवस्थापनको क्रममा अग्रपंक्तिमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई थप भत्ताको व्यवस्था गरेकोमा भक्तपुर क्यान्सर अस्पतालले भने उल्टै खाईपाई आएको भत्ता कटौती गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

प्रशासनमा गएर कटौती गरिएको भत्ता उपलब्ध गराउन जाँदा उल्टै जागिर खाइदिने धम्की दिएको र डरत्रास देखाएका भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् ।

‘अस्पताल प्रशासनकै प्रत्यक्ष संलग्नतामा आफ्नो हकअधिकारको कुरा गर्दा प्रशासकीय व्यक्तिहरुबाट नै डरधम्की देखाएर कारबाहीको समेत चेतावनी दिएको कुराको जानकारी गराउँदछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भत्ता नदिने तर अस्पतालमा कुनै अस्तित्व नभएका निलम्बित मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठ, प्रशासन तथा वित्तीय प्रमुख जगन्नाथ भुर्तेल, प्रशासक राजाराम तजले, कर्मचारी कल्याणकारी समितिका अध्यक्ष शिवराम धुख्वाले अस्पतालको आम्दानीबाट मासिक एकएक लाख रुपैयाँ व्यक्तिगत रुपमा भोगचलन गरिरहेको उल्लेख गरिएको छ ।

अस्पतालका सीमित व्यक्तिले लाखौं भोगचलन गर्ने तथा कोरोना भाइरस संक्रमणबीच काम गर्नेहरुले भने नियमित भत्तासमेत नपाउने भएपछि उनीहरु आक्रोशित भएका छन् । उनीहरुले अस्पतालका सीमित व्यक्तिलाई कुन स्रोतबाट कसरी लाखौं उपलब्ध गराइयो र कुन प्रयोजनको लागि दिइयो भन्नेबारे स्पष्टीकरण सोध्न ज्ञापनपत्रमा माग गरिएको छ ।

उनीहरुले शिवराम धुख्वाको अध्यक्षतामा रहेको भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिको कामकारबाहीको छानबिन गर्नसमेत माग गरिएको छ । उक्त समितिले निलिम्बत मेडिकल निर्देशक डा. श्रेष्ठ, प्रशासन प्रमुख भुर्तेल, प्रशासक तजले र समितिका अध्यक्ष धुख्वाको मात्रै कल्याण गरेको भन्दै ज्ञापनपत्रमा समितिलाई राजनीतिक हतियार बनाएर अनियमितताको विरुद्ध जाने स्वास्थ्यकर्मी र कर्मचारीलाई तर्साउने र धम्की दिने काम गर्दै आएको उल्लेख छ ।
ज्ञापनपत्रमा अस्पतालको व्यवस्थापन समितिले निलम्बन गरिसकेका डा. श्रेष्ठलाई अस्पतालका प्रशासकीय गतिविधिबाट तुरुन्तै हटाउनसमेत माग गरिएको छ ।

भक्तपुर नपाको हस्तक्षेपले एकवर्षदेखि अलमलमा अस्पताल

गएको साउन ३० गते भक्तपुर नगरपालिकाले अस्पतालमा हस्तक्षेप गरेदेखि अस्पतालबाट निलम्बित मेडिकल निर्देशक डा. श्रेष्ठले आफैले आफैलाई मेडिकल डाइरेक्टर घोषणा गरे अस्पतालमा धाँकधम्की देखाउँदै आएका छन् ।

उनले प्रशासन तथा वित्तीय प्रमुख भुर्तेल, प्रशासक तजले, कर्मचारी कल्याणकारी समितिका अध्यक्ष धुख्वासँग मिलेर अस्पतालमा आर्थिक अपचलन गर्दै आएका छन् । अस्पतालको कुनै पनि भूमिका र जिम्मेवारीमा नरहेका उनले मासिक लाखौं रुपैयाँ नगदै हात पार्दै आएको अस्पतालका एक चिकित्सकले बताए ।

उनीहरुकै बलमा भक्तपुर नपाले अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाएर गएको साउन ३० गते हस्तक्षेप गरेको थियो । नपाले अस्पतालको मौजुदा व्यवस्थापन समितिको समानान्तर हुने गरी नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा छुट्टै व्यवस्थापन समिति गठन गरेको घोषणा गरेको थियो । नगर प्रमुख प्रजापतिको अध्यक्षताको बैठकले डा. श्रेष्ठलाई न अर्को व्यवस्था नभएसम्मको लागि मेडिकल निर्देशक नियुक्ति गरिएको निणैय गरेको थियो ।

तर अस्पतालको मौजुदा व्यवस्थापन समितिले नपाको हस्तक्षेपविरुद्ध सर्वोच्चमा मुद्दा हालेको थियो । उक्त मुद्दा अहिलेसम्म टुंगो लागेको छैन तर सर्वोच्चले भक्तपुर नपाविरुद्ध अन्तरिम आदेश दिँदै अस्पतालमा कुनै हस्तक्षेप र वाधा अवरोध नदिई मौजुदा समितिलाई नै यथावत काम गर्न भनेको थियो तर भक्तपुर नपाले हस्तक्षेप गर्न रोकेको छैन । नपाकै बलमा डा. श्रेष्ठ, प्रशासकहरु भुर्तेल, तजले र कल्याणकारी समितिका अध्यक्ष धुख्वाले अस्पतालको सम्पूर्ण आयव्ययमा मनमरी गर्दै आएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

भक्तपुर नपा र उनको पक्षमा कर्मचारी र मौजुदा व्यवस्थापन समितिको रस्साकस्सीले अस्पताल करिब एक वर्षदेखि अलमलमा रहँदै आएको छ । कर्मचारी कल्याणकारी समितिको नाउँमा अस्पतालको मौजुदा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई काम गर्न दिइएको छैन । कर्मचारी समितिलाई भक्तपुर नगरवासीको नाउँमा केही राजनीतिक समूहले साथ दिँदै आएको छ । व्यवस्थापन समितिका पदाधिकारी अस्पताल आउने कुनै संकेत मिलेलत्तगै उक्त समूह नाराबाजी गर्न अस्पताल पुग्छ । एकवर्षको बीचमा धेरैपटक दुईपक्षबीच मुठभेडको स्थिति भइसकेको छ ।

‘भत्ता काटेको छैन, अहिले स्थगितमात्रै’

अस्पताल प्रशासन तथा वित्तीय प्रमुख भुर्तेलले भने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको नियमित भत्ता नकाटेको बताएका छन् । उनले अहिले अस्पतालको आम्दानी न्यून भएकाले नियमित भत्ता रोकेकोमात्रै स्पष्ट पारे । ‘अहिले अस्पतालको आम्दानी दुईतिहाइले घटेको छ, भुर्तेलल भने, ‘त्यसैले आर्थिक हैसियत सुध्रिएपछि उक्त नियमित भत्ता उपलब्ध गराउँछौं ।’ उनका अनुसार अस्पतालको आम्दानी कम भएकाले चैत र बैशाखमा समेत कर्मचारीहरुको सञ्चयकोष र नागरिक लगानी कोषवापतको रकम पठाइएको छैन । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्