Logo
|
Thursday 28th March 2024
Logo

epaper

मनाङमा भेटिएका एक मात्र संक्रमित डिस्चार्ज, मनाङ हाललाई कोरोना मुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना संक्रमण मुक्त  भएको छ । मनाङमा भेटिएका एक मात्र संक्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य संक्रमित फेला परेका छैनन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । ११ दिनको उपचारपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए।

कपिलबस्तुको वाणगंगा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य कुनैपनि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।

हालसम्म मनाङमा एक सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल कोहि पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टाइन अहिले खाली छन् ।

प्रतिक्रिया दिनुहोस्