Logo
|
Saturday 20th April 2024
Logo

epaper

के काठमाण्डू उपत्यकामा समुदाय स्तरमा सङ्क्रमण फैलिसकेको हो ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  पछिल्लो समय देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा काठमाण्डू उपत्यका पनि त्यसबाट अछुतो देखिएको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विगत आठ दिनमा काठमाण्डू उपत्यकामा ४२ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार मात्रै १४ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म काठमाण्डू जिल्लामा सबैभन्दा बढी ३० जनामा, भक्तपुरमा आठ र ललितपुरमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो। सोमवार सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाले काठमाण्डूबाहिर कतैको यात्रा पनि नगरेको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्।

गागलफेदीका एक पाँच वर्षीय बालकलाई ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको थियो। उसो भए के काठमाण्डू उपत्यकामा समुदाय स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको सङ्केत हो त्यो? सरकारी अधिकारीहरू अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताउँछन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “काठमाण्डूमा सोमवार छ जनामा पोजिटिभ देखिएकोमा पाँच जनाको बाहिरको ट्राभल हिस्ट्री छ भने एक जनाको कुनै ट्राभल हिस्ट्री नै छैन।”

“त्यसो भएर उनी वरपर भएका मानिसहरूको हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ।” “कोही न कोहीबाट त सङ्क्रमण सरेको होला। हामी त्यो पत्ता लगाउँदैछौँ, त्यसपछि मात्रै केही भन्न सकिन्छ।” तर कतिपय सङ्क्रामक रोग विशेषज्ञहरू यसअघि पनि समुदाय स्तरमा हुने सङ्क्रमणका केही सङ्केत देखिसकेकाले अहिले आएर हो वा होइन भन्नेबारे बहस गर्नु नै अनावश्यक भएको तर्क गर्छन्।

‘बहस नै अनावश्यक’

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, “हालै काठमाण्डू महानगरपालिकाका सरसफाइका धेरै कर्मचारीको आरडीटी पोजिटिभ देखिएको थियो।” “शतप्रतिशत नै त्यो नमिल्ने भन्ने हुँदैन। मृत्युका घटना पनि भएकै छन्।” “त्यसैले अहिले आएर समुदाय स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको हो वा होइन भन्ने बहसमा अल्झिँदा सङ्क्रमणविरुद्धको हाम्रो प्रतिकार्य नै प्रभावित हुन्छ,” उनले थपे। मङ्गलवार काठमाण्डूमा एउटा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायिक स्तरमा सङ्क्रमण फेला परेको बताएका छन्।

खुकुलो लकडाउनले चिन्ता

खासगरी सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाएपछि मानिसहरूको गतिविधि बढेसँगै सङ्क्रमण धेरै फैलिन सक्ने चिन्ता व्यक्त भइरहेको छ। भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा त्यो खालको चिन्तालाई स्वाभाविक नै ठान्छिन्। “सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने लगायतका कुरालाई त्यति अवलम्बन गरेको देखिँदैन। यसले सङ्क्रमण बढ्ने जोखिम हुन्छ,” उनले भनिन्।  परीक्षणको दायरा जतिसक्दो बढाउन सके उति राम्रो हुने विशेषज्ञ चिकित्सकहरूको सुझाव छ।

परीक्षण बढी गर्नु नै उत्तम

डा. सुवेदी भन्छन्, “हामीले अस्पतालसम्म धेरै बिरामी पुग्न नपर्ने अवस्था जति सिर्जना गर्न सक्छौँ उति नै राम्रो हुन्छ।” सम्हाल्न नसक्ने स्थिति आउनुभन्दा पहिल्यै रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नु बुद्धिमानी हुने डा. शर्माको पनि ठम्याइ छ। “मानिसहरूले पनि सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने कुराको पालना गर्नुपर्यो भने सरकारले परीक्षणको दायरा पनि व्यापक रूपमा बढाउँदै लग्नुपर्‍यो,” उनले थपिन्। अधिकारीहरूका अनुसार नेपालमा हाल पाँचदेखि छ हजारको हाराहारीमा दैनिक पीसीआर विधिबाट परीक्षण गरिँदै आएको छ। कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर परीक्षणको सङ्ख्या मङ्गलवारसम्म २,२८,३४१ पुगेको छ। बीबीसी न्यूज

प्रतिक्रिया दिनुहोस्